
नेपालको राजनीतिक इतिहास आन्दोलनहरूको इतिहास हो । प्रत्येक ठूला सामाजिक, राजनीतिक परिवर्तनहरू आन्दोलनबाटै सम्भव भएका छन् । प्रजातन्त्र स्थापनादेखि गणतन्त्र निर्माणसम्म, नागरिकहरूले अनेकौं आन्दोलनहरूमा भाग लिएका छन् ।
यस्ता आन्दोलनहरूको क्रममा नेपाल प्रहरीको भूमिका सधैं केन्द्रीय रहँदै आएको छ । तर आन्दोलन र प्रहरीबीचको सम्बन्ध जटिल, कहिलेकाहीं तनावपूर्ण पनि रहँदै आएको छ।
नेपाल प्रहरीको मूल दायित्व कानुन कार्यान्वयन गर्नु, शान्ति–सुरक्षा कायम राख्नु र नागरिकहरूको ज्यान र सम्पत्तिको सुरक्षा गर्नु हो । तर आन्दोलनको समयमा प्रहरीको यो भूमिका बहुआयामिक र संवेदनशील हुन्छ । एकातिर उसले शान्तिपूर्ण प्रदर्शनमा सहभागी जनतालाई अधिकार प्रयोग गर्न दिनुपर्छ भने अर्कोतिर उग्ररूप लिएको वा हिंसात्मक आन्दोलनलाई नियन्त्रण गर्न पनि उत्रिनु पर्दछ ।
प्रहरी र आन्दोलनकारीबीचको सम्बन्ध राम्रो नहुनुका कारणहरू धेरै छन् । कतिपय अवस्थामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको, पत्रकार तथा सर्वसाधारणमाथि दमन गरेको घटनाहरू सार्वजनिक भएका छन् ।
अर्कोतर्फ, आन्दोलनको नाममा सार्वजनिक सम्पत्तिमाथि नोक्सानी पुर्याउने, प्रहरीमाथि आक्रमण गर्ने, राज्य–संस्थालाई कमजोर पार्ने प्रयासहरू पनि भइरहेका छन् । यस्तो अवस्थामा प्रहरीमाथि बढी चुनौती आउँछ । उसले सन्तुलन कसरी कायम गर्ने ?
विगतका ठूला आन्दोलनहरू चाहे त्यो २०४६ सालको जनआन्दोलन होस् वा २०६२/६३ को दोस्रो जनआन्दोलन, प्रहरीमाथि गम्भीर जिम्मेवारी थियो । ती समयमा देखिएको अत्यधिक बल प्रयोगले प्रहरीको छविमा असर पर्यो । तर पछिल्ला वर्षहरूमा प्रहरी व्यवस्थापन, प्रशिक्षण र संयमित व्यवहारमा केही सकारात्मक सुधारहरू देखिएका छन् ।
आजको युगमा सूचना प्रविधिको विकासले प्रहरीलाई अझ बढी उत्तरदायी बनाएको छ । कुनै पनि कारबाही तुरुन्तै आमजनतामाझ पुग्छ, जसले पारदर्शिता र जवाफदेहिता बढाएको छ । आन्दोलनका क्रममा प्रहरीको संयम, व्यावसायिकता र मानवअधिकारप्रतिको सम्मान अत्यन्त आवश्यक छ ।
आजको परिवर्तित सामाजिक संरचनामा प्रहरीको भूमिका केवल ‘कानुन लागू गर्ने निकाय’ को रूपमा मात्र छैन, ऊ नागरिक राज्य सम्बन्धको माध्यम पनि हो । उसले अब अधिकारप्रति सजग, सचेत र डिजिटल माध्यमबाट सशक्त बनेको नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्नुपर्छ । प्रहरीका लागि चुनौती भनेको जनताको संवेदनशीलतामा चोट नपुग्ने गरी व्यवस्था कायम गर्नु हो ।
प्रहरी अब डरको प्रतीक होइन, विश्वासको प्रतीक बन्नुपर्छ । त्यसका लागि उसले पारदर्शिता, जवाफदेहिता, संवेदनशीलता र व्यावसायिकतालाई आत्मसात् गर्नुपर्ने समय आएको छ ।
आन्दोलन र प्रहरी दुबै समाजका अभिन्न अंग हुन् । आन्दोलन लोकतन्त्रको आधार हो भने प्रहरी त्यसको सुरक्षा गर्ने संगठन । यिनीहरूबीच द्वन्द्व होइन, समन्वय आवश्यक छ – ताकि जनताको अधिकार र सुरक्षाबीच सन्तुलन कायम रहोस् ।
यस्तै आन्दोलनको क्रममा २०८२ साल भाद्र २३/२४ गते जेनजी पुस्ताको आन्दोलन भयो।
