जेनजी आन्दोलन लगतै यूएईले नेपालीलाई भिजिट भिसा रोक्नु, हङकङको क्याथे प्यासिफिकले दैनिक नेपाल उडान स्थगित गर्नु र धमाधम टुर तथा होटल बुकिङको प्याकेज क्यान्सिल हुनुले पर्यटन व्यवसायी थप चिन्तित हुन पुगेका छन् । सामान्य अवस्थामा याे बेला ८० प्रतिशत हुने होटल अकुपेन्सी ३० प्रतिशतमा झरेको छ ।

काठमाडौं । जेनजी आन्दोलनको क्षतिले सिजनसँगैको पर्यटन व्यवसाय प्रभावित भएको छ । जेनजी आन्दोलसँगै पर्यटन व्यवसायमा भएको क्षति र नेपालले भोगेको अशान्त वातावरणका कारण पर्यटकले धमाधम बुकिङ क्यान्सिल गरेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
पर्यटकले तत्काललाई नेपाल भ्रमणको योजना स्थगित गर्ने, ट्राभल तथा टुर एजेन्सीमार्फको बुकिङ क्यान्सिल गर्ने र प्याकेज खरिद गर्न तय भएकाहरुसमेत पर्ख र हेरको अवस्थामा बसेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले बताए ।
नेपाल भ्रमण गर्न चाहेका पर्यटकले आफ्नो जेनजीको आन्दोलनपछि विकसित घटनापछि भ्रमण योजना स्थगित गरे भने होटल बुकिङ भएर जहाजको टिकट लिइसकेका पर्यटक पनि रोकिए । आन्दोलनका कारण होटलको बुकिङ क्यान्सिल भएको छ भने प्याकेज र समूहमा आउने पर्यटक ठप्प भएको थपलियाको भनाइ छ ।
होटल संघ नेपालमा (हान)का अध्यक्ष विनायक शाह अहिले संसारभर सकारात्मक सन्देश दिनुपर्ने अवस्था भएकोले सोही अनुसारको पर्यटन प्रवद्र्धनको योजना नयाँ सरकारले अघि सार्नुपर्ने बताउँछन् ।
दुई दिन चलेको जेनजी आन्दोलनका क्रममा हिँसात्मक गतिविधि भए । कम्तिमा ७५ जनाको ज्यान गएको छ भने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचनामा आगजनी भयो । निजी सम्पत्तिमा आगजनी गरिए भने पाँचतारे होटल पनि आगजनीको सिकास बन्यो । जेनजीको आन्दोलनले पर्यटन क्षेत्र पनि प्रभावित भएको उनले बताए । ‘धेरैजसो बुकिङ तत्कालको लागि क्यान्सिल भएको छ,’ उनले भने, ‘अवस्था सहज हुँदा फेरि ती पर्यटक आउने अपेक्षा भने गर्न सकिन्छ ।’
पाँचतारे डिलक्स होटल हिल्टन जलाएका कारण त्यसको प्रभाव अन्तर्राष्ट्रिय रुपमा नराम्रोसँग फैलिएको सम्बन्धित पर्यटन व्यवसायीको भनाइ छ ।
होटल संघ हानका अनुसार देशभरमा २५ अर्ब रुपैयाँ लगानीको होटल व्यवसाय जेनजी आन्दोलनबाट प्रभावित भएको छ । यसमध्ये सबैभन्दा ठूलो क्षति हिल्टन होटलमै परेको छ । करिब ८ अर्ब रुपैयाँको लगानीको उक्त होटलमा पूर्णरुपमा क्षतिभएको छ भने पाँचतारे चेन होटल हायातमा पनि तोडफोड भएसँगै यसले पर्यटन व्यवसायको नकारात्मक सन्देश प्रभाव गरेको उल्लेख छ ।
शेरबहादुर देउवा र आरजु राणा पुत्र जयवीरको लगानी भन्दै फैलिएको अफवाहका कारण हिल्टन होटल आन्दोलनकारीले तोडफोड गरेको हुनसक्ने आँकलन गरिएको छ ।
हानका अनुसार पर्यटनमै सबैभन्दा ठूलो क्षति हिल्टन अगाजनीबाट भएको छ भने जिल्लागत रुपमा भएका अरु क्षतिसँगै अन्तर्राष्ट्रिय स्तरमा पुगेको नकारात्मक केही समय रहिरहने हुँदा त्यसले पर्यटन आगमनमा असर गर्ने छ ।
होटल अकुपेन्सी ३० प्रतिशतमा सीमित
सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई नेपालमा पर्यटक आउने एउटा सिजनाको रुपमा लिइन्छ । पर्वतारोहण, ट्रेकिङ, टुर, ट्राभल, साहसिक पर्यटनसहित आउने पर्यटक रोकिएका कारण होटलको अकुपेन्सी ३० प्रतिशतसम्ममा झरेको सम्बन्धित होटलले जानकारी दिएको छ ।
