
काठमाडौं । सेयर बजार एक वर्ष यताकै न्यून बिन्दुमा खुम्चिएको छ । बिहीबार एकै दिन नेप्से १६० अंक अर्थात् ६ प्रतिशतले घटेर तेस्रो सर्किट ब्रेक लाग्दै २५११.९१ बिन्दुमा खुम्चिएको छ । जुन, गत वर्ष यताकै न्यून बिन्दु हो । यसअघि, २०८१ असोज १४ गते नेप्से २५०८.८६ बिन्दुमा थियो ।
त्यसपछि बढेको बजार ३००० बिन्दुभन्दा माथिसम्म पुगेको थियो । यद्यपि, हाल भने नेप्से एकै दिन ठूलो अंकले घट्दै २५११ बिन्दुमा खुम्चिएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले मुलुकका निजी तथा सरकारी सम्पत्तीमा ठूलो असर पुराएको छ । यो अवस्थाबाट अर्थतन्त्र लयमा फर्कन्छ वा फर्किंदैन भन्ने त्रास पनि पैदा भइरहेको छ ।
फलस्वरुप, लगानीकर्ता त्रसित हुँदा नेप्से एक वर्ष यताकै न्यून बिन्दुमा खुम्चिएको हो । नौ कारोबार दिनपछि बिहीबार खुलेको सेयर बजारमा लगातार तेस्रो सर्किट ब्रेक लाग्दै बन्द भएको छ । बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो ।
त्यसपछि, २० मिनेट रोकिएर खुलेको सेयर बजारमा पुःन दोस्रो नकारात्मक सर्किट लाग्यो । पहिलो सर्किट लागेर २० मिनेपछि खुलेको बजार केही मिनेटमा नै १३३.६३ अंक अर्थात् ५ प्रतिशतले घटेर दोस्रो नकारात्मक सर्किट लागेको थियो ।
दोस्रो नकारात्मक सर्किट लाग्दा नेप्से १३३.६१ अंकले घटेर २५३८.६३ बिन्दुमा झरेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेट बन्द भएर खुलेको बजारमा फेरि तेस्रो सर्किट लागेर बन्द भएको छ । अब बजार आइतबार खुल्नेछ ।







प्रतिक्रिया