नजिकियो चाडपर्व, बढेन व्यावसायिक गतिविधि


काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा पनि आर्थिक गतिविधि अपेक्षित रुपमा चलायनमान हुने अवस्था देखिएको छैन । दशैं, तिहार र छठ जस्ता चाडपर्व नजिक आउँदै गर्दा पनि चाडपर्व लक्षित आयातका लागि एलसी (प्रतित पत्र) अपेक्षित रुपमा बढ्न नसकेको हो ।

सानोसानो आयातका लागि ड्राफ्‌ट र टीटीमार्फत हुने भुक्तानी अघिल्लो वर्षको तुलनामा सकारात्मक देखिए पनि एलसीमार्फत हुने आयात अपेक्षित सुधार नदेखिएको बैंकरहरु बताउँछन् । दशैं लाग्न करिब ३ साता मात्रै बाँकी हुँदा भन्सारको तथ्यांकले पनि आयातमा अपेक्षित फरक नदेखिएको भन्सार विभागका अधिकारीहरु बताउँछन् । चाडपर्वको समयमा चीनतर्फको नाकामा रसुवागढी नाकाबाट आयात ठप्प भएको र तातोपानी नाकाबाट पनि आयात न्युन मात्रै देखिएको भन्सार विभागले जनाएको छ ।

नेपालमा वर्षभरी हुने आर्थिक गतिविधिको करिब एक तिहाई गतिविधि तीज, दशैं, तिहार र छठ पर्वको समयमा हुने गरेको छ । दशैं र तिहारजस्ता चाडपर्व पर्ने असोज र कात्तिकमा ‘करेन्सी इन सर्कुलेसन’ (चलनचल्तीमा रहेका नोट) मात्रै बढ्ने गरेको छैन, पछिल्लो समय तीव्र रुपमा विस्तार हुँदै गएको विद्युतिय कारोबार पनि बढ्ने गरेको छ । विशेष गरी दशैं तिहारको समयमा एटीएम विथड्र, क्युआर भुक्तानी केही बढ्ने गरेको देखिन्छ ।

अन्य महिनाको तुलनामा दशैं लक्षित आयात हुँदा दशैं अगाडिको महिनामा आयात पनि बढ्ने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

सरकारले निजामती कर्मचारी, शिक्षक तथा सेना प्रहरी लगायत सुरक्षा निकायका कर्मचारीलाई दशैंको समयमा एक महिनाको तलब बराबरको बोनस दिने गरेको छ । त्यस्तै बैंक बिमा लगायत औपचारिक क्षेत्रका कर्मचारीले पनि एक महिनाको तलब बराबर बोनस पाउने भएकोले उक्त समयमा बजारमा पैसा बढी जाने र खर्च पनि बढ्ने गरेको छ । जसले गर्दा दशैं तिहारलगायत चाडपर्वको समयमा अन्य समयभन्दा आर्थिक गतिविधि चलायमान हुन्छ ।

यातायात, हवाई क्षेत्र मात्रै नभएर होलसेल तथा रिटेल व्यापार यही समयमा बढ्छ भने टेलिभिजन, मोबाइल, रेफ्रिजेरेटर लगायत घरायसी प्रयोजनाका विद्युतीय उपकरण बिक्रीका लागि पनि चाडपर्व लक्षित भन्दै अफर ल्याउने गरेका छन् । जसले यस्ता उपकरणको व्यापार पनि दशैं तिहारको समयमा बढ्ने गरेको छ ।

चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार र अझै वस्तु आयातका लागि खोलिन प्रतिपत्रको कारोबारले चाडपर्वमा अर्थतन्त्र गुल्जार देखिने अवस्था नभएको बैंकरहरु बताउँछन् । लक्ष्मी सन्‌राइज बैंकको चिफ फाइनान्स अफिसर पियुस राज अर्याल आयातको भुक्तानीका लागि टीटी र ड्राफ्‌टको प्रयोग साउनसम्म बढेको देखिए पनि उत्तर तिरको नाका बन्द हुँदा त्यस्तो भुक्तानीका लागि विदेशी मुद्राको माग घटेको बताउँछन् । एलसीको कारोबार अघिल्ला आर्थिक वर्षमा भन्दा अपेक्षित सुधार नदेखिएको बैंकर अर्याल बताउँछन् ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आर्दश बजगाईं पनि चाडपर्व लक्षित भनेर साउन भदौमा एलसी खोल्ने क्रम अपेक्षित रुपमा बढ्न नसकेको बताउँछन् । गत वर्ष सोयाबिन तेल लगायतका वस्तु निर्यातका लागि कच्चा पदार्थ आयात गरी भारत निर्यात गर्दा प्रतिपत्रको कारोबार उच्च भए पनि चालु आर्थिक वर्षमा त्यस्तो अवस्था नदेखिएको उनले बताए ।

चीन तिरका दुवै नाका बन्द भएको र गत वैशाख र जेठमा नै ठूलो परिमाणमा गाडी आयात भएकोले दशैंका लागिगाडीआयात गर्न पनि एलसीको माग खासै नदेखिएको बैंकर बजगाईं बताउँछन् ।

