नागढुङ्गा सुरुङमार्ग

गाडीमा टाँसेको ‘कार्ड रिड’ गरेर बैंकबाट आफैं पैसा काटिने प्रविधि जडान हुँदै, दशैंमा निःशुल्क प्रयोग गर्न पाइने

630
Shares

काठमाडौं । नागढुङ्गा सुरुङमार्गमा यात्रा गर्दा लाइन बसेर पैसा तिर्नु नपर्ने गरी प्रविधि जडान कार्य अघि बढेको छ ।

सरकारले तय गरेको शुल्क (टोल) उठाउने कार्य आरएफआईडी कार्ड रिड गरेर संकलन गरिने भएको हो । सडक विभागका अनुसार गाडीको विन्डसिल्ड (अगाडिको सिसा) मा टाँसिएको आरएफआईडी कार्डमा सवारीधनीको जानकारी, बैंक खाता आदि विवरण प्रविष्ट हुन्छ र टोलगेट (पैसा उठाउने ठाउँ) मा गाडी पुगे पछि त्यहाँ जडान गरिएको प्रविधिले कार्ड रिड गर्नेछ र सवारीधनीको बैंक खाताबाट आफैं पैसा काटिनेछ । त्यसपछि टोलगेट आफैं खुल्ने र गाडी पास भएपछि टोलगेट पुनः बन्द हुनेछ ।

सडक विभागका प्रवक्ता प्रभात झाका अनुसार रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) कार्ड भनेको कार्यालयमा मेसिनबाट हाजिर गर्ने वा ढोका खुल्ने कार्ड जस्तै हो । सोही प्रविधि टोल गेटमा जडान गरेर सुरूङमार्ग यात्रालाई सजिलो तथा छरितो बनाउन खोजिएको हो ।

कहिलेकाँही गुड्ने र आरएफआईडी कार्ड नभएका गाडीले भने नगद बुझाएर मात्र सुरूङमार्ग पार गर्न सक्नेछन् । २०८२ साउन २६ गतेको मन्त्रिपरिषदको बैठकले सुरुङमार्गमा चल्ने सवारीको शुल्कसमेत स्वीकृत गरिसकेको छ ।

‘सुरुङमार्गबाट चल्ने गाडीले विद्युतीय माध्यमबाट दस्तुर संकलन गर्ने योजना बनाएको छ,’ विभागका प्रवक्ता झाले भने, ‘जसका लागि आयोजनाले आरएफआईडीमा आधारित टोल संकलन प्रणाली लागू गर्नेछ ।’ हाल आरएफआईडी प्रणाली जडान भइरहेको विभागले जनाएको छ ।

‘यो प्रणालीको प्रयोगबाट सवारीसाधनको विन्डसिल्डमा टाँसिने बैंक खाता आवद्ध भएको आरएफआईडी ट्यागमार्फत सोझै टोल काटिनेछ,’ झाले भने, ‘यसले सडक प्रयोग दस्तूर भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी हुनेछ ।’

सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि २४/७ सेवा प्रदान गर्नुपर्ने, आपतकालीन अवस्थामा उद्दार कार्य, आगलागी भएको अवस्थामा आगो नियन्त्रण तथा सुरुङमार्गमा जडान भएका पावर सप्लाइ, बत्ती, भेन्टिलेसन, आन्तरिक सञ्चार, रिमोट मोनिटरिङ, आकस्मिक सुविधा, अग्नी नियन्त्रण लगायतका उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित सञ्चालन, अनुगमन तथा मर्मतसम्भार गर्न दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय अनुभव आवश्यक हुने विभागको भनाइ छ ।

यो काम विशेषज्ञ सेवा प्रदायकबाट गराउनु उपयुक्त हुने भएकाले विभागले यो कार्यका लागि आवश्यक पर्ने स्पेसिफिकेसन, म्यानुअल जापानीज परामर्शदाताबाट तयार भएको र विभागीय प्रमुखबाट स्वीकृत भइसकेको बताएको छ ।

हाल सुरूङमार्ग निर्माण कार्य ९४.५ प्रतिशत सकिएको छ । असोज महिनाभित्र सम्पूर्ण निर्माण कार्य सक्ने लक्ष्यसहित सुरूङमार्गको काम अघि बढेको हो ।

सडक विभागका अनुसार करिब ९५ प्रतिशत भौतिक प्रगतिका साथ नेपालकै पहिलो आधुनिक सुरुङमार्ग मानिएको नागढुङ्गा सुरुङमार्गलाई नियमित सञ्चालनमा ल्याउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएपछि आवश्यक ट्रायल र टेस्ट सञ्चालन गरिने विभागले जनाएको छ ।

हाल सड़क विभागले नागढुङ्गा सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरिद कार्यको तयारी गरिरहेको छ । टनेल सञ्चालन तथा व्यवस्थापनको सेवा प्रदायक खरिद कार्यको लागि अर्थ मन्त्रालयले श्रोत सहमति दिइसकेको छ । सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत पनि भइसकेको छ ।

लागत अनुमान तयार गर्न आवश्यक नर्म्स स्वीकृत भइसकेको छ भने हाल लागत अनुमान तयारी कार्य भइरहेको छ। सबै काम सकिएपछि निकट भविष्यमै सर्वसाधारणको प्रयोगको लागि सुरूङमार्ग खुला गर्ने गरी तयारी भएको विभागले जानकारी दिएको छ ।

