गोली लागेपछि अस्पतालको शय्यामा जेनजी: के भन्छन्?

154
Shares

काठमाडौं । संघीय राजधानीको केन्द्रभाग संसद भवन अगाडि । बिहानदेखि चर्किएको नाराबाजीबीच अचानक धुवाँ, अस्रुग्यास र गोलीको आवाजले भरियो । सडकमा हजारौं युवाहरू ‘परिवर्तन’को नारा लिएर उभिएका थिए, तर एक्कासी गोलीले उनीहरूमध्ये कैयौँलाई भुइँमा ढाल्यो । त्यही दिनदेखि ‘जेन-जी आन्दोलन’ ले नेपाललाई नयाँ बाटोमा धकेल्यो, अघिल्लो दिन सडकमा रगत बगेको थियो भने अर्को दिन, भदौ २४मा सरकार सत्ताच्यूत भयो ।

तर आन्दोलनको कथा नेताहरूको कुर्सीमा मात्र सीमित छैन । त्यो कथा अहिले पनि राष्ट्रिय ट्रमा सेन्टरको वार्डमा पसारिएको छ- जहाँ खुट्टामा, हातमा, कम्मरमा गोली खाएका युवाहरूको शरीर मात्र होइन, भविष्यप्रतिको विश्वास पनि उपचारमा छ।

भिडियो खिच्दै गर्दा गोली लाग्यो

५३ वर्षीय लक्ष्मण दिपकर आन्दोलनका सामान्य सहभागी थिएनन् । उनी अफिस जाँदै थिए, बाटो अवरुद्ध भएपछि सडकमै बसेर बिरोधमा सामेल भए । मोबाइल निकालेर भिडियो खिचिरहेका बेला अचानक गोली लाग्यो ।

‘जेन-जी भाइहरूले मलाई बोकेर अस्पताल लगे, अनि यहाँ ल्याइयो,’ उनले सम्झिए । खुट्टामा बाक्लो पट्टी बाँधिएको उनले शान्त स्वरमा थपे, ‘अब नेपाल परिवर्तन भयो । अब देश राम्रो बन्नुपर्छ।’

५१ जनाको रगत बगिसक्यो, अझै डराउने कुरा छैन

२२ वर्षीय अभिषेक श्रेष्ठ संसद भवनको अगाडि आन्दोलनमै थिए । ‘साथीलाई गोली लाग्यो, म उनलाई ढाक्न पुगेँ, अनि मलाई पनि गोली लाग्यो,’ श्रेष्ठले भने । तर उनको स्वरमा भने घाउभन्दा ठूलो आक्रोश झल्किन्छ । ‘५१ जनाको रगत बगिसक्यो, अझै डराउने कुरा छैन,’ अभिषेक श्रेष्ठ चिच्याएझैँ सुनिन्छ । संसद भवनअगाडि गोली खानु परेको उनको अनुभवले उनलाई अझै कठोर बनाएको छ।

‘अब होसियार बन । हामीले देखाइसकेका छौं-यो पुस्ता सजिलै चुप लाग्दैन । राजनीतिक खेलमा नफस, ‘यो जिन्दावाद त्यो जिन्दावाद, त्यो पार्टी’ भन्दै बेवकूफ नबन । राष्ट्रको कुरा गर, देशको सपना देख । होइन भने हामी फेरि सडकमा हुनेछौं, फेरि गोली खानुपर्ने भए पनि डराउँदैनौं । हामी जेन-जी हौं, हामीलाई थाम्न सकिँदैन’ उनले भने ।

प्रदर्शनमै गोली

२३ वर्षीय दीपराज राईले आफू शान्तिपूर्ण आन्दोलनमै भएको दाबी गर्छन् । ‘हामी ३–४ जनाको समूहमा थियौं, प्रहरीलाई समेत गोली नचलाउन भनेका थियौं,’ उनले अस्पतालको शय्या भन्दै थिए । तर दिउँसो साढे १ बजे उनलाई गोली लाग्यो । ‘पाइला भरेर सडकमा निस्केका हौं—भविष्य फेरि त्यस्तो नहोस्, यत्ति मात्र चाहन्छु ।’

छेउमै अर्को घाइते, २२ वर्षीय चाबहिलका नबिन तामाङ , अझै पनि त्यो क्षण सम्झिँदा हच्किन्छन् । ‘संसद भवनको १ नम्बर ढोका अगाडि थियौं । एउटा साथी गोली लागेर ढल्यो, म उक्लाउन गएँ । अनि मलाई पनि लाग्यो,’ उनले भने । पहिले सिभिल अस्पतालमा प्राथमिक उपचार भयो, त्यसपछि उनलाई ट्रमा सेन्टर सारियो। ‘अब मलाई लाग्छ, देशमा केही असम्भव छैन । तर नयाँ पुस्ताले पुराना पुस्ताले गरेको गल्ती दोहोर्याउन हुँदैन ।’

केही दिनअघि मात्रै, भदौ २४ मा, प्रधानमन्त्रीसहितका मन्त्रीहरू पदमुक्त भए । यो क्षणलाई धेरैले ‘जेन-जी क्रान्तिको पहिलो उपलब्धि’ भनेर हेरे । तर उपलब्धि सस्तोमा आएको थिएन ।

‘सिलाएको घाउ दुख्छ, तर परिवर्तनको ढोका खोलेका छौं’

२१ वर्षीय सुरेश पोखरेलले कम्मर नजिक गोली लागेको घाउ समाउँदै बिस्तारै भने,’सिलाएको ठाउँमा एकदमै पीडा छ । तर हामीले परिवर्तनको ढोका खोलेका छौं । घाइते र मृतकको बलिदानलाई सम्झेर समाज अब सुधारिनुपर्छ।’

अस्पतालको व्यस्तता र अनिश्चितता

राष्ट्रिय ट्रमा सेन्टरका अनुसार भदौ २४ को गोलीकाण्डपछि मात्रै करिब १५० जना घाइते यहाँ ल्याइएका छन् । धेरै डिस्चार्ज भइसके पनि अझै ३०–३५ जना भर्ना छन्, जसमा केहीलाई आईसीयूमा राखिएको छ।

पीडा र आशाबीच उभिएको आन्दोलन

भदौ २४ को गोलीकाण्डले एउटा कुरा निर्विवाद बनायो, यो आन्दोलन केवल नारामा सीमित छैन । सडकमा बगेको रगत, अस्पतालमा पसिएको नुनपानी र घाइतेहरूको चिच्याइरहेका कथाहरूले यसको वास्तविक अनुहार देखाइदिएका छन् ।
सरकार त ढलिसक्यो, तर सडकमा ढलेका मानिसहरूको पीडा अझै बाँकी छ । अभिषेकले भनेका शब्द अझै कानमा बजिरहेझैँ लाग्छ, ‘आज मलाई एउटा गोली लागेको छ । अर्को गोली लाग्ने डर छैन । तर मेरो चाहना, हामीले गरेका गल्ती कहिल्यै हाम्रो छोराछोरीले भोग्न नपरोस् ।’

नेपालले नयाँ राजनीतिक अध्याय सुरु गरिसकेको छ । तर यी घाइतेहरूको कथा स्मरण गराउँछन्, परिवर्तन सस्तोमा आएको छैन । यो रगत, आँसु र बलिदानको मूल्यमा आएको छ ।

तस्बिर : ममुन के.सी