रमपम चाउचाउ बनाउने कम्पनीले सुरू गर्‍यो कोदोको बिस्कुट उत्पादन

नेपालीको बाक्लो बसोबास रहेका दर्जनबढी मुलुकमा निर्यातको तयारी



विराटनगर । सुनसरीको सानापुरमा रहेको रमपम चाउचाउ बनाउने एशियन थाइ फुड्सको सब्सिडरी कम्पनी एशियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले घरेलु रक्सीको मुख्य कच्चा पदार्थ कोदोको बिस्कुट उत्पादन गरेर बजारीकरण सुरु गरेको छ । उद्योगले चाँडै नै भारतलगायत नेपालीको बाक्लो बसोबास रहेका भारत, खाडी, युरोप र अमेरीकी मुलुकमा निर्यात गर्ने तयारी गरेको छ ।

यो उद्योगले यसअघि स्वीट एण्ड साल्टेड, क्रिम, डाइजेष्टिक, मारीटप, कुकीज, गुडलाइफ वटर, गुडलाइफ, क्यान्डी ट्रि, क्रिमरोल, सुगर फ्रि, पोटेटो विस्कुटलगायत ४० भन्दा बढी ब्राण्डका बिस्कुट उत्पादन गरेर नेपालीको बाक्लो बसोबास रहेको युरोप, भारत, अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकमा निर्यात गर्दै आएको छ ।

कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलीत रूपमा प्रयोग गर्नसक्ने, यसले इम्युनिटी पावर वृद्धि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने उद्योगको दाबी छ । उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ कायम गरेको छ ।

स्वदेशी कच्चा पदार्थको प्रबर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेर विदेश निकासीको तयारी गरिएको उद्योगका प्रबन्धक आशिष जाजुले क्लिकमान्डुलाई बताए । उनका अनुसार उद्योगले पहाडी क्षेत्रमा उपलब्ध हुने मुख्य कच्चा पदार्थ कोदोको उपलब्धताकालागि किसानलाई यसको खेतीकालागि प्रोत्साहित पनि गर्ने तयारी गरेको छ ।

बिस्कुटलाई सुगन्धित बनाउन र स्वादिष्ट बनाउन पहाडी क्षेत्रमै उत्पादन हुने अलैचीको धुलो मिसाइएको जाजुले जनाए ।

बिस्कुटलाई फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ । सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि मिसाइएको छ । जाजुले कोदो र दालचिनी मधुमेहको नियन्त्रणका लागि प्रभावकारी मानिएको पनि बताए ।

५० करोड लगानी रहेको एशियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले पहिलो चरणमा भारत निकासीका लागि प्रक्रिया सुरु गरेको छ । भारतमा कोदो भनेर बुझ्न गाह्रो छ । त्यसैले भारत निकासी गर्ने कोदोको यो बिस्कुटको प्याकेटमा मिलेट र रागी लेखिएको प्रबन्धक जाजुले बताए ।

प्याकेटमा मिलेट र रागी लेखिएको कोदोको बिस्कुटको नमुना भारत पठायौ । ‘भारतबाट राम्रो माग आएको छ,’ जाजुले भने, ‘पहिलो चरणमा भारत निकासीका लागि आवश्यक कानूनी प्रक्रिया पुरा गर्ने गृहकार्य भइरहेको छ ।’

यो उद्योगको माउ उद्योग एशियन थाईफुड (रमपम) चाउचाउ उद्योग हो । नेपालीको बाक्लो बसोबास रहदै आएको अष्ट्रेलिया, बहराइन, बेल्जीयम, भुटान, क्यानडा, डेनमार्क, फिनल्याण्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटली, जापान, कोरिया, कुवेत, मलेसिया, माल्टा, न्युजिल्याण्ड, ओमन, प्यालिष्टाइन, कतार, साउदी अरब, यूएई, यूएसए, यूके र यमनमा रमपम चाउचाउ निकासी हुँदै आएको छ ।

‘रमपम चाउचाउ निकासी हुँदै आएका ती मुलुकमा कोदोको बिस्कुट पनि निकासी गर्ने उद्योगको लक्ष्य छ,’ जाजुले भने ।


विनोद भण्डारी