
काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगलागी भएपछि बन्द रहेका अधिकांश भन्सार कार्यालय बुधवारदेखि केहि खुकुलो हुने गरी सञ्चालनमा आएको छ ।
सञ्चालनमा आएका भन्सार कार्यालयहरु भने पूर्ववर्ति अवस्थाअनुसार काम गर्न सकेको छैन । चीनसँगको नाकामा रहेका रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द छन् । भारतसँग नाका जोडिएका भन्सार विन्दु पनि बन्द हुँदा केही दिन अन्तरराष्ट्रिय व्यापार ठप्प भएको थियो ।
‘पेट्रोल, ग्यास, फलफूल तथा तरकारीजस्ता अत्यावश्यक वस्तु भने थालेका छन्,’ विभागका सूचना अधिकारी किशोर बर्तौलाले भने, प्रदर्शनको बेला भैरहवा, मेची, कैलाली र विराटनगर भन्सारमा आक्रमण भएको थियो । कार्यालय ध्वस्त भएकाले कतिपय अत्यावश्यक सामान क्वार्टरबाट छुटेका छन् ।’
आन्दोलनको आवरणमा मंगलवार धेरै भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि ति कार्यालयमार्फत हुने आयातनिर्यात ठप्प भएको छ ।
दैनिक ५ करोड रुपैयाँ राजस्व उठाउँदै आएको पूर्वी नाका काँकडभिट्टा भन्सारको भवनलगायत सामग्री जलेर खरानी भएको छ । दैनिक १० करोड रुपैयाँ राजस्व उठाउँदै आएको विराटनगर भन्सार कार्यालय पनि ठप्प छ ।
राज्य सञ्चालनको प्रमुख स्रोत राजस्व संकलन गर्ने कार्यालयहरूमा भएको हमलाले राजस्व संकलन प्रभावित भएको छ ।
भारत, बंगलादेश र भुटानसँगको व्यापार पनि ठप्प छ । लक्ष्यको ८० प्रतिशतभन्दा माथि राजस्व संकलन गरिरहेको मेची भन्सारका प्रमुख हरिहर पौडेलले भन्सार कहिले सञ्चालनमा आउला भन्ने जिज्ञासामा भने, ‘खरानीको थुप्रोमाथि बसेर भन्सार कसरी सञ्चालन हुन्छ ?’
उनले भन्सारको भौतिक संरचना निर्माण नगरी सञ्चालन गर्न नसकिने बताए । अस्थायी रूपमा सञ्चालन गर्न पनि कम्प्युटरलगायत संरचना आवश्यक पर्छ । उनका अनुसार काम गर्न भन्सार विभागको सर्भरमा जोडिनुपर्छ । त्यसका लागि सबै प्रकारको भौतिक र प्राविधिक सामग्री दुरुस्त गर्नुपर्छ । कार्यालयभित्रका कुर्सी, टेबुल, कम्प्युटर, कागजात सबै खरानी भएका छन् ।
ट्रान्स नेपाल काँकडभिट्टाका प्रमुख राजेश तिवारीका अनुसार मंगलवार जेनजीका नाममा आएको समूहले भन्सार, ट्रान्स नेपाल र इन्टरमोडलको कार्यालयमा तोडफोड गरेका छन् ।
भन्सार प्रमुखको कार्यकक्षमा आगजनी गरेका छन् । उनीहरूले भन्सार परिसरमा लिलामी र मुद्दा प्रक्रियामा रहेका मोटरसाइकल, चारपांग्रे र भन्सार प्रमुखले प्रयोग गर्ने गाडीमा आगजनी गरेका छन् । भन्सार जाँचपासपछि निर्यातका लागि गोदाममा राखिएको करीब ३ करोड रुपैयाँ मूल्यको सामग्रीमा समेत आगो लगाइदिएका छन् । जलेका सामान फेरेर भन्सार सञ्चालन गर्न समय लाग्ने उनले बताए । भन्सारको यात्रु शाखासमेत जलाइएको छ ।
विराटनगर भन्सार कार्यालय (एकीकृत जाँच चौकी–आईसीपी) को भौतिक अवस्था भने सामान्य छ । भरपर्दो सुरक्षा व्यवस्था भए भन्सार सञ्चालनमा समस्या नरहेको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए ।
प्रदर्शनकारीहरुले वारि र पारिबाट छिरेको समूहले भन्सार परिसरमा मुद्दा र लिलामी प्रक्रियाका लागि राखिएका ३०० मोटरसाइकल, १५–१५ ओटा टेम्पो र सिटी सफारी लुटेर लगेको छ । केही चारपांग्रे सवारीसाधनमा आगजनी गरेको छ । अराजक समूहले पुरानो भन्सार कार्यालय र त्यसको उत्तरपट्टि रहेको स्टाफ क्वार्टरबाट बुधवार बिहानसम्म लत्ताकपडा, भाँडाकुँडा लुटेर लगेको थियो ।
बिहीवार वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ र औषधि भित्रिएको छ । वीरगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञाका कारण आयातनिर्यात ठप्प भएको थियो । वीरगञ्ज नाकाबाट भारततर्फको आवागमनमा पनि कडाइ गरिएको छ । भारतबाट नेपाल भित्रिनेहरूलाई नेपाल–भारत सिमानामा रोकिएको छ ।
जेनजीको सडक संघर्षबाट उत्पन्न परिस्थितिका कारण मुलुककै ठूलो नाका वीरगञ्जबाट आयातनिर्यात प्रभावित भएको छ । बिहीवार वीरगञ्ज भन्सारले निकै न्यून राजस्व उठाएको छ भने यसअघिका २ दिन आयातनिर्यात ठप्प भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार २ दिनसम्म भन्सारबाट कुनै पनि वस्तुको आयातनिर्यात भएन ।
‘अघिल्ला २ दिन कारोबार केही पनि भएन । बुधवार भने १० करोड रुपैयाँ राजस्व उठाएका छौं,’ उनले भने ।
सामान्यतः वीरगञ्ज भन्सारले दिनमा ७० करोड रुपैयाँ हाराहारीमा राजस्व उठाउँदै आएको छ ।







प्रतिक्रिया