सहकारी ठगी: जीबी राईका जेठान १० लाख धरौटीमा छुटे


पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन जिल्ला अदालत कास्कीबाट १० लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

सहकारी ठगी अभियोगमा पक्राउ पुर्जी जारी भएर लामो समयदेखि फरार रहेका बम्जन आइतबार जिल्ला अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश शंकरकुमार राईको इजलासमा भएको बयान र थुनछेक बहसपछि १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

बम्जन सहकारी ठगी प्रकरणका मुख्य योजनाकार तथा ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने कम्पनी गोर्खा मिडिया नेटवर्क का अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका जेठान हुन् ।

उनीमार्फत नै पोखरामा सूर्यदर्शन सहकारी गठन गरिएको थियो । पछि राईलाई अध्यक्ष बनाउन बम्जनले सहयोग गरेका थिए । बम्जनको कम्पनीमार्फत काम गर्ने क्रममा राईले बम्जनकी बहिनी भगवतीसँग दोस्रो विवाह गरेका थिए । भगवती पनि हाल सहकारी ठगी अभियोगमा फरार छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको अभियोगपत्रअनुसार, बम्जनले अध्यक्ष रहँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको देखाइएको छ। सहकारीबाट अपचलन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाँ रहेको अभियोगपत्रमा उल्लेख छ ।

अदालतमा उपस्थित भएर बम्जनले भने सहकारी ठगीमा आफू संलग्न नभएको इन्कारी बयान दिएका छन् । अदालतमा सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बम्जनका तर्फबाट द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए।

यसअघि यही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।