
विराटनगर । वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको भनाइलाई सापटी लिने हो भने विराटनगरका उद्योगी महेश जाजु एफएमसिजी उद्योगीका पनि दाजु हुन् । आचार्यकै शब्दमा ‘जाजुले जेमा हात हाल्छन्, त्यसमा सफलता चुमेरै छाड्छन् ।’
जाजुले सञ्चालन गरेको हिमगिरी हाइजिन लिमिटेडको उत्पादन धोनी साबुनको ब्रान्ड एम्बास्डरमा अनुबन्ध हुँदाको क्षणमा गतवर्ष विराटनगरमा आचार्यले उनका बारेमा त्यसो भन्दा अन्य उद्योगी एकले अर्काको अनुहार हेर्दै थिए ।
हुन पनि जाजुको हकमा त्यस्तै भएको छ । सुरुवाती आफ्नै कपडाको व्यवसायलाई चटक्कै छाडेर तीन दशकअघि औद्योगिक उत्पादनमा हात हालेका जाजुले औद्योगिक सफलताका लागि कहिल्यै पनि पछाडि फर्कनु परेको छैन । उनी औद्योगिक उत्पादनको ब्रान्डिङ र बजारीकरणका लागि चतुर मानिन्छन् ।
२०५७ साउनबाट जाजुले सारडा ग्रुपसँगको सहकार्यमा पूर्वमै पहिलो पटक ‘रमपम’ तयारी चाउचाउको उत्पादन आरम्भ गरेका थिए ।
अहिले त्यो उत्पादनको स्वाद स्वदेशी मात्र नभएर विदेशीको जिब्रोमा टाँसिएको छ । रमपमले गतवर्ष रजत जयन्ती पनि मनाइसकेको छ ।
जाजुले रमपमलाई स्वदेशमा मात्रै सीमित राखेनन्, भारत तथा तेस्रो मुलुकमा पनि आक्रामक ढंगले बजार विस्तार गरे । यसबेला अमेरिका, अष्ट्रेलिया, इटाली, मलेसिया, कतार, कोरिया, भुटान, माल्टा, दुबई, ओमान, जापानसहित युरोप र मध्यपूर्वी एसियाका ३० भन्दा बढी देशका नागरिकले नेपाली उत्पादन रमपमलाई स्वादिलो खाजाको रूपमा ग्रहण गर्दै आएका छन् ।
सुनसरीको सोनापुरमा एसियन थाई फुड प्रालि नामक कम्पनी स्थापना गरेर रमपम चाउचाउ उत्पादन सुरु गरेका जाजुले त्यसको सफलतापछि अकबरे खोर्सानीको स्वादमा टुपिएम चिकेन करी र टुपिएम भेज करी बजारमा ल्याए ।
टुपिएम अत्याधिक पिरो मनपराउने पारखीको नाममा स्थापित बन्यो । यसलाई पनि स्वदेशसहित विभिन्न ३० मुलुकका पिरोका पारखीले मन पराए । जाजुले क्लिमान्डुसँग भने, ‘मध्यम तथा कम पिरो खाने उपभोक्ताका लागि एसियन थाई फुड पब्लिक लिमिटेडले एक साताअघि ‘डेभिल्सको हट चिकेन नुडल्स’ बजारमा ल्याएको छ ।’
‘डेभिल्सको हट चिकेन नुडल्स’ ले २ सय रुपैयाँ पर्ने कोरियन नुडल्सलाई विस्थापित गर्ने र स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने जाजुको तर्क छ ।
पिरो काट्ने एक पिस गुलियो डेभिल्स चोको वेफरसहित ५० रुपैयाँमा पाइने ‘डेभिल्सको हट चिकेन नुडल्स’ ले कोरियन महँगो नुडल्सलाई विस्थापित गर्ने विश्वास गरिएको जाजुले बताए ।
एक वर्षसम्म देशभरका २१५ स्थानमा रिसर्च गर्नुका साथै १० हजार ५१५ जना उपभोक्ताको राय सुझाव लिएर ‘डेभिल्सको हट चिकेन नुडल्स’ बजारमा ल्याइएको उनी बताउँछन् । जाजुले भने, ‘ त्यसका लागि मात्र उद्योगले एक करोड रुपैयाँभन्दा बढी प्रि-इनभेष्टमेन्ट गरेको छ ।’
