अमेरिकी ट्यारिफको लाभबारे मन्त्रीदेखि उद्योगीसम्मको एक मत, ‘मौकाको फाइदा उठाऔं’

336
Shares

काठमाडौं । अमेरिकाले भारतमाथि लगाएको चर्को ट्यारिफलाई अवसरको रुपमा उपभोग गर्न उद्योगीदेखि मन्त्रीसम्म एकमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा भारतबाट निर्यात हुने वस्तुमा ५० प्रतिशत रेसिप्रोकल कर लगाएका छन् । यो कर नीतिका कारण भारतबाट अमेरिकामा निर्यात हुने वस्तुमा ५० प्रतिशतसम्म थप भन्सार शुल्क लाग्ने भएर भारतबाट हुने निर्यात दर प्रभावित हुने भएको छ ।

उता ट्रम्प प्रशासनले नेपाली उत्पादनमा भने १० प्रतिशत रेसिप्रोकल कर लगाएका छन् । यो कर नीतिका कारण भारतको तुलनामा नेपालबाट अमेरिकामा वस्तु निर्यात गर्दा कम्तिमा ४० प्रतिशतको लाभ हुन्छ ।

भारतको तुलनामा कम्तिमा ४० प्रतिशत कम भन्सार शुल्कमा अमेरिकाको ठूलो बजार नेपालले उपभोग गर्न सक्ने सुनौलो अवसर आएको भन्दै उद्योगीदेखि राष्ट्रिय योजना आयोग, सांसद र मन्त्रीसम्मले उक्त अवसरलाई क्यास गर्नुपर्ने विषयमा एक मत राखेका छन् । बुधबार सम्पन्न भएको नेपाल तयारी पोशाक उद्योग संघको ३० औं वार्षिक साधारण सभामा सहभागी उनीहरुले यस्तो एकमत हुँदै आफ्नो धारणा प्रष्ट पारेका हुन् ।

नेपालको गार्मेन्ट उद्योग अन्तर्राष्ट्रिय बजारमा विभिन्न समयमा प्रतिष्पर्धा गरी आफ्नो ब्रान्ड जोगाउन सफल भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक उद्योग विभिन्न आरोह अवरोध पार गरेर पनि निर्यात क्षेत्रमा आफूलाई अब्बल साबित गरेको जानकारी दिए ।

‘कुनै बेला निकै आर्कषक मानिएको तयारी पोशाकको आज पनि उज्वल सम्भावना छ । पछिल्लो अमेरिकी ट्यारिफ नीतिले नेपालको गार्मेन्ट उद्योगको लागि सुनौलो अवसर प्रदान गरेको छ, हामीले यो अवसरको सदुपयोग गर्नुपर्छ । यस्तो अवसर फेरि फेरि आउँदैन,’ मन्त्री भण्डारीले भने, ‘यसलाई अवसरको रुपमा उपभोग गर्न सरकार अहिले राष्ट्रिय योजना आयोगसहित विभिन्न विज्ञहरुसँग चरणवद्ध रुपमा छलफल गरिरहेको छ । अमेरिकी च्याम्बर अफ कमर्सका विज्ञहरुसँग पनि छलफल गरेका छौं । वस्तुगत संघ पनि लामो छलफल भएको छ ।’

पछिल्लो समयमा नेपालबाट १० अर्ब रुपैयाँसम्मको तयारी पोशाक निर्यात हुन थालेको जानकारी गराउँदै मन्त्री भण्डारीले भने, ‘अमेरिकी ट्यारिफ नीतिलाई हामीले सदुपयोग गर्न सक्यौं भने भने कम्तिमा ७० देखि ८० अर्बको निर्यात गर्न सम्भावना छ । यसको लागि लगानी थपौं, विश्वबजारको मागअनुसार गुणस्तरीय र ब्रान्डिङ उत्पादनमा ध्यान दिउ ।’

तीन करोड नेपाली जनता भएको डोमेस्टिक बजार सानो नभएको जानकारी दिँदै मन्त्री भण्डारीले यो डोमेस्टिक बजारलाई स्वदेशी उद्योगले सदुपयोग गर्न नसकेको कारण अन्य मुलुकको उत्पादनले आफ्नो नियन्त्रणमा लिएको बताए ।

‘चाडपर्व सुरु हुँदैछ । यो चाडपर्वको नाममा हामीले विदेशी उद्योगबाट उत्पादित सामानको लागि व्यापार गर्न जाँदैछौं, हाम्रै उद्योगको लागि व्यापार गर्ने कहिले हो ?’ भण्डारीले भने, ‘चाडपर्व हामीले बाहिरी मुलुकको कम्पनीको लागि मानिदिनु पर्ने अवस्था आएको छ । अब पनि नेपाली उद्योगी नसच्चिए कहिले सच्चिने हो ? चाडपर्वमा ९८ प्रतिशत बाहिरी मुलुकबाट उत्पादित र आयातित सामानको व्यापार हुन्छ, खै त हाम्रो उत्पादनको व्यापार भएको ? हाम्रो व्यापार अरुले गर्दैनन् । हामी आफैंले आफ्नो उत्पादनको व्यापार गर्ने हो ।’