ठूलो जोश र जागरसहित यो पुस्ताको युवा समूह माइतीघर, बानेश्वरहुँदै संसद भवनतर्फ प्रवेश गर्ने क्रममा दिउँसो प्रहरीद्वारा गोली चलाउँदा निकै ठूलो मानवीय क्षति भयो । भोलिपल्ट २४ गते आन्दोलनमा जेनजीको नाममा आपराधिक समूहको घुसपैठ भएर नेपालका सरकारी, प्रशासनिक, निजी घर सम्पत्ति सहित धेरै नै ठूलो विध्वंस भयो । जसले खर्बौं मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । क्षतिको एकिन विवरण आइसकेको नभए पनि मानवीय क्षति पछिल्लो विवरणअनुसार ७२ जनाको मृत्यु भएको छ, जसमा धेरै कलिला युवाहरू छन् ।
माथिको आदेशको पालन गर्ने क्रममा नेपाल प्रहरी लगायतको सुरक्षा युनिटले भाद्र २३ गते धेरै जनाको ज्यान लिने काम गर्यो । त्यो ठीक थिएन, जसको चौतर्फी विरोध भएको छ । त्यस्ता कार्य दोहोरिन नदिन अहिलेको एक्काइसौं शताब्दीको प्रहरीले सचेत हुनुपर्ने र आफ्ना क्रियाकलापलाई सुधार्नुपर्ने देखिन्छ । त्यो अनुसन्धानको विषय हो । दोषीमाथि कारबाही पक्कै हुनुपर्छ ।
हरेक आन्दोलनमा पहिलो प्रहार प्रहरीमाथि नै हुन्छ र पहिलो गोली पनि प्रहरीले नै चलाउँछ । माथिको आदेशको पालना र नागरिक समाजप्रतिका कर्तव्यबीच तालमेल नहुँदा कहिलेकाहीँ अप्रिय घटनाहरू घट्ने गरेका छन् । यसैको एउटा तीतो उदाहरण हो भदौ २३ को गोली प्रहार । गल्ती जसले गर्यो त्यो पक्कै दोषको भागीदार हुनुपर्छ । तर के यति हुँदैमा अब सबै नेपाल प्रहरी नै दोषी हो त ? पक्कै होइन । नेपाली समाजमा प्रहरीबिनाको कल्पना नै गर्न सकिँदैन ।
आज काठमाडौंमा एउटा अपराधी समातियो भने समाजले कहाँ लगेर बुझाउने ठाउँ नै छैन । प्रहरी कहाँ पुर्याइयो भने उसले कुन हिरासतमा राख्ने, त्यो पनि छैन । जेनजीका युवाहरूले गरेको पवित्र आन्दोलनभित्र पसेर जुन आपराधिक तोडफोड भयो, त्यसको सबैभन्दा ठूलो प्रहार प्रहरी, प्रशासन र अदालतमाथि भयो । त्यसैले सबैको पहिलो र अनिवार्य आवश्यकता नै प्रहरी युनिटको पुनःस्थापना हो ।
नेपाल प्रहरी एउटा संगठन मात्रै नभएर हाम्रो परिवार पछाडिको अर्को विश्वास पनि हो । हामी नेपालीको सुरक्षाको आभास नै नेपाल प्रहरी हो । आज प्रहरी संगठन साँच्चिकै हतोत्साहित भएको छ । प्रहरी कार्यालयमा भएको आगजनी अनि त्यही क्रममा प्रहरीमाथि गरिएको अत्यन्तै क्रूर र पाशविक व्यवहार हेर्दा यस्तो देखिन्थ्यो कि पेशेवर अपराधीले पनि त्यस्तो काम गर्न सक्दैन ।
नेपाल प्रहरी मुलुकको प्रमुख सुरक्षा निकाय हो, जसको भूमिका केवल अपराध नियन्त्रणमा मात्र सीमित छैन, यो संस्था सामाजिक स्थायित्व, कानुनी शासन र नागरिक सुरक्षामा महत्वपूर्ण योगदान दिने स्तम्भ हो । नेपाली समाजमा नेपाल प्रहरीको महत्त्व विभिन्न तह र पक्षहरूमा देखिन्छ ।
नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भनेकै कानून कार्यान्वयन गर्नु र शान्ति–सुरक्षाको संरक्षण गर्नु हो । समाजमा हुने चोरी, डकैती, बलात्कार, घरेलु हिंसा, साइबर अपराध लगायतका अपराध नियन्त्रण गरी नागरिकमा सुरक्षित महसुस गराउने कार्य प्रहरीमार्फत हुन्छ । ‘जहाँ प्रहरी, त्यहाँ सुरक्षा’ भन्ने भनाइले प्रहरीप्रति जनविश्वास झल्काउँछ ।