‘डेभिल्सको हट चिकेन नुडल्स’ मा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको छ । उच्च गुणस्तरको नुडल्सले तीव्र र बलियो स्वादसँग राम्रोसँग मेल खान्छ र एक अविस्मरणीय डेभिलीसियस स्वादको अनुभव दिने जाजुको दाबी छ । उनले भने, ‘यो ब्रान्डमा स्वास्थ्यवर्द्धक खोर्सानी प्रयोग गरिएको छ ।’
‘डेभिल्सको हट चिकेन नुडल्स’ अहिले काठमाडौं र विराटनगरको बजारमा मात्र उपलब्ध गरिएको छ । उद्योगले अहिले ‘डेभिल्स को हट चिकेन नुडल्स’ को टेस्टिङ, प्याकेजिङ र ब्रान्डिङलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै जाजुले भने, ‘लञ्च भएको चार दिनमै विदेशबाट समेत माग आएको छ । पहिला स्वदेशी उपभोक्तामा स्थापित गराएर मात्र विदेश निकासी गर्ने कम्पनीको लक्ष्य छ ।’
उनका अनुसार अहिले ‘डेभिल्सको हट चिकेन नुडल्स’ दैनिक ४ लाख प्याकेट उत्पादन गर्ने उद्योगको क्षमता छ । त्यसैगरी उद्योगले यसबेला मासिक रूपमा रमपम डेढ लाख र टुपिएम ३० लाख प्याकेट उत्पादन गर्दै आएको छ ।
एसियन थाई फुड्स यसरी बन्यो सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता माओवादीको चरम द्वन्द्वताका स्थापना भएको तत्कालीन एसियन थाई फुड्स प्रालि दशकयता लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ताका नाममा स्थापित भएको छ ।
यो कम्पनीले ३० भन्दा बढी देशहरूमा नुडल्स निर्यात गर्दै आएको छ । यसले अढाई दशकदेखि नुडल्सको क्षेत्रमा समृद्ध इतिहास बोकेको छ।
यो कम्पनी यसबेला प्रालिबाट पब्लिक लिमिटेडमा परिणत भइसकेको छ । कम्पनी चाँडै आइपिओ जारी गर्ने तयारीमा छ ।
पहिलो नेपाली चाउचाउ भने रारा हो । त्यसलाई काउन्टर दिन चौधरी ग्रुपले वाइवाइ उत्पादन सुरु गर्यो । रमपम देशकै तेस्रो र पूर्वको पहिलो चाउचाउ हो । रमपमको उत्पादनअघि नै देशमा दुई ठूला चाउचाउ उद्योग थिए । तेस्रो चाउचाउ उद्योग सञ्चालनमा चुनौती थियो, सँगै लगानी डुब्ने जोखिम पनि उत्तिकै । रमपमको जन्मताका मुलुकमा जटिल समय थियो । त्यसबेला माओवादीहरू युद्ध होमिएका थिए । उद्योगधन्धामा लगानी गर्ने वातावरण शून्य प्राय बन्दै गएको थियो । तर हिम्मतीला उद्यमी महेश जाजुले आँखा चिम्लेर जोखिम मोल्ने आँट गरे ।
यसअघि जाजुले आफ्नै कपडाको व्यवसाय छाडेर काब्रा ग्रुपको क्वालिटी बिस्कुट उद्योग चलाएर बसेका थिए । त्यो बिस्कुटलाई पनि उनैले बजारमा स्थापित गराएका थिए । आज पनि क्वालिटी बिस्कुट बजारमा स्थापित छ ।
औद्योगिक उत्पादनको बजारीकरणका लागि अब्बल मानिएका जाजुको दिमागमा क्वालिटी बिस्कुटको सफलतापछि पूर्वमा चाउचाउ उद्योग सञ्चालन गर्न सक्दा सफलता पाइन्छ कि भन्ने जुक्ति फुर्यो ।
फलतः उनले बिस्कुट उद्योग काब्रा ग्रुपलाई जिम्मा लगाए अनि अर्को औद्योगिक समूह सारडा ग्रुपसँगको सहकार्यमा चाउचाउ उद्योग खोल्न अग्रसर भए ।
त्यसबेला वाइवाइ र रारा पहाडतिर बढी केन्द्रित थियो । जाजुलाई के थाहा थियो भने स्वाद भन्ने कुरा सबै भूगोल र समुदायमा उस्तै हुन्छ । अनि पहाडमा बिक्ने चाउचाउ तराईमा किन नभिक्ला ?
