
काठमाडौं । काठमाडौं महानगरपालिकास्थित पेप्सीकोलामा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले एकीकरणपछिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभामा संस्थाका सल्लाहकार प्रा.डा. भीमप्रसाद न्यौपानेले सहकारीलाई पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने माध्यमका रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे । अर्का सल्लाहकार खडानन्द ढकालले स्थानीयको सक्रिय सहभागिताले संस्थाको अवस्था मजबुत बनेको उल्लेख गर्दै बचत सुरक्षित रहेको विश्वास दिलाए ।
अध्यक्ष बालकुमार बास्तोलाले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका अपचलन र बचत फिर्ता समस्याले चुनौती बढाएको बताए । उनले पारदर्शिता, वित्तीय अनुशासन र सदस्यप्रतिको दायित्वलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए। संस्थाले सम्पत्ति शुद्धिकरण कार्यविधि लागू गरी गोएएमएलमा दर्ता भएको र कुनै शंकास्पद कारोबार नभएको जानकारी पनि उनले दिए ।

हाल संस्थाको कुल सम्पत्ति ३१ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यस आर्थिक वर्षभित्र शेयर पुँजी ६ करोड, बचत २५ करोड र ऋण लगानी २६ करोड पुर्याउने लक्ष्य रहेको अध्यक्ष बास्तोलाले बताए । सहकारीले सदस्यलाई प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै लघु, आपतकालीन, महिला तथा युवा लक्षित ऋणमार्फत स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनमा जोड दिँदै आएको छ।
सभामा ८० प्रतिशत सदस्यको सहभागिता थियो भने अन्त्यमा महिला सदस्यका लागि तीज विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो।







प्रतिक्रिया