
काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकादेखि दैनिक खाद्य पदार्थको बिक्रीका लागि अनलाइन बुकिङ खुला गरेको छ ।
कम्पनीले आफ्नो वेवसाइडमार्फत ‘दशैं स्पेशल एडभान्स बुकिङ’ मार्फत अनलाइन अग्रिम बुकिङ गर्ने सुविधा खुला गरेको हो ।
यसमा खसीबोका र च्याङग्रा पनि अग्रीम रुपमा अनलाइन बुकिङ गर्न पाउने व्यवस्था गरिएको छ । यसको लागि वेवसाइडमा गएपछि पेजको माथि व्यापार अनलाइन सेवामा क्लिक गर्नुपर्छ ।
त्यसपछि पेजको माथि पहेलो रंगमा ‘दशैं स्पेशल एडभान्स बुकिङ’ भन्ने फिचर आउँछ र त्यो फिचरमा क्लिक हेयरमा क्लिक गरेपछि खसीबोका खरिद गर्न अग्रिम बुकिङ गर्न पाउने सुविधा दिइएको छ ।
समा क्लिक गरेपछि खसी, बोका र च्याङग्रा छान्ने बिकल्प दिइएको छ । आफुलाई चाहिएको खसी, बोका र च्याङग्रामा क्लिक गरेपछि कति किलो र कतिवटा चाहिएको छ, त्यो पनि छनौट गर्ने बिकल्प दिइएको छ ।
त्यो बिकल्प रोजेर आफ्नो नाम, मोवाइल नम्बर, ठेगाना, कुन मितिमा ति सामान खरिद गर्न जाने हो, त्यो मिति पनि त्यहाँ उल्लेख गर्नु पर्छ । त्यसपछि ईसेवा वा खल्ती भन्ने अनलाइन भुक्तानी प्रणालीमध्ये कुनबाट भुक्तानी गर्ने हो, त्यसमा क्लिक गर्नुपर्छ । त्यसपछि सबमिट बुकिङमा क्लिक गर्नुपर्छ ।
यति प्रक्रिया गरेपछि उपभोक्ताको नाममा खसीबोका र च्याङग्राका साथै आफुले रोजेको खाद्य पदार्थको अनलाइनमार्फत अग्रिम बुकिङ हुनेछ । कम्पनीले खसीबोका र च्याङग्रा अनलाइन बुकिङ गर्न शर्त पनि तोकेको छ ।
यस्तै कम्पनीले अनलाइनबाट बुकिङ गरेका खाद्य सामाग्री (चामल, दाल, गेडागुडी, तेल तथा घीउ, इलेक्ट्रोनिक्स सामान, कर्णालीका खाद्य उत्पादन) सहित अन्य विभिन्न दैनिक उपभोग्य वस्तुको डेलिभरी गर्ने सुविधा पनि थपेको छ ।
यो सुविधा भने काठमाडौंको चत्रपथ र सुर्खेत तथा पोखराको बजार क्षेत्रका लागि मात्रै उपलब्ध गराएको छ । डेलिभरी सुविधा निः शुल्क छ । सामानको अर्डर गरेको तीन भित्रमा खाद्य सामाग्री डेलिभरी हुने व्यवस्था गरिएको छ ।
खसीबोका र च्याङग्रा अनलाइन बुकिङ गर्न यस्तो छ शर्त
कम्पनीले खसी, बोका तथा च्याङग्राको अनलाइन बुकिङको लागि केहि सर्तहरु तोकेको छ ।
जसअनुसार अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्रै बुकिङ हुने मान्य हुनेछ । बुकिङको कोड नम्बर÷खसी, बोका तथा च्याङग्रा संकलनको समयमा अनिवार्य रुपमा देखाउनु पर्नेछ । ग्राहकले एकपटक बस्तु बुझिसकेपछि पुनः पुरानै कोड नम्बर लिएर गएमा कम्पनीले बस्तु उपलब्ध गराउन बाध्य हुने छैन ।
यस्तै कम्पनीले उपभोक्ताको माग बमोजिम बस्तु उपलब्ध गराउन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा अग्रिम भुक्तानी वापतको रकम फिर्ता नगर्ने व्यवस्था गरेको छ ।
उपभोक्ता कम्पनीको बिक्री केन्द्रमा गएर बस्तु छनौट गरेपश्चात बस्तुको पर्न आउने कूल मोलमा अग्रिम भुक्तानी बापतको रकम घटाएर बाँकी रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बस्तुको मूल्य कम्पनीले निर्धारण गरेको प्रतिकिलो दरअनुसार हुनेछ । तौलमा सानोतिनो भिन्नता हुन सक्छ, अन्तिम रकम वास्तविक तौलानुसार निर्धारण हुनेछ ।
तोकिएको मितिमा कम्पनीको बागमती प्रादेशिक कार्यालय, थापाथली कार्यालयबाट मात्र खसी, बोका तथा च्याङग्रा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । आफूले बुकिङ गरेको बस्तु तोकिएको समयमा नलिए पछि दाबी गरेमा अग्रिम भुक्तानी बापतको रकम फिर्ता नहुने व्यवस्था गरिएको छ ।
कम्पनीले उपलब्ध गराउने खसी बोका तथा च्याङग्रा स्वास्थ्यदायी र मापदण्डअनुरूपका हुनेछन् । विशेष जात वा रंगको सुनिश्चितता गर्न सकिने छैन ।
शर्तहरू नेपालको प्रचलित कानुन अनुसार लागू हुने र कुनै विवाद भएमा प्रचलित कानुनबमोजिम हुने व्यवस्था कम्पनीले गरेको छ ।







प्रतिक्रिया