सुरुआती दिनमा पूर्वलाई नै आधार मानेर रमपमको उत्पादन सुरु भयो । सुनसरीको सोनापुरमा १५ कठ्ठा जमीन खरिद गरी सानो प्लान्ट जडान गरियो । जसले दैनिक ३ हजार कार्टुन जति उत्पादन गर्थ्यो ।
‘अहिले त एकै दिनमा ४०-५० हजार कार्टुनभन्दा बढी उत्पादन हुन्छ’, जाजुले भने, ‘त्यो बेला लगानी डुब्ला कि भन्ने चिन्ता थियो अव त कम्पनी मुलुककै सफल मध्येको एक औद्योगिक कम्पनी भइसकेको छ ।’
कम्पनीले रजत यात्रा पनि गरिसक्यो । एसियन थाई फुड नामक कम्पनी खडा गरेर जाजुले शुरुमा ४ करोड रुपैयाँ जति लगानीबाट रमपम उत्पादन थाले । अहिले त कम्पनीको कुल लगानी १ अर्ब रुपैयाँ नाघिसकेको छ ।
त्यसबेला मधेशतिर चाउचाउका पारखी थिएनन् । किनकि, मधेशमा चाउचाउ खाने चलन खासै थिएन । पहाडतिर वाइवाइको दबदबा थियो । त्यस्तो कठिन मोडमा चाउचाउ उद्योग खोल्नु आफैंमा अनौठो थियो ।
‘तर, हामीले आक्रामक रूपमा मार्केटिङ र ब्रान्डिङ गर्यौं’, जाजुले शुरुआती दिनका आफ्ना तीतामीठा अनुभव सुनाउँदै भने, ‘चाउचाउ भनेकै वाइवाइ भन्ने आम मान्छेको बुझाइ थियो, त्यसलाई बिस्तारै हामीले चिर्दै लग्यौं ।’
माओवादी द्वन्द्वका कारण पहाडबाट धेरै सर्वसाधारण मधेश झरे । त्यसपछि रमपमका पारखीहरू थपिँदै गए । पहाडका मान्छेहरूको मुखमै झुन्डिएको थियो, रारा र वाइवाइको स्वाद । मधेश झरेपछि रमपमको स्वादले उनीहरूको मन जित्यो ।
रमपमलाई पारखीसम्म पुर्याउन जाजु र उनको टोलीले विभिन्न जुक्तिहरू लगाए । कहिले खेल खेलाए । कहिले कुपन राखेर पुरस्कारहरू बाँडे । त्यतिमात्र होइन उपभोक्ता आकर्षित गर्न नेपाली सिने जगतका स्टारहरू राजेश हमाल, निखिल उप्रेती, निरुता सिंहदेखि तेक्वान्दो खेलाडी संगीना वैद्यसम्मलाई ब्रान्ड एम्बास्डर बनाए । यो कार्यले पनि रमपमको उचाइ थप चुलिएको उनको बुझाइ छ ।
वर्ष दिनपछि वल्ल रमपमले आशाको किरण छर्न शुरु गर्यो । पूर्वमा पहिचान स्थापित हुँदै गयो । उत्पादनको दुई वर्षपछि त रमपम भारत निर्यात हुन थाल्यो । जाजुका अनुसार सबैभन्दा धेरै रमपम भारत नै निर्यात भइरहेको छ ।
उनका अनुसार हाम्रा उत्पादनहरूको बिक्री र प्रवर्द्धनका लागि भारतमा अझै बृहत् ढंगले काम भइरहेको छ । ई–कमर्श, मोर्डन ट्रेड, जनरल ट्रेडमा जोडिने तरखरमा छ । अम्बानी ग्रुपको रिलायन्स स्टोरमा लिस्टिङ भइसकेको छ ।
‘अब चाँडै भारतका विभिन्न राज्यका ६०० बढी स्टोरहरूमा रमपम र टुपिएम देख्न सकिन्छ’, जाजुले भने, ‘यो नेपालका लागि गौरवको विषय हो ।’
जमाना ई–कमर्शको छ । ब्लिङ्किट, अमेजन, फ्लिपकार्ट, जोमाटो, स्वीगी, स्टामार्टलगायतका ई–मार्केटिङमा पनि लिस्टिङको काम भइरहेको छ ।
‘अब भारतीय उपभोक्ताहरूले घरमै बसिबसी हाम्रो चाउचाउको नेपाली स्वाद चाख्न पाउने छन्’, जाजुले भने, ‘त्यही भएर उत्पादन, ब्रान्डिङ र मार्केटिङमा हामी गम्भीर ढंगले लागेका छौं । त्यसका लागि ठूलो लगानी भइरहेको छ ।’
