यो वर्षको पहिलो खग्रास चन्द्रग्रहण आज राति लाग्दै

322
Shares

काठमाडौं । यो वर्षको पहिलो खग्रास चन्द्रग्रहण आज राति लाग्दैछ । भाद्र शुक्ल पूर्णिमा भएको आजको दिनमा यो खग्रास चन्द्रग्रहण लाग्दै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने छ । मौसम सफा रहेमा काठमाडौंबाट साढे तीन घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ ।

खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ ।

पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने भएको हो ।

यस्तो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।

यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्दछ ।