नागढुङ्गा सुरुङमार्ग काठमाडौं प्रवेश गर्ने प्रमुख बाटोमध्ये एक हो । अहिलेसम्म राजधानी प्रवेशमा सबैभन्दा बढी जाम हुने बिन्दु यही नागढुङ्गा क्षेत्रमा भएकाले सुरुङमार्ग सञ्चालन भएपछि दैनिक यात्रामा लाग्ने समय, इन्धन खर्च र प्रदूषणमा ठूलो मात्रामा कमी आउने अपेक्षा गरिएको छ ।

कूल २.६८ किलोमिटर लामो यस सुरुङमार्गमा साढे तीन मिटर चौडाइका दुई लेन निर्माण गरिएको छ । दुवैतर्फ पानी निकासका लागि नालीको व्यवस्था पनि मिलाइएको छ ।

यो सुरुङमार्ग ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) प्रविधिबाट, विस्फोटक पदार्थ प्रयोग नगरी निर्माण गरिएको हो । हाल सडकमा सानो अवरोध हुँदा नौबिसे–काठमाडौं बीचको यात्रामा घण्टौँ जाम हुने गरेकोमा सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कार्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।

सो सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालिन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो ।

सो आयोजना अन्तर्गत पूर्वी खण्ड ( काठमाडौं तर्फ) २.५ किमी एप्रोच सडक निर्माण गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ ।

त्यस्तै पश्चिम खण्ड (सिस्नेखोला तर्फ ) मिचिनीकी अर्थात् रोड साइड स्टेसन निर्माण गरिने भनिएकोमा जग्गा उपलब्ध नहुनाले र विभिन्न कारणले त्यो काम अधुरोमा छोड्नु परेको छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८० साउन २२ गते सहायक सुरुङमार्गको ब्रेक थ्रु गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ वैशाख ३ गते मुख्य सुरुङमार्गमा ब्रेक थ्रु गरेका थिए ।

हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्ष पछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।

यो सुरुङमार्गबाट यात्रा गर्दा शुल्क तिर्नु पछ । सरकारले यो सुरुङमार्गमार्फत यात्रा गर्ने सवारी साधनको हकमा (टोलगेट) शुल्क तोकेको छ । उक्त सुरुङमार्गमार्फत काठमाडौं भित्रँदा र बाहिरिँदा फरक फरक शुल्क तिर्नुपर्छ । नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रने कार, भ्यानले ६५ रुपैयाँ र काठमाडौंबाट फर्कदा ६० रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै नागढुङगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने मिनी बस र ट्रकले ११५ र फर्कदा ८० रुपैयाँ, काठमाडौं आउने ठूला बस र ट्रकले २६० र फर्कदा २०० रुपैयाँ तिर्नु पर्ने छ ।

त्यस्तै नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने भारी उपकरणले ६०० र फर्कदा २५० रुपैयाँ तिर्नु पर्ने सरकारले निर्णय गरेको छ ।

यसरी उठेको दस्तुरको रकम सडक बोर्डको खातामा जम्मा हुन्छ । सेवाप्रदायक कम्पनीले भने प्रयोग गर्न पाउँदैन । आयोजनाले सुरुङ सञ्चालनका लागि निजी सेवाप्रदायक कम्पनी खोज्नेछ ।

सर्भिस प्रोभाइडरले सबै सिस्टम हेरर अभ्यस्त भइसकेपछि सुरुङ बल्ल आममानिसका पूर्ण रूपमा खुला हुनेछ । आपत्कालीन अवस्थामा कसरी उद्धार गर्ने लगायतको पाटोका साथै एम्बुलेन्सलगायत तयारी अवस्थामा राख्ने सहितका काममा सर्भिस प्रोभाइडर तयार भइसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ ।

यी सबै काम सकाएर सन् २०२६ को जनावरी (पुस १७ गते) बाट सुरुङमार्ग सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ ।

नयाँ प्रविधिको प्रयोग, सुरुङमा विभिन्न यन्त्रहरू जडान, सुरुङमार्गमा ट्राफिक स्थितिको जानकारीका लागि कन्ट्रोल रूम लगायत हरेक १५० देखि २०० मीटरको दूरीमा सीसी क्यामेरा जडान गरिएको र सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि र सुरुङमार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्नका लागि १५ वटा जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिविलित मीटरको समेत प्रयोग र आपतकालिन सञ्चारका लागि टेलिफोन समेत जडान गरिएको छ ।


यसैबीच सरकारले दशैंमा यो सुरुङमार्गमार्फत काठमाडौंबाट बाहिर निस्किने सवारीलाई निः शुल्क सुविधा उपलब्ध गराउने बिषयमा तयारी थालेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो सुरुङमार्गमार्फत बाहिर निस्किने सवारी साधनयात्रुहरुलाई निः शुल्क सुविधा उपलब्ध गराउने गृहकार्यमा जुटेको हो । औपचारिक रुपमा आगामी पुसदेखि यो सुरुङमार्ग सञ्चालनमा आएपनि परीक्षण सञ्चालनको लागि यो नीति कार्यान्वयनमा ल्याउन लागिएको हो ।

दशैं अवधीमा सवारी साधनलाई निः शुल्क सुविधा उपलब्ध गराउने बिषयमा तयारी भइरहेको छ । तयारी सकिएपछि यो सुविधाको बिषयमा आवश्यक जानकारी सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता केशबकुमार शर्माले जानकारी दिए ।