नेपाली युवाको विदेश पलायन बढ्दो छ । जहाँ जहाँ नेपाली पुगेका छन्, त्यहाँ त्यहाँ आफ्ना उत्पादन पुर्याउने कम्पनीको योजना छ । ‘पछिल्लो समय हामीले विदेशमा बस्ने युवा लक्षित मार्केटिङ गरिरहेका छौं’ जाजुले भने– ‘हाम्रा उत्पादनबारे विदेशबाट राम्रो प्रतिक्रिया आइरहेको छ । स्वाद पनि मन पराइरहेका छन् ।’
कम्पनीले रमपमपछि टुपिएम चिकेन करी र टुपिएम भेज करी दुईवटा उत्पादन ‘लन्च’ गरेर विदेशीले चिनेका र पत्याएका मास्टर शेफ सन्तोष साहलाई ब्रान्ड एम्बास्डरमा अनुबन्धन गर्यो । साह आफैंले तयार पारेको नयाँ ‘रेसिपी’ कम्पनीले नयाँ उत्पादनमा प्रयोग गरेपछि त्यो उत्पादनले उपभोक्ताको मन जित्यो ।
कारखानामा मात्रै १ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रूपमा उद्योगसँग करिब ३ हजार बढी जोडिएका छन् । उद्योगको कुल उत्पादनको १५ प्रतिशत भारत तथा तेस्रो देश निर्यात हुँदै आएको छ । बाँकी स्वदेशमै खपत छ । ‘चाँडै निर्यात बढाएर ३० प्रतिशतसम्म पुर्याउने लक्ष्य छ’, जाजुले भने, ‘कुनै दिन सबैभन्दा बढी निर्यात गर्ने स्वदेशी उद्योग बन्ने हामीले प्रमुख लक्ष्य लिएका छौं ।’
रमपमसँगै पिरती, टुपिएमजस्ता नुडल्स उत्पादन गर्ने एसियन थाई फुडले एकपछि अर्को सफलता चुम्दै उत्पादन र नयाँ ब्रान्ड हरेक वर्ष बढाउँदै छ । कम्पनीले स्न्याक्समा पनि उत्पादन गर्दै आएको छ । भविष्यमा उपभोक्ताका मागअनुसारका सामान उत्पादन गर्ने योजना कम्पनीको छ । सस्तोमा ५ रुपैयाँदेखि महँगोमा १२० रुपैयाँसम्मको वस्तु यहाँ उत्पादन हुन्छ । नेपालमै पहिलो पटक चाउचाउको दाम ५० रुपैयाँ तय गरेर जोखिम मोल्ने काम पनि एसियन थाई फुडले नै गरेको थियो ।
रमपम, टुपिएमजस्ता नेपाली उत्पादन निर्यातपछि नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहिचान बढ्दै गएको छ । बेला–बेला उद्योगले आफ्नो उत्पादन विदेशी फुड एक्स्पोहरूमा प्रदर्शन पनि गर्दै आएको छ । यसले उत्पादन प्रवर्द्धनमा थप टेवा पुग्दै आएको जाजुको विश्वास छ ।
एक पटक दुबईमा आयोजित एक फुड एक्स्पोमा एक जना व्यापारी नेपाली स्टलमा प्रवेश गरेपछि छक्क परेका थिए । तिनले ‘नेपालमा पनि यस्तो चीज उत्पादन हुन्छ ?’ भनेर जिज्ञासा राखेका थिए । अर्को देशको फुड एक्स्पोमा बेलायतका एक नेपाली नेपाली चाउचाउ देखेर खुसीले रोएका थिए । ‘नेपालको चाउचाउ देखेपछि मलाई देशको याद आयो’ भन्दै ती व्यक्ति रोएको जाजुको स्मरण छ ।
छिमेकी बंगलादेशमा सरकारले स्वदेशी उत्पादन निर्यातबापत २० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गरेको छ । तर, विगत लामो समयदेखि चाउचाउ निर्यात गरेर विदेशी मुद्रा आर्जनमा सहयोग गर्ने उद्योगप्रति भने सरकार सकारात्मक नभएको जाजुको गुनासो छ ।
‘सरकारले स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धनमा चासो देओस्’, जाजुले थपे, ‘स्वदेशी उत्पादन विश्वभरि पुर्याउन कम्पनी तयार छ ।’








प्रतिक्रिया