प्राकृतिक विपत्ति – भूकम्प, पहिरो, बाढी आदि वा दुर्घटना हुँदा नेपाल प्रहरी उद्धार कार्यमा अग्रपंक्तिमा देखिन्छ । सडक दुर्घटनाबाट लिएर बाढीमा फसेकाहरूको उद्धारसम्म, प्रहरीको उपस्थितिले जनजीवन जोगाउने भूमिका खेल्दछ । प्रहरीले सार्वजनिक स्थानहरूमा अनुशासन कायम राख्ने, ट्राफिक व्यवस्थापन गर्ने, भिड नियन्त्रित गर्ने, ठूलो सार्वजनिक कार्यक्रमहरूमा सुव्यवस्था मिलाउने जस्ता कार्य गर्छ । यसले समाजमा अराजकता फैलन नदिने काम गर्छ ।
नेपाल प्रहरी राज्यको प्रतिनिधि संस्था हो । प्रहरीमार्फत नागरिकले राज्यसँग सिधा अन्तर्क्रिया गर्छन् । यसले नागरिकले राज्यप्रति कस्तो अनुभूति राख्छन् भन्ने कुरामा गहिरो प्रभाव पार्दछ ।
प्रहरीले प्रमाण संकलन, अनुसन्धान र प्रतिवेदनमार्फत अदालतमा न्याय प्रक्रियालाई सहयोग गर्छ । यदि प्रहरी इमानदार, व्यावसायिक र निष्पक्ष हुन्छ भने समाजमा न्याय प्राप्त गर्न सजिलो हुन्छ ।
नेपाली समाजमा नेपाल प्रहरीको महत्त्व अपरिहार्य छ । प्रहरी नभएसम्म समाजमा कानुनी शासन, शान्ति र सुरक्षा सम्भव छैन । यद्यपि, कतिपय घटनामा प्रहरीको भूमिकालाई लिएर आलोचना पनि हुन्छ – जस्तै अत्यधिक बल प्रयोग, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार आदि । तर सुधारको अभ्यास, जनमुखी सेवा र पारदर्शितामा जोड दिन सके, प्रहरी समाजको एक विश्वसनीय र सम्मानित अंग बन्नेछ ।
आज प्रहरी सिउँदो उजाडिएको विधवा जस्तो भएको छ ।
समाजको निम्ति रातदिन खटिने प्रहरीको न लगाउने ड्रेस छ, न काम गर्ने कार्यालय छ । न त चलाउने हतियार छ । भएको हिम्मत र साहस पनि विचलित अवस्थामा छ । यस्तो अवस्थामा जुनसुकै बेला आपराधिक समूहले हाम्रो समाजमा प्रवेश गरेर हत्या, लुटपाट, चोरी, डकैती, बलात्कार जस्ता घटना घटाउन सक्छन् । त्यसैले देश बचाउने र समाजलाई सुरक्षाको महसुस गराउने हो भने सबैभन्दा पहिले हामी नागरिक समाज र सरकार मिलेर नेपाल प्रहरीको मनोबललाई उचो बनाउनेतर्फ लाग्नुपर्छ र जलेका प्रहरी कार्यालयको पुनर्निर्माणतर्फ दीर्घकालीन योजना बनाउँदै तत्काल आफ्ना नजिक भएका क्लब, सरकारी भवन, वा कुनै निजी घर जहाँ भए पनि प्रहरीलाई काम गर्न सक्ने, थुनुवालाई थुन्न सक्ने हिरासतसहितको प्रहरी युनिट तयार गर्नु आजको आवश्यकता देखिन्छ ।
घरमा सामान्य श्रीमान–श्रीमतीको झगडा मिलाउनेदेखि लिएर ठूला–ठूला आपराधिक समूहसँगको अपरेशनमा समेत सामेल हुनुपर्ने प्रहरी हाम्रो समाजको एउटा पर्याय हो । सबैले एकातिर मात्रै विश्लेषण नगरी हाम्रो सुरक्षाको सबैभन्दा अपरिहार्य यो संगठनलाई फेरि एक पटक सबै नागरिक समाज मिलेर अझै उचो साहसका साथ, उच्च मनोबलसहित पुनःस्थापित गर्नु जरुरी देखिन्छ ।
सधैं सत्तापक्ष, राजनीतिक दलले आफ्नो गोटी जस्तो गरेर प्रयोग गर्ने नेपाल प्रहरीलाई संकट परेको बेला सबै राजनीतिक दल र नागरिक समाजको तर्फबाट सकेको सहयोग गरेर आफ्नो समाज सुरक्षित बनाउने अभियानमा हातेमालो गरौं ।
(रबिन्द्र ओझा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन् ।)







प्रतिक्रिया