कर्जाको ब्याजदर घटेर ७.८५ प्रतिशतमा झर्दा पनि बढेन माग


काठमाडौं । गत आर्थिक वर्षमा ब्याजदर पछिल्लो दशककै न्युन भएपनि कर्जा भने मौद्रिक नीतिको लक्ष्य अनुसार बढ्न नसकेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा १२.५ प्रतिशतले कर्जा विस्तार हुने अनुमान सहित मौद्रिक नति सार्वजनिक गरेको थियो । 

तर, ब्याजदर दशकयताकै न्युन भएपनि कर्जाको माग भने बढ्न नसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो । २०८१ असार मसान्त ९.९३ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर २०८२ असार मसान्तमा आउँदा ७.८५ प्रतिशतमा झरेको छ  । कोभिपछि आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा उच्च कर्जा विस्तरसँगै बढेको आयातले अर्थतन्त्रको बाह्य सुचकहरुमा असन्तुलन देखिँदा सरकार र राष्ट्र बैंकले केही कसिलो नीति लिएको थियो । 

कोभिडपछिको असर केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत सार्दै गएको र अन्तर्राष्ट्रिय बजारमा परेको सप्लाई चेनको असर तथा अत्याधिक लचिलो र त्यसपछि केन्द्रिय बैंकले एक्कासी कसिलो नीति लिँदा आर्थिक गतिविधिमा शिथिलता बढ्दै गयो भने कर्जामा अनुसासन कायम गर्न खोज्दा पछिल्लो ३ आर्थिक वर्षदेखि आर्थिक गतिविधिमा सुस्तता देखिएको छ । 

सरकारले पूँजीगत खर्च बढाउन नसक्ने र निजी क्षेत्रले पनि लगानीको नयाँ क्षेत्र पहिल्याएर लगानी बढान नसक्दा बैंकहरुमा अधिक तरलताको चाप बढ्दै गएको छ । पछिल्लो ३ आर्थिक वर्षमा लगातार शोधनान्तर बचत उच्च देखिएको छ भने करिब २७ खर्ब विदेशी विनिमय सञ्चित पुगेको छ । यस्तै ब्याजदर घटेर ऐतिहासिकरुपमा नै तल्लो बिन्दुमा झरेको छ । कोभिडको समयमा ८.४३ प्रतिशतमा कर्जाको भारित औसत ब्याजदर झर्दा १८ महिनामा १४ खर्बभन्दा धेरैले कर्जा बढेको थियो । तर, गत असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर ७.८५ प्रतिशतमा झरेको छ । अझै कर्जाको ब्याजदर घट्दो क्रममा देखिएको छ । तर, पनि कर्जाको मागमा भने अपेक्षित सुधार हुन सकेको देखिएन । 

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा  प्रवाह हुने कर्जा ८.४ प्रतिशतले बढेको छ । जुन ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ हो । मौद्रिक नीतिले १२.५ प्रतिशतले विस्तार हुने अनुमान गरेपनि मौद्रिक नीतिको लक्ष्यभन्दा कर्जा विस्तार न्युन देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि ५.८ प्रतिशतमात्रै कर्जा विस्तार भएकोमा गत आर्थिक वर्षमा केही सुधार देखिएको हो । 

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत र विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १२ प्रतिशतले वृद्धि हुने अनुमान गरेकोमा मौद्रिक नीतिको लक्ष्यअनुसार नै विस्तार भएको हो । 

रेमिट्यान्सको वृद्धि उच्च भएकोले विस्तृत मुद्राप्रदाय बढीरहेको छ । हाल बैंकहरुले लगानी गर्न नसकेर करिब साढे ६ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकको तरलता प्रशोचन गर्ने औजारमा लगानी गरेका छन् ।  रेमिट्यान्सको वृद्धि पनि उच्च भएकोले विस्तृत मुद्राप्रदायको विस्तार राम्रै हुने अनुमान गर्न सकिन्छ ।