उनले कम्तिमा चाडपर्वको बजारमा नेपालमा उत्पादन भएको र मेड इन नेपाल ट्याग लागेको वस्तुको बलियो रुपमा उपस्थिति हुनुपर्ने सुझावसमेत दिए ।

सरकारले स्वदेशी वस्तु कार्यविधि कार्यान्वयनमा ल्याएर नेपालका उद्योगीको हकमा काम गरेको भन्दै मन्त्री भण्डारीले नेपालबाट उत्पादित वस्तुहरु गुणस्तर चिन्ह प्राप्त गर्ने उद्योग औंलामा गन्न सक्ने अवस्थामा रहेको जानकारी दिए ।

‘हाम्रा उद्योगीले डोमेस्टिक स्वदेशी बजारका साथै अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दुई छिमेकी भारत र चीनको तुलनामा नेपालको लागत खर्च अत्यधिक भएकाले प्रतिस्पर्धा गर्न कठिनाई छ । यसका लागि आवश्यक पर्ने कच्चा पदार्थमा नेपाल आत्मनिर्भर नहुँदासम्म नेपालका उद्योग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैन । बजार पाउन गाह्रो छ ।’

मन्त्री भण्डारीले नेपालको तयारी पोशाक, गलैंचा(कार्पेट) र टेक्सटाइल क्षेत्रको प्रतिस्पर्धाको लागि निकट समयमै टेक्सटाइल काउन्सिल गठन गर्न लागिएको घोषणासमेत उक्त कार्यक्रममा गरेका थिए ।

तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले केही वर्ष अघिसम्म १ अर्बमा झरेको तयारी पोशाकको निर्यात १० अर्बमा पुगेको जानकारी दिए । अमेरिकी नीतिका कारण सामान्य तयारी गरेपछि तत्कालै दुई सय करोड रुपैयाँबराबरको अर्डर भारतीय व्यापारीबाट आउन सक्ने अवस्था सिर्जना भएको उनले जानकारी दिए ।

तयारी पोशाक उद्योग संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले अमेरिकी नीतिका कारण नेपाली उद्योगीका लागि स्वर्णीम युग आएको बताउँदै सरकार र नीजि क्षेत्र मिलेर यो अवसरको सदुपयोग गर्नुपर्ने जानकारी दिए । उनका अनुसार भारतका ठूला उद्योगीहरु पछिल्लो समयमा पोशाक उत्पादनसम्बन्धी बन्द रहेका नेपालको उद्योग ठेक्कामा लिएर पोशाक उत्पादन गर्न र नेपाली उद्योगीलाई नै उत्पादनको अर्डर दिएर उत्पादन गराउनका निम्ति नेपाल धाइरहेको जानकारी दिए ।

‘तर यसमा केही जोखिम पनि छ,’ ढकालले भने, ‘डम्पिङ भएको र पुराना पोशाकमा नेपालको ट्याग लगाएर ट्रान्ससिपमेन्टको ठूलो खतरा भएकाले यो विषयमा गम्भिर सरकारले एउटा संयन्त्रण बनाएर नियमन गर्नुपर्छ । नभए हाम्रो उद्योग विश्वभरमा बदनाम भएर निर्यातको बाटो बन्द हुने खतरा छ ।’

संघका पूर्व अध्यक्ष चण्डीप्रसाद अर्यालले नेपालको तयारी पोशाक उद्योग दक्षिण एशियामै सबैभन्दा ठूलो रहेको बताउँदै कच्चा पदार्थको अभाव, आन्तरिक द्वन्द्व, विश्व व्यापार संगठनको नीतिका कारण धरासायी बनेको बताए ।

कच्चा पदार्थमा आत्मनिर्भर भएर यो क्षेत्रमा विदेशी लगानी ल्याउन सकिए नेपालबाट कम्तिमा ७० अर्ब रुपैयाँ बराबरको निर्यात गर्न सकिने अवस्था आउने अर्यालले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले तयारी नेपालको तयारी पोशाकले मौलिक, गुणस्तरीय र ब्रान्ड भ्यालुएसन भएको उत्पादनमा जोड दिनुपर्ने बताए ।

श्रेष्ठले अमेरिकी नीतिका कारण नेपाललाई ठूलो अवसर आएको भन्दै यो अवसरलाई क्यास गर्न नेपालले ढिलाई गर्न नहुने सुझाव दिए ।