नियमित उपभोग्य वस्तु र घरायसी प्रयोजनका विद्युतिय उपकरण आयातमा भने केही सुधारोन्मुख अवस्था भएको बैंकरहरु बताउँछन् । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि दशैं लक्षित बजार चलायनमान हुनेगरी आयातको एसली नखुलेको बताउँछन् । गत वर्ष कच्चा पदार्थ आयात गरी भारतमा तेल निर्यातका लागि एलसी उच्च दरमा खुलेका कारण बजार चलायमान भए पनि भारतले त्यसमा कडाई गरेको कारण चालु आर्थिक वर्षमा त्यस्तो माग पनि नरहेको खालिङले बताए।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत रहेका राष्ट्रिय योजना आयोगका समस्य डा. प्रकाश कुमार श्रेष्ठ नेपालको अर्थतन्त्रमा अन्य समय भन्दा दशैं र तिहार जस्ता चाडपर्व पर्ने असोज र कात्तिकमा स्वभाविकरुपमा आर्थिक गतिविधि देखिने गरेको बताउँछन् । तर, आर्थिक वर्षभरी हुने आर्थिक गतिविधिमध्ये यस अवधिमा कति प्रतिशत योगदान रहन्छ भन्ने एकीन कुनै विश्लेषण भने नरहेको उनले बताए ।

‘कर्मचारीलाई १ महिनाको लब बराबरको बोसन दिने चलन भएको र सोही समयमा बढ्ने ‘करेन्सी इन सर्कुलेसन’ को तथ्यांकले पनि आर्थिक वर्षको अन्य समयमा भन्दा दशैं तिहार लगायतका चाडपर्व पर्ने असोज कात्तिकमा आर्थिक गतिविधि चलायमा हुन्छ,’ अर्थशास्त्री श्रेष्ठले भने, ‘आर्थिक वर्षको अन्य महिनाको तुलनामा दशैं सुरु भएको र अघिल्लो महिनाको आयात, करेन्सी इन सर्कुलेसन जस्ता तथ्यलाई विश्लेषणा गर्दा चाडपर्वको समयमा आर्थिक गतिविधि बढी हुन्छ भन्न सकिन्छ ।’

पछिल्लो समय चाडपर्वका लागि गरिने अनिवार्य खर्च बाहेक सपिङका लागि चाडपर्व नै पर्खने अवस्था नभएको कारण पनि विगतको तुलनामा चाडपर्वमा हुने गतिविधि कम भएको बैंकरहरुको विश्लेषण छ ।

त्यस्तै अलि चलेका फेसन र महँगा कपडा तथा रेस्टुरेन्टमा जाने युवा जमात ठूलो संख्यामा पलायन हुँदा पनि नेपालमा चाडपर्वको समयमा हुने आर्थिक गतिविधि कमजोर बन्दै गएको छ ।  विगतमा कपडा किन्नका लागि तिज वा दशैं भन्ने नेपाली समाज विस्तारै जुनसुकै समयमा पनि किनमेल गर्ने अवस्थाले पन चाडपर्वमा गतिविधि बढी हाल्ने अवस्था नभएको हो । यद्यपी रेमिट्यान्सकै कारण सुधार हुँदै गएको आर्थिक अवस्थाका कारण चाडपर्वमा घरमा उज्यालो बनाउने क्षेत्रमा हुने खर्च भने बढ्दै गएको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीले पनि दशैंका लागि आयात बढेको अवस्था देखिँदैन ।  नयाँ आर्थिक वर्षको डेढ महिनाको अवधिमा पनि कर्जा अपेक्षित रुपमा बढ्न सकेको देखिँदैन ।

गत आर्थिक वर्षको साउन र भदौमा ६० अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा गत असारको तुलनामा १० अर्बले पनि कर्जा बढेको छैन । हरेक आर्थिक वर्ष असारको तुलनामा साउनको दोस्रो सातासम्म कर्जा केही घट्ने गरेको तथ्यांक देखिन्छ । त्यसपछि क्रमशः बढ्दै जाने गरेको छ ।

गत आर्थिक वर्षको पहिलो २ महिनामा ६० अर्ब रुपैयाँ कर्जा लगानी भए पनि चालु आर्थिक वर्षको सोही अवधिमा कर्जा नबढ्ने अवस्था छ । गत वर्षको तुलनमा यो वर्ष दशैं अगाडि नै सरेको र असोजको दोस्रो साताबाट नै चाडवार्ड सुरु हुने भएकोले हालसम्म चाडपर्व लक्षित वस्तु आयातको लगि एलसी खुलेर उक्त वस्तु आयात भइ कर्जा लगानीको तथ्यांकमा देखिनुपर्ने समय भइसकेको हुँदा आगामी दिनमा चाडपर्व लक्षित वस्तु आयात बढ्न जान्छ भन्ने अवस्था छैन ।

चाडपर्वमा चीनबाट केही वस्तु आयात हुने भए पनि बाढी र पहिरोको कारण चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी र सुसुवागढी दुवै अवरुद्ध छ । जसले गर्दा ड्राफ्‌ट र टीटी मार्फत भुक्तानी हुनेगरी हुने आयात पनि करिब ठप्प जस्तै रहेको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।