शव जलाउने ढकालको बयान: ‘पूजाका लागि हड्डी र खरानी मागे, दिन नमानेपछि ४ सय खल्तीमा हालिदिए’

2k
Shares

काठमाडौं । पशुपति आर्यघाटमा सद्‌गद गर्ने क्रममा शवको हड्डी निकालेर बिक्री गरेको प्रकरणमा पक्राउ परेकामध्ये आर्यघाट सेवा केन्द्रका कर्मचारी जीवनाथ ढकालले आफूलाई जबरजस्ती पैसा दिएपछि हड्डी दिएको बयान दिएका छन् ।

यो प्रकरणमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलान-बिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दर्ता भएको हो । जीवनाथ र विनायक हड्डी बेच्ने आरोपी हुन् भने रामनन्दन र मिश्रीलाल हड्डी किन्ने आरोपी हुन् ।

पक्राउ परेका जीवनाथ ढकालले बयानमा आफूले यसअघि कहिल्यै हड्डी नबेचेको दाबी गरेका छन् । तर २३ साउनमा सद्‌गद भइरहेको अवस्थामा पैसा दिएपछि हड्डी दिएको बयान दिएका छन् ।

उनले प्रहरीसमक्ष दिएको बयानमा भनेका छन्, ‘म विगत ४० वर्षदेखि पशुपति क्षेत्र विकास कोषमार्फत आर्यघाट सेवा केन्द्रमा लाश जलाउने काम गर्दै आएको छु । २३ साउनमा राम शाहीको शव सद्‌गद गर्न आएको थियो । लाश जल्दै गर्दा दुई जना व्यक्तिले पूजा गर्नका लागि हड्डी र खरानी मागे । मैले ‘मलामीहरूले गाली गर्छन्, कुट्छन्, त्यसैले दिन मिल्दैन’ भने पनि उनले जबरजस्ती ४०० रुपैयाँ खल्तीमा हालिदिए ।’

ढकालका अनुसार उनले हड्डी दिन अस्वीकार गरे पनि दबाबपछि आफ्नो सहयोगी विनायक मैनालीलाई कुरा बताए । त्यसपछि विनायकले चिताबाट खरानी र हड्डी खोला तर्फ धकेल्न भनेको र आफूले बाँस प्रयोग गरेर धकेलेको ढकालले बयानमा खुलाएका छन् ।

ढकालले भनेका छन्, ‘मैले लाश जलाइरहँदा बाँसले खरानी र हड्डी खोलातर्फ धकेली झारी दिएँ । त्यसपछि विनायक मैनालीले बट्टामा राखेर रामनन्दन ठाकुर र उनका सहयोगी मिश्रीलाललाई दिए । यसरी बट्टा दिएको कुरा मलामीहरूले समेत थाहा पाए र प्रहरीलाई खबर गरे ।’

उनले आफूले कुनै मूल्य वा दर निर्धारण नगरेको भन्दै आरोप अस्वीकार गरेका छन् । ‘रामनन्दन ठाकुरले जबरजस्ती नगद चार सय खल्तीमा हालिदिएका हुन् । यसअघि कहिल्यै खरानी वा हड्डी बिक्री गरेको छैन,’ ढकालले बयानमा उल्लेख गरेका छन् ।

यस्तो छ ढकालको बयान

म विगत ४० वर्ष अगाडिदेखि पशुपति क्षेत्र विकाश कोषमार्फत आर्यघाट सेवा केन्द्रमा लाश जलाउने काम गर्दै आइरहेको छु । यस्तैमा २३ साउनको २ बजेको समयमा म आर्यघाटमा लाश लाउने पालो आएको छ भनी कार्यालयबाट जानकारी पाए पश्चात आर्यघाट गएँ । २ नम्बर चितामा लाश जलाउन भनी तयार भई चितामा पुग्दा जाहेरवाला रमेश शाहीको मामा राम शाहीको शव ल्याएका थिए ।

मैले चिता तयार गरी हिन्दु धर्म अनुसार लाश जलाइरहेको थिए । लाश जल्दै आधा जस्तो भइसकेको थियो । त्यस समयमा पशुपति मन्दिरको पूर्व गेट मुनि बाग्मती खोला नजिकै उभिएका एक जना अपरिचित मानिसले मलाई हातको इशाराले बोलाए । उनले किन बोलाएको भनी म उनी भएको स्थानमा गएँ । ती व्यक्तिले मसँग पूजा गर्नको लागि हड्डी र खरानी मागे । मैले तपाई को हो ? भन्दै परिचय मागेँ । ती व्यक्तिले रामनन्दन ठाकुर, कपनतर्फ बस्ने भनी बताए ।

उनीसँग अर्का मिश्रीलाल यादव समेत साथमा थिए । त्यसपछि मैले उनलाई त्यसरी हड्डी, खरानी दिन मिल्दैन। मलाई मलामीहरुले गाली गर्छन, कुट्छन् भनेँ । उनीहरुले लुकाएर निकाली मलाई दिनु भन्दै मेरो हातमा जबरजस्ती ४०० रुपैयाँ दिए ।

त्यसपछि म लाश जलाउन तिर लागे, त्यो रामनन्दन ठाकुर भन्ने मानिस सोही स्थानमा उभिएर बसी रहे । मैले निजलाई लाशको हड्डी र खरानी दिइन । त्यसपछि उनी मेरो नजिकै आई इशाराले निकाल्न भनी रहे । लाश जल्न करिब १ चौथाई मात्र बाँकी थियो । उनले धेरै नै कर गरेको हुँदा मैले विनायक मैनालीलाई त्यो कुरा भने । विनायक मैनालीले तपाई चिताबाट खरानी र हड्डी तल खोला तर्फ धकेली दिनु म बट्टामा राखेर दिन्छु भने ।

मैले लाश जलाउदै गर्दा बाँसले खरानी र हड्डी खोलातर्फ धकेली झारी दिएँ । त्यसपछि विनायक मैनालीले उक्त खरानी र हड्डी बट्टामा राखी उनीहरुलाई दिए । उक्त बट्टा दिएको मलामी तथा जाहेरवालाहरु समेतले थाहा पाए । किन लाशबाट हड्डी निकाली अन्य व्यक्तिहरुलाई दिएको भन्दै प्रहरी बोलाए । अनि हामीलाई प्रहरीले पक्राउ गर्‍यो।

रामनन्दन ठाकुरले निकाली दिनु भनी नगद दिई आह्राएको हुँदा मैले निकाली दिएको हुँ । मैले लाश जलाई रहेको चिताबाट खरानी र हड्डी बेच्ने दर निर्धारण गरेको होइन । रामनन्दन ठाकुरले जबरजस्ती नगद चार सय खल्तीमा हालि दिएका हुन्। यस भन्दा पहिले खरानी र हड्डी निकाली विक्री गर्ने गरेको छैन ।