आज जेनजीको माइतिघरमा ‘दी फाइनल रिभोलुसन’ प्रदर्शन

189
Shares

काठमाडौं । काठमाडौंको माइतीघर मण्डला र संसद् भवन अगाडि ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्ने नारासहित नयाँ पुस्ता, जेनजीले आज सडक आन्दोलन गर्दैछन्।

सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूले नेतृत्वविहीन तर उद्देश्यप्रस्त आन्दोलनको तयारी गरेका हुन्।

आन्दोलन शान्तिपूर्ण हुने युवाले बताएका छन्। सत्ताको मनोमानी, भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध आवाज उठाउन बाध्य हुनुपरेको आन्दोलनकारी युवाले जनाएका छन्। जेनजीले यो आन्दोलनलाई ‘नयाँ संघर्ष’को रूपमा चित्रण गरेका छन्।

टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका माध्यममा ‘नेपो बेबी ट्रेण्ड’ले नेताका छोराछोरीको विलासितालाई उजागर गर्दै जनआक्रोश बढाएको छ। यही डिजिटल आक्रोशले सडकमा उत्रिने ऊर्जा दिएको छ।

सामाजिक सञ्जाल बन्द भए पनि आन्दोलनको घोषणाले व्यापक समर्थन पाइरहेको छ। पुराना पुस्ताका नागरिकहरूले पनि जेनजीको विद्रोहलाई सकारात्मक रूपमा हेरेका छन् र साथ दिने घोषणा गरेका छन्।

यो आन्दोलन कति लामो जान्छ वा कति प्रभावकारी हुन्छ भन्ने समयले देखाउनेछ। तर, सामाजिक सञ्जालको बन्दाबन्दीबीच पनि युवाहरूले सशक्त सन्देश दिन सक्ने क्षमताको प्रशंसा भइरहेको छ।

यो विद्रोह केवल डिजिटल ट्रेण्ड होइन—यो पुस्तान्तरणको संकेत भएको धेरैले प्रतिक्रिया दिइरहेका छन्।