
विराटनगर । जेनजीको आन्दोलनले चार दिन ठप्प पारेका कोशीका प्रमुख भन्सार कार्यालय विराटनगर र मेची भन्सार कार्यालय पुरानै लयमा फर्किएका छन्। दुबै कार्यालयले पछिल्ला तीन दिन कार्गोबाट दैनिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेका छन्।
त्यसैगरी, आगजनीका कारण केन्द्रीय सर्भरसँग सम्बन्ध टुटेको विराटनगरको आन्तरिक राजस्व कार्यालयले पनि मंगलवारदेखि आंशिक रूपमा सेवा सुरु गरेको छ।
जेनजीको आन्दोलनमा विराटनगर भन्सार आंशिक क्षतिग्रस्त हुँदा मेची भन्सार कार्यालय पूर्ण रूपमा प्रभावित भएको थियो। तर दुवै कार्यालयको यात्रु शाखा भने अझै सञ्चालनमा आउन सकेको छैन। यात्रु शाखा चाँडै सञ्चालन गर्ने तयारी भइरहेको दुवै कार्यालयले जनाएका छन्।
विराटनगर भन्सारले आन्दोलनअघि दैनिक ११ करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सरदर ९–१० करोड असुली गर्दै आएकोमा आन्दोलनपछिका तीन दिन दैनिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। त्यस्तै, मेची भन्सारले पनि आन्दोलनअघि दैनिक साढे ६ करोड राजस्व असुली गर्दै आएकोमा पछिल्ला तीन दिन लक्ष्यभन्दा बढी राजस्व उठाएको छ।
विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार, आन्दोलनका कारण चार दिन बन्द भएपछि गत शुक्रबारदेखि पुनः सञ्चालनमा आएको विराटनगर भन्सारले शुक्रबार ३० लाख, शनिबार ४ करोड, आइतवार १४ करोड, सोमबार १५ करोड र मंगलबार २१ करोड राजस्व संकलन गरेको छ। जोगबनी नाकाबाट पछिल्ला तीन दिनदेखि आयात–निर्यात र राजस्व संकलन पुरानै लयमा फर्किएको उनले बताए। रसुवा र तातोपानी भन्सार नाका प्रभावित भएपछि त्यहाँबाट आउने चिनियाँ सामान विराटनगर नाकाबाट आयात हुन थालेको र यसकै प्रभाव राजस्व बढ्नमा परेको उनको भनाइ छ।
दशैंका लागि चिनियाँ तयारी कपडा र जुत्ता–चप्पल जोगबनी नाकाबाट आयात हुन थालेका छन्। भारत र तेस्रो मुलुक हुँदै हुने व्यापार पनि पुरानै लयमा फर्किएकाले राजस्व संकलनमा प्रगति भएको श्रेष्ठले बताए। उनका अनुसार भारतीय लत्ता–कपडा, खाद्यान्न, फुड सप्लिमेन्ट, काजु, किसमिस, छोकडा, बदाम र चिनीको चोरी पैठारी रोकिने हो भने राजस्व संकलन अझै बढ्ने निश्चित छ।
भारतीय लत्ता–कपडा, खाद्यान्न, फुड सप्लिमेन्ट, काजु, किसमिस, बदाम, छोकडा र चिनी जस्ता उपभोग्य वस्तु आयातको विराटनगर भन्सार कार्यालयको अभिलेखमा शून्यजस्तै छ। यस कार्यालयले भदौमा ३ अर्ब ४९ करोड राजस्व संकलन गर्ने लक्ष्य राख्दा २ अर्ब ८० करोड मात्र असुली गरेको छ। चालु वर्ष यस कार्यालयको लक्ष्य ४१ अर्ब ३४ करोड राजस्व संकलन गर्ने छ।
त्यसैगरी, मेची भन्सार प्रमुख हरिहर पौडेलका अनुसार आन्दोलनपछि भन्सार पुरानै लयमा फर्केर पछिल्ला तीन दिन दैनिक लक्ष्यभन्दा बढी राजस्व संकलन भइरहेको छ। उनका अनुसार आन्दोलनअघि दैनिक साढे ६ करोड राजस्व संकलन गर्ने लक्ष्य राख्दा ८०–९० प्रतिशत मात्र असुली हुने गरेको थियो। तर आन्दोलनपछिका पछिल्ला तीन दिन यो कार्यालयले सरदर ८ करोड राजस्व असुली गरेको छ। यस कार्यालयको चालु वर्षको लक्ष्य १८ अर्ब ८७ करोड राजस्व संकलन गर्ने छ।
यस्तै, केन्द्रीय सर्भरसँग सम्बन्ध विच्छेद भएर एक सातासम्म बन्द भएको विराटनगरको आन्तरिक राजस्व कार्यालयले पनि आंशिक सेवा सुचारु गरेको कार्यालय प्रमुख केशव उप्रेतीले जानकारी दिए। उनका अनुसार, केन्द्रीय सर्भरसँग पुनः सम्बन्ध जोडिएपछि मंगलबारदेखि सेवा सुरु भएको हो। पूर्ण रूपमा सेवा दिन भने अझै दुई–चार दिन लाग्ने स्थिति रहेको उनले बताए।







प्रतिक्रिया