लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह

35
Shares

काठमाडौं। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले उद्योगीहरूको लगानीलाई कानूनी संरक्षण गर्नुपर्ने औल्याएको छ ।

महासंघले शनिबार बिज्ञप्ती जारी गर्र्दै कानूनसम्मत रूपमा व्यवसाय गर्ने नागरिक अधिकार सुनिश्चित हुनु राज्यको दायित्व भएको उल्लेख गर्दै उद्योगीहरूको लगानीलाई कानूनी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।

त्यस्तै रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेको राजश्वको सदुपयोगबारे युवा पुस्ताले देखाएको चासोलाई सरकार, राजनीतिक दल र सम्बन्धित निकायहरूले संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेको छ।

देशको विद्यमान परिस्थितिमा जेनजी, नेपाली सेना प्रमुख, स्वतन्त्र नागरिक समाजका अगुवाहरू तथा सुरक्षा निकायहरू संविधानको रक्षा गर्दै आगामी दिनमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित गर्ने विश्वास समेत महासंघले प्रकट गरेको छ।

उद्योग–व्यवसाय सञ्चालन गरेर खान पाउने अधिकार संविधानले प्रदान गरेको अधिकार भएको उल्लेख गर्दै महासंघले लगानी, रोजगारी, आम्दानी र राजश्वको सुरक्षा राज्यले गर्नुपर्ने आग्रह गरेको छ।

‘सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण बनाएर मात्र मर्यादित रोजगारी र उच्च ज्याला सम्भव हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

महासंघले मुख्य पर्यटकीय मौसममा नेपालबारे विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सबै पक्ष संयमित भई संवाद र सहकार्यमार्फत अघि बढ्नुपर्नेमा जोड दिएको छ।

साथै यस्ता घटना दोहोरिन नदिन सरकार, सम्पूर्ण राजनीतिक दल र जेनजी पुस्तासँग अपील गर्दै युवाको चाहनाअनुरूप सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्ने र लगानी तथा रोजगारी प्रवर्द्धनका लागि अनुकूल वातावरण बनाउन राज्यलाई आग्रह गरेको छ।