रवि लामिछानेले देखाएको पत्रमा कारागार प्रमुखको अनभिज्ञता, जेलमा फर्कन आग्रह

7.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेनजी आन्दोलनको दोस्रो दिन अर्थात भदौ २४ गते नख्खु कारागारबाट बाहिरिए ।

जेनजीको आन्दोलन उग्र हुँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता उनलाई लिन जेलमा पुगेका थिए । आन्दोलन चर्किँदै गएपछि नक्खु कारागार प्रशासनले गृहसचिवस्तरीय निर्णयअनुसार कागज गरेर रविलाई पत्नी निकिता पौडेलको जिम्मा लगाएको रास्वपा नेताहरूको दाबी थियो ।

कारागारबाट निस्किएपछि प्रफुल्ल मुद्रामा लामिछानेले भनेका थिए, ‘आमनागरिकको दबाबपछि सरकारले मेरो रिहाइको लागि कानुनबमोजिमको प्रकिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आमनागरिकसामु आउन पाएको हुँ ।’

उनले यसो भनिरहँदा सामाजिक सञ्जालमा रवि जेनजी आन्दोलनको मौका छोपेर भागेको भन्दै प्रश्न उठ्न थाल्यो । त्यसपछि लामिछानेले बुधबार कारागार प्रशासनले दिएको पत्र सार्वजनि गरे ।

कारागारबाट सबै कागजी प्रक्रिया पूरा गरेर निस्किएको जानकारी दिँदै पत्र लामिछानेले भिडियो सम्बोधनका क्रममा सार्वजनि गरे ।

लामिछानेले कानुनबमोजिम आफूलाई दिएको भनिएको पत्रमा लेखिएको छ, ‘देशमा अमनचयन कायम गर्न न्यायको प्रत्याभूति आवश्यक भएकोले गोरखा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा हाल थुनामा रहनुभएका मा. रवि लामिछानेलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। मुद्दा फिर्ता गर्ने कानुनी प्रक्रियामा समय लाग्ने भएको र सो अवधिमा थुनामा राखिराख्दा थप अन्याय हुन जाने तथा देशमा अमनचयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णायानुसार जानकारी गराइन्छ। मुलुकमा व्याप्त परिस्थितिलाई मध्यनजर गर्दै मा. लामिछानेले रिहा हुन मञ्जुर गर्नुभएको श्रीमान् गृह सचिवज्यूको आदेशानुसार व्यहोरा अनुरोध छ।’

तर, पत्र सार्वजनिक गरेपछि उनी थप आलोचनाको सिकार बने । सर्वोच्च अदालतले पुर्पक्षको लागि थुनामा पठाएको कैदी गृहसचिवको निर्णयले छुट्ने कानुनी व्यवस्था नभएको भन्दै उनको आलोचना भइरहँदा पत्रका विषयमा नयाँ ट्विस्ट आएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा नख्खु कारागारका प्रमुख सत्यराज जोशीले लामिछानेले देखाएको पत्रका विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

‘त्यो पत्रको कुनै पनि अंश मिलेको देखिएन । त्यो पत्र के गर्नु भएको हो त्यस सम्बन्धमा जानकारी भएन,’ उनले भनेका छन्, ‘उहाँहरु जुन तरिकाले आउनुहुन्छ त्यस अनुसार कुरा गरौंला ।’

उनले लामिछानेसहितका फरार कैदी बन्दीलाई सम्पर्कमा आउन अपिल जारी गरेको र सम्पर्कमा आएका कैदीलाई व्यवस्थापन गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।

लामिछाने कारागारबाट बाहिरिएपछि देशका अधिकांश जेलका कैदीहरू जेलबाट बाहिरिए । बाहिरिन नपाएकाले जेलमा तोडफोड र आगजनीसमेत गरे । कैदीहरूमध्ये धेरैले रवि लामिछाने कागजमा छुट्ने, हामी किन नछुट्ने भन्दै आन्दोलन नै गरे ।

नख्खुमा १०० कैदी फिर्ता

जेनजी प्रदर्शन उग्र बनेपछि सुरूमा नख्खुबाट झन्डै १ हजार ३ सय जना कैदीबन्दी भागेका थिए । त्यसपछि देशभरबाट नै कैदी बन्दी भागेका हुन् ।

देशभरका २६ वटा कारागारबाट १२ हजार ८१७ र बाल सुधार गृहबाट ९६२ गरी १३ हजार ७७९ कैदीबन्दी फरार भएका थिए । केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

प्रदर्शनका दिन नख्खुका दुई वटा ब्लक पूर्णरुपमा ध्वस्त भएकोले अहिले आफूहरु भवन व्यवस्थापन तिर लागेको उनले बताए । कारागारमा भएको क्षतिको विवरण संकलनमा आफूहरू लागि रहेको र त्यसका लागि केही समय लाग्ने जोशीको भनाइ छ ।

कारागारमा रहेका ३५० जना कैदी गम्भीर खालका मानसिक रोगी भएको, नियमित औषधि खुवाउनु पर्ने र जाँच गर्नु पर्ने खालका भएको भन्दै उनले फरार रहेका मध्ये त्यस्ता केहीलाई सडकबाट उद्धार गरिएकोसमेत जानकारी दिए । हालसम्म १०० जना आसपास कैदी बन्दी सम्पर्कमा आएको जोशीले जानकारी दिए ।