५० वर्षपछि गौतमबुद्ध विमानस्थलमा बन्यो आन्तरिकतर्फ नयाँ आगमन कक्ष

434
Shares

काठमाडौं । ५० वर्षपछि गौतमबुद्ध विमानस्थलको आन्तरिक टर्मिनलमा नयाँ आगमन कक्ष बनेर सञ्चालनमा आएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापवाबु तिवारीका अनुसार विगत ५० वर्ष भन्दा अघि बनेको गौतमबुद्ध बिमानस्थलको आन्तरिक तर्फको आगन कक्ष अत्यन्त साँघुरो रहेको अवस्थामा यात्रु सेवा सुविधाको लागि स्तरोन्नति भएको बताए । उनले कार्गो भवनमा अलग्गै आगमन कक्ष तयार गरी आज बाट सञ्चालनमा ल्याइएको जानकारी दिए ।

आन्तरिक विमानस्थलको स्थापनसँगै आन्तरिक टर्मिनल भवन निर्माण भएयता खासै स्तरोन्नति हुन नसकेको र सामान्य सेवा सुविधाका कारण अन्तर्राष्ट्रिय बिमानस्थल तयार भए पनि यसले प्राथमिकता पाउन नसकेको जनगुनासो आइरहेको पनि उनको भनाइ छ ।

ब्यागेज बुझ्ने ठाउँ अत्यन्त साँघुरो भएकोले यात्रुलाई धेरै असहज भएको सबैले महसुस गरेकै अवस्था र स्थान अभावको कारण ब्यागेज बेल्टको प्रयोग पनि गर्न नसकिएको कारण कार्गो कुरियर पठाउन सेवाग्राहीले हाल प्रवेश पास लिई सुरक्षा जाँज गरी टर्मिनलमा प्रवेश गर्न पर्ने झन्झट भइरहेको भनाइ पनि उनको छ ।

यात्रुको सहयोग र स्वागतमा आउनेको लागि प्रतिक्षालय नहुँदा गर्मी, हावा हुरी, पानी पर्दा बस्ने ठाउँ नहुँदा समस्या थियो भने अब नयाँ आगमन कक्ष सञ्चालनमा आएपछि फराकिलो कक्ष, यात्रु प्रतिक्षालय, एयरलाइन्स कार्गो कुरियर सेवा (प्रवेश पास र सुरक्षा जाँचको झन्झट नरहेको) उनले बताए ।

ब्यागेज बेल्टको व्यवस्था हुने, सवारी पार्किंग नजिक र सहज हुने, प्रस्थान टर्मिनलबाट अलगै भएकोले भिडभाड कम हुने, पिउने पानीको व्यवस्था, शौचालयको सुविधा,पार्किंगबाट आगमन आउने सुविधा थप हुनेसहितको व्यवस्था भएको पनि तिवारीले बताए।