पाँचतारे डिलक्स होटल सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंका अनुसार सामान्य अवस्था हुन्थ्यो भने यतिबेला होटलको अकुपेन्सी ८० प्रतिशत औषत हुने समय हो । तर आन्दोलनको प्रभावका कारण औषतमा होटलको अकुपेन्सी ३० देखि ४० प्रतिशत मात्रै हुन पुगको छ । होटलमा आएका अधिकांश बुकिङ रद्द भएका र नयाँ थप नभएको कारण यो वर्षको पर्यटकीय सिजनमै पर्यटकको उत्साह नहुने देखिएको छ ।
तर पर्यटन क्षेत्रमा परेको नकारात्मक असरलाई चिर्दै सकारात्मक सन्देश दिएर पर्यटक बढाउन सकिने विश्वास पर्यटन व्यवसायीको छ ।
आन्दोलनकै कारण विषम परिस्थित देखाउँदै हङकङको क्याथे प्यासिफिकले १५ दिनलाई नेपाल उडान रद्द गरेको छ । यो वायुसेवाले आन्दोलनपछि यात्रु कम भएको र नेपालको पछिल्लो अवस्थाका कारण उडान स्थगित गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ ।
आन्दोलनसँगै उत्पन्न परिस्थतिलाई देखाएरै संयुक्त अरब इमिरेट् (यूएई)ले भिजिट भिसा दिन रोकेको नेपालबाट टुर प्याकेज बिक्री गरिरहेको पर्यटन व्यवसायीको भनाइ छ ।
यूएईले नेपालीलाई भिजिट भिसा दिन अनौपचारिक रोक्नुको समग्र असर टुर तथा टिकेटिङ व्यवसायमा पर्ने पनि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधरले बताइन् ।
यूएईले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएसँगै हाल बिक्री भइसकेको बाहेक अब नयाँ प्याकेजबाट पठाउन समस्या हुने भएको छ । वरिष्ठ उपाध्य तुलाधरका अनुसार भिजिट भिसाको इस्यु आएको कारण गत जनावरीदेखि नै यूएईले नेपालीलाई कडाइ गर्दै आएको थियो । सरकारका कारण कम भएको भिजिट भिसा सोमबारदेखि भने जारी नै नगर्न सर्कुलर आएको छ ।
विगतका वर्षहरुमा वार्षिक ४० हजारको हाराहारीमा नेपाली भिजिट भिसामा युएई पुग्ने गरेका थिए । दशैं तिहारसहित पर्यटकीय सिजनमा प्याकेज लिएर जाने ती पर्यटक सरकारकै भिजिट भिसाको इस्युका कारण ७० प्रतिशतले घटेर यो वर्ष १० हजार पनि नपुग्ने अवस्थामा पुगेको थियो । त्यसमा पनि अब जारी नगर्नु भन्ने सर्कुलरका कारण ठप्पै हुने अवस्था आएको पनि नाट्टाका वरिष्ठ उपाध्यक्ष तुलाधरको भनाइ छ ।
यूएईको पनि सारजाहबाट मात्रै ७५ प्रतिशत भिजिट भिसाको काम हुने गरेको छ । सोही कारण सारजाहबाट नेपाल आउने वायुसेवा कम्पनीले ट्राभल एजेन्सीलाई सहजीकरण गनुपर्ने भनाइ पनि सम्बन्धित नेपाली ट्राभल एजेन्सीको भनाइ छ ।
वर्षेनी दशैं तिहारको बिदासहितमा नेपालबाट तुलाधरको स्वाँ टूर्स एण्ड ट्राभलबाट मात्रै वर्षभरीमा ५ सय नेपाली भिजिट भिसामा प्याकेज सहित घुम्न जाने गरेकोमा यो वर्ष भने एक सय जना पनि नपुग्ने अवस्था देखएको उनको भनाई छ ।
एरोलिना ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्का जेनजी आन्दोलनपछि पर्यटन व्यवसायले विस्तारै रिभाइब गर्ने भन्दै गर्दा धमाधम बुकिङ क्यान्सिल आउनु पर्यटको लागि राम्रो नभएको बताउँछन् । ‘यूएईले भिजिट भिसा रोक्नु, हङकङको क्याथे प्यासिफिकको दैनिक नेपाल उडान रोक्नु र धमाधम टुर तथा होटल बुकिङको प्याकेज क्यान्सिल हुनुले पर्यटन व्यवसाय चिन्तित भएका छन्,’ उनले भने ।








प्रतिक्रिया