
एजेन्सी । फ्रान्समा राष्ट्रपति इम्मानुएल म्याक्रोनलाई सत्ताच्युत गराउनका लागि विरोध प्रदर्शनहरू भइरहेका छन् ।
प्रदर्शनकारीहरूले राजमार्ग अवरुद्ध गर्ने, सुरक्षाकर्मीको ब्यारिकेडमा आगो लगाउने र प्रहरीसँग भिडन्त गर्ने लगायतका कार्य गरेका छन् । म्याक्रोन, राजनीतिक अभिजात वर्ग र सरकारी खर्चकटौतीका विरुद्ध आक्रोश पोखिरहेका छन् ।
देशभरि ८० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएका छन् । उनीहरूले ब्यारियर हटाउने र प्रदर्शनकारीलाई तितरबितर गराउनका लागि पानीका फोहरा फ्याँकेका छन् ।
राजधानी पेरिसमा प्रहरीले भीड हटाउनका लागि अश्रूग्यास प्रहार गरेको छ । करिब २०० जनालाई पक्राउ गरिएको छ ।
ब्लक एभ्रिथिङ (सबै कुरालाई रोक) नाम दिइएको आन्दोलन सामाजिक सञ्जालमा व्यक्त असन्तुष्टिहरूले जन्माएको हो । गत मे महिनामा दक्षिणपन्थीहरूको अन्लाइन समूहमा अभिव्यक्त असन्तुष्टिलाई पछि वामपन्थी र उग्रवामपन्थीहरूले पनि व्यक्त गर्न थालेका थिए ।
यसैबीच राष्ट्रपति म्याक्रोनले सेबास्टियन लेकोर्नुलाई प्रधानमन्त्री बनाएका छन् । अघिल्ला प्रधानमन्त्री फ्रास्वाँ बेरुले बजेटमा कटौती गर्ने अलोकप्रिय निर्णय लिएपछि उनलाई अविश्वासको प्रस्ताव ल्याएर हटाइएको थियो ।
दुई वर्षमा तीनवटा प्रधानमन्त्री परिवर्तन भइसकेका छन् । तर, म्याक्रोन पदमा कायम छन् । त्यसले गर्दा फ्रान्सेलीहरूमा आक्रोशको स्थिति छ ।
फ्रान्समा अहिले बजेट घाटाको स्थिति छ । देशको कुल गार्हस्थ्य उत्पादनको ११४ प्रतिशत बराबर ऋण छ ।
पेरिसमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । देशभरि ३०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ तर जुलुसहरू शान्तिपूर्ण नै छन् ।
यस आन्दोलनमा देशभरि लगभग २ लाख मानिस सहभागी थिए ।
अभिजात वर्गले सरकारी खर्चकटौतीका नाममा आधारभूत सेवासुविधा पनि खोस्न खोजेको भनी प्रदर्शनकारीहरू आक्रोशित भएका छन् । पहिलेको सरकारले ४४ अर्ब युरो बराबरको सरकारी खर्चकटौतीको प्रस्ताव गरेको थियो ।







प्रतिक्रिया