
काठमाडौं । जेनजी आन्दोलनका कारण ध्वस्त भएको सरकारी संरचना पुनर्निर्माण गर्न छरिएका आयोजनाको बजेट काटेर खर्च गर्नुपर्ने अर्थशास्त्रीले सुझाव दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रको चुनौती र अबको बाटो’ विषयक एक छलफल कार्यक्रममा अर्थशास्त्री रामेश्वर खनालले छरिएका आयोजनाको बजेट बन्द गरेर सरकारी भवन बनाउन सकिने बताए ।
‘कुनै ठूलो विपत्ति आएर क्षति भएको हैन हामी आफैंले गरेको क्षति भएकोले बाहिरिबाट आशा गर्नु हुँदैन,’ खनालले भने, ‘विदेशी विकास साझेदारले पनि हामीले भत्काएका संरचनामा लगानी नगर्न सक्छन् । त्यसैले हामीले तत्कालै आजको भोलि नै सबै भवन ठड्याइहाल्नुपर्छ भन्ने छैन । दुई चार वर्ष लगाएर विस्तार बनाउँदै जानुपर्छ ।’
पर्टन क्षेत्रमा भने असर परेको भन्दै खनालले त्यसमा आशा जनाउन आवश्यक भएको बताए ।
‘अहिले नकारात्मक क्षति पुगेको भनेको सर्भिस क्षेत्र अन्तर्गत पर्यटनलाई मात्रै हो । पर्यटन क्षेत्रलाई पनि हामीले पुन आशा दिएर र हिल्टन होटल बाहेकमा कुनै क्षति नभएको भनेर सकारात्मक सन्देश दिएर जानुपर्छ । पर्यटकीय सिजनको मुखैमा रहेकोले पनि अब पर्यटक भित्र्याउन प्रोत्साहन नै गर्नुपर्छ हुन्छ,’ खनालले भने ।
अब बन्ने नयाँ सरकारले हरेक दिन भ्रष्टाचारी खोज्दै जाने भन्दा पनि देश विकासको काम पनि गर्दै जाने र गल्ती गरेका र भ्रष्टहरुलाई कारबाही पनि गर्दै जानुपर्ने उनी बताउँछन् ।
जेनजीको आन्दोलनका क्रममा भएको आक्रमणले व्यवसायीहरूको मनोबल निकै कमजोर भएको खनालले बताए । यसलाई बढाएर जानुपर्ने चुनौती भएको भन्दै उनले भने, ‘निजी क्षेत्रका संरचनामा धेरैजसो बिमाले कभर गर्ने भएकोले जेजति क्षति भएको छ त्यसलाई अब उच्च मनोबल बनाएर साहसका साथमा अघि बढाउनुपर्छ।’
अर्का अर्थशास्त्री समिर खतिवडाले पनि अहिले विदेशी दातृ निकायको भर पर्नुभन्दा पनि आफैं पुनर्निर्माणमा जुट्नुपर्ने तर्क गरे।
अर्थतन्त्रमा जे जति क्षति भएको छ त्यसलाई छिटो रिकभर गर्ने उद्देश्य सबैले राखेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।








प्रतिक्रिया