तर, ब्याजदर न्युन बिन्दुमा आइसक्दा पनि कर्जाको मागमा सुधार भएको छैन । चाडपर्व नजिक आउँदै गर्दा पनि नियमित भन्दा नयाँ एसली नखुलेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् । गत आर्थिक वर्षमा नेपाल आयात भएर प्रशोधन गरी भारत निर्यात भएको तेलको आयात गर्न पनि एलसी खुल्न कमी भएको सिइओ खालिङले बताए । यस्तै केही हाइड्रोपावर फाइनान्सियल क्लोजर भएपनि लगानी सुरु हुन करिब १ वर्ष लाग्न उनले बताए ।

कर्जाको ब्याजदर कोभिडपछि २०७८ असारमा ८.४३ प्रतिशतसमम झरेको थियो । त्यसको करिब १९ महिनामा २०७९ फागुनमा १३.०३ प्रतिशत पुगेर चैतदेखि घट्न सुरु भएको थियो । २०७९ असारमा १२.३० प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर पछिल्लो २ वर्षमा ४.४५ प्रतिशत बिन्दु अथात ३६.१७ प्रतिशतले कर्जाके ब्याजदर सस्तिएको छ । अझै २०७९ फागुनको तुलनमा ५.१८ प्रतिशत बिन्दुले कर्जाको भारित औसत ब्याजदर घटेको हो ।

२०८१ असार मसान्तमा बैंकहरुको कोषको लागत ५.७७ प्रतिशतबाट घटेर ४.१९ प्रतिशतमा झरेको छ । कोषको लागत घटेसँगै आधार दर पनि ८ प्रतिशत बिन्दुबाट घटेर ६.०२ प्रतिशतमा झरेको छ । अधिक तरलताले बढेको प्रस्पर्धाका कारण बैंकहरुले  ब्याजदर घटाएर भएपनि ऋणी ग्राहक तान्ने प्रयासमा लाग्दा स्प्रेड दर घट्दै गएको छ । जसको कारण कोषको लागत र आधार दरको  तुलनमा कर्जाको भारित औसत ब्याजदर बढी घटेको देखिन्छ । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् केन्द्रिय बैंकले नीतिगत दरहरु अझै घटएको कारण ३ प्रतिशत रहेको बचतको ब्याजदर २.७५ प्रतिशतमा झरेको छ । सोही आधारमा कल निक्षेपको पनि घटेको छ भने मुद्दति निक्षेपको ब्याजदर पनि बैंकहरुले मौद्रिक नीतिपछि घटाएका छन् । निक्षेपको ब्याजदर तल्लो बिन्दुमा आउँदा मुद्दति निक्षेप नविकण घटेर बचत निक्षेप बढ्दै गएको छ ।

सस्तो लागतको बचत निक्षेपको हिस्सा बढ्दै जाँने र विगतमा महँगो लागमा लिएको मुद्दति निक्षेपको अवधि सकिदै जाँदा कोषको लागत अझै घट्दो अवस्थामा रहेकोले कर्जाको ब्याजदर अझै घट्ने बैंकरहरु बताउँछन् । तर, नयाँ आर्थिक वर्ष सुरु भएको १ महिनाभन्दा बढी अवधि भइसकदा पनि नयाँ परियोजनाक लागि ऋण लिने कुनै इन्क्वाइरी सुरु नभएको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ बताउँछन् । 

राष्ट्र बैंकको तथ्यांकले पनि बैंकहरुको मुद्दति निक्षेपको हिस्सा घटेर बचतको हिस्सा बढेको छ । २०८१ असारमा कुल निक्षेपमा बचतको हिस्सा ३०.३ प्रतिशत रहेकोमा २०८२ असारमा बढेर ३६.८ प्रतिशत पुगेको छ । जबकी मुद्दति निक्षेपको हिस्सा ५६.४ प्रतिशतबाट ४८.३  प्रतिशतमा झरेको छ ।  मुद्दति निक्षेपको हिस्सा घट्दै जाँदा कोषको लागत कम भएर कर्जाको ब्याजदर पनि थप घट्न सहयोग पुग्छ ।