मुग्लिन–नारायणगढ सडक : पहिरो पन्छाउने काम बिहानैदेखि सुरु, ढुंगा झर्ने क्रम अझै रोकिएन

154
Shares

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुन: सुरु गरिएको छ ।

अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोला पुल नजिक शुक्रबार रातिदेखि खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको हो ।

शनिबारदेखि नै मेसिन परिचालन गरी पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि ढुंगा खसिरहँदा काममा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू बाटैमा अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय र प्रहरीले उनीहरूको लागि खाना–पानीको व्यवस्था गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सडक डिभिजनले नौबिसे–दामन–हेटौंडा वा मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट (कालीगण्डकी करिडोर) मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।