काब्रा ग्रुपले बिस्कुट बेचेर ९ महिनामा गर्‍यो साढे ३६ करोडको व्यापार, बढ्यो नाफा

175
Shares

काठमाडौं । टपसहित अन्य ब्रान्डको बिस्कुट बेच्ने क्वालिटी डाइट एन्ड फुड प्रोडक्टले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे ६३ करोड रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले गत आवको ९ महिनाको अवधिमा ६३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । यस हिसाबमा कम्पनीले मासिक ४ लाख भन्दा बढीको बिस्कुट लगायतका सामग्री बेचको छ ।

सन् २०२४ मा ६६ करोड ९० लाखको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ६४ करोड ८० लाख र सन् २०२२ मा ६५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका बिस्कुट उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले उत्पादित बिस्कुट टेस्टी, बटर क्रयाकर, टप र अन्य ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

सुनसरीको दुहाबीमा उद्योग रहेको कम्पनीले वार्षिक ६ हजार ४ सय ७४ मेट्रिक टन क्षमतामा उत्पादन गर्दै आएको छ ।

काब्रा ग्रुपको लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७४ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको छ । ग्रुपले विगत चार दशकदेखि व्यापार गर्दै आएको छ । कम्पनीमा चार जनाको स्वामित्व रहेको छ ।

कम्पनीले उत्पादन गरेको तीनवटा ब्रान्डको बिस्कुटको बजारमा निकै माग छ । जसले गर्दा उक्त तीनवटा ब्रान्डबाट नै उच्च व्यापार हुने गरेको छ ।

बजारमा माग बढ्दै जाँदा कम्पनीको क्षमतामा पनि वृद्धि भएको पाइएको छ ।

सन् २०२४ मा ४९ प्रतिशत क्षमता उपयोग भएकोमा गत आवमा बढेर ६० प्रतिशत पुगेको छ ।

त्यसैगरी, कम्पनीले गत आवको ९ महिनाको अवधिमा ३.१६ प्रतिशतले नाफा कमाएको छ ।

कम्पनीले सन् २०२४ मा २.४७ प्रतिशत र सन् २०२३ मा ०.६४ प्रतिशत नाफा कमाएको थियो । त्यस्तै कम्पनीको सन् २०२२ को तुलनामा सन् २०२४ मा ऋण बढेको छ । सन् २०२२ मा ४६ करोड ६० लाख ऋण रहेकोमा सन् २०२४ मा ६२ करोड ७० लाख रुपैयाँ पुगेको छ । तर गत आवको ९ महिनासम्ममा ऋण घटेर ५७ करोड २० लाख रुपैयाँ कायम भएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा उत्पादित बिस्कुटको उच्च प्रतिस्पर्धा छ । जसले गर्दा मूल्यमा निकै चाप परेको कम्पनीको भनाइ छ । कम्पनीले कच्चा पदार्थ जस्तै गहुँको पिठो, घ्यू, पाम आयल र चिनी आयात गर्दै आएको छ ।