घर जान अग्रीम टिकट काट्ने सुविधा यो वर्ष छैन, अन्य दिनजस्तै टिकट काटेर घर जान सकिने

1.9k
Shares

काठमाडौं । चाडवाड मान्न घर जान चाहने यात्रुलाई पठाउन यातायात व्यवसायी र सरकार सहमत भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा सरकारी निकाय र निजी क्षेत्रले घर जान चाहने यात्रुलाई पठाउने बिषयमा सहमत भएका छन् । बैठकमा मन्त्रालयका सचिब केशब शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरु सहभागी भएका थिए ।

दशैं आउनै लाग्दा अग्रीम टिकट काट्ने सुविधा यो वर्ष उत्पन्न भएको असहज परिस्थितिका कारण खोल्न सक्ने अवस्था नरहेकाले घर फर्कन चाहने यात्रुहरुलाई आवश्यक व्यवस्था मिलाएर सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउने बिषयमा सरोकारवाला सहमति जनाएका छन् ।

‘जेनजी प्रदर्शनका कारण ट्राफिक कार्यालय, प्रहरी कार्यालय, यातायात व्यवस्था विभागलगायतका निकायको संरचनामा तोडफोड र आगजनी भएकाले यस्तो परिस्थितिमा अग्रीम टिकट काट्ने सुविधा खोल्न सक्ने वातावरण छैन, सकेसम्म अत्याधिक संख्यामा सवारी साधनहरु सञ्चालनमा ल्याएर यात्रुहरुलाई घर पठाउने बिषयमा सबै सरोकारवाला निकायले सहमति जनाएका छन,’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘यस्तो अवस्थामा अधिकतम संख्यामा सवारी साधन सञ्चालनमा ल्याएर यात्रुहरुलाई नियमित रुपमा घर पठाउने बिषयमा सहमत भएका छौं ।’

यसका लागि आवश्यक गृहकार्य गर्न विभागका महानिर्देशक पोखरेलको नेतृत्वमा एउटा समिति निर्माण भएको छ । यो समितिको बैठक भोली बस्नेछ ।