ट्रम्पले दिए सर्जिओ गोरलाई दक्षिण एसिया हेर्ने जिम्मेवारी, शीतयुद्धकालीन रणनीतिको पुनरागमन ?


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सर्जियो गोरलाई भारतका लागि नयाँ राजदूतका रूपमा मनोनयन गरेका छन् ।

भारतको राजदूतका साथै सम्पूर्ण दक्षिण एसिया हेर्ने जिम्मेवारी पनि गोरलाई दिइएको छ । यसले दक्षिण एसियाका विषयमा ट्रम्प प्रशासनको रणनीतिक सोचमा ठूलो मोड आएको संकेत दिएको छ ।

यो कूटनीतिक नियुक्ति मात्र नभई वफादार र विचारधारात्मक रूपमा मिल्ने व्यक्तिलाई नयाँ दिल्लीमा राख्ने उद्देश्य हो । यसले अमेरिका–भारत सम्बन्ध र सम्पूर्ण क्षेत्रलाई शीतयुद्धकालीन मानसिकता अन्तर्गत नियन्त्रित गर्ने लक्ष्य बोकेको छ ।

विशेषगरी, गोरलाई दिइएको दक्षिण तथा मध्य एसियाका लागि विशेषदूतको भूमिकासँगै राजदूतको दोहोरो जिम्मेवारीले पाकिस्तान–भारत सम्बन्धलाई फेरि एउटै बास्केटमा राख्ने सम्भावना देखाउँछ । भारतले अथक कूटनीतिक पहल गरेर भारत र पाकिस्तानलाई बेग्लै हेर्नुपर्ने (डिहाइफनेट) बनाएको थियो तर अहिले ट्रम्पले यी दुई शत्रुदेशलाई एकसाथ हेर्ने सोच बनाएका छन् ।

यस मनोनयनको महत्त्व बुझ्नका लागि गोरको पृष्ठभूमि अत्यन्त महत्त्वपूर्ण छ । उनी लामो समयदेखि ट्रम्पका निकट सहयोगी हुन् र उनले ह्वाइट हाउसको प्रेजिडेन्सियल पर्साेनेल अफिसका निर्देशकका रूपमा काम गरेका छन् ।

परम्परागत कूटनीतिक अनुभव उनको मुख्य योग्यता होइन । राष्ट्रपति ट्रम्पप्रतिको अटल निष्ठाका कारण नै उनले यो नियुक्ति पाएका हुन् । ट्रम्पको चुनावी अभियानमा उनले खेलेको भूमिकाले उनलाई राजनीतिक कार्यकर्ताको रूपमा स्थापित गरेको छ । साथै, डोनल्ड ट्रम्प जुनियरसँग मिलेर कन्जर्भेटिभ प्रकाशनमा संलग्न भएकाले उनी राजनीतिमा सक्रिय खेलाडी मानिन्छन् ।

करियर डिप्लोम्याटहरू स्थापित प्रक्रियाबाट संवाद गर्छन् । गोर भने राष्ट्रपति स्वयंको प्रत्यक्ष सन्देशवाहकका रूपमा देखिन्छन् । यसले उनलाई संवेदनशील विषयमा गोप्य तरिकाले र विश्वासका साथ सन्देश पु‍र्याउन सक्षम बनाउँछ ।

इलन मस्कसँगको विवाद उनको कार्यशैलीको उदाहरण हो । गोरले राजनीतिक निष्ठाका आधारमा मस्कका साथीलाई नासामा नियुक्ति दिनबाट रोकिदिएका थिए त्यसले गर्दा मस्क रिसाएर गोरलाई सर्प भनेका थिए ।

गोर आक्रामक, व्यावहारिक र ‘पहिले अमेरिका’ एजेन्डामा केन्द्रित छन् । यसै कारणले उनलाई परम्परागत कूटनीतिकर्मीभन्दा फरक शैलीको प्रतिनिधि मानिन्छ ।

गोरको नियुक्तिले अमेरिकाको दक्षिण एसिया नीतिमा फेरि शीतयुद्धकालीन सोचको पुनरागमन भएको संकेत दिएको छ ।

दशकौंसम्म अमेरिकी नीतिले भारत र पाकिस्तानलाई सन्तुलनमा राख्ने रणनीति अपनाएको थियो । तर जर्ज डब्ल्यू बुश प्रशासनले नागरिक आणविक सम्झौतामार्फत भारतलाई स्वतन्त्र रणनीतिक साझेदारका रूपमा उच्च स्थानमा राख्यो ।

गोरमार्फत ट्रम्प प्रशासनले यो प्रवृत्ति उल्ट्याउने सम्भावना देखाउँछ । उनलाई भारतका लागि राजदूत मात्र नभई दक्षिण तथा मध्य एसियाका विशेषदूतको जिम्मेवारी दिएर दुवै मुलुकलाई पुनः एउटै बास्केटमा राखेर हेरेको जस्तो देखिन्छ । यसले दक्षिण एसिया क्षेत्रलाई स्वतन्त्र साझेदारीको सट्टा सुरक्षा–केन्द्रित दृष्टिकोणबाट हेर्ने संकेत गर्छ जहाँ सम्पूर्ण चुनौतीलाई नयाँ दिल्लीबाटै नियन्त्रण गर्ने रणनीति रहन्छ ।

दक्षिण एसियाली मामिलाविज्ञ माइकल कुगेलम्यानले भनेझैं, यो कदम पाकिस्तान–भारत हाइफनेशनको पुनरागमन हो । यस दृष्टिकोणले तत्कालीन सुरक्षा र आतंकवाद नियन्त्रणलाई प्राथमिकता दिनेछ । यसको परिणामस्वरूप भारतलाई दीर्घकालीन रणनीतिक साझेदारभन्दा बढी अमेरिकी रणनीतिमा प्रयोग हुने मोहराको रूपमा हेर्ने खतरा रहन्छ ।

यसरी हेर्दा भारतलाई स्वतन्त्र शक्ति नभई चीनविरुद्धको अमेरिकी रणनीतिमा सबैभन्दा महत्त्वपूर्ण हिस्सा मानिएको छ ।
गोरको जन्म उजबेकिस्तानमा भएको थियो । उनको पृष्ठभूमि पनि यस क्षेत्रमा जोडिएकाले यस नियुक्तिलाई थप प्रतीकात्मक बनाएको छ ।

गोरलाई दिइएको दोहोरो जिम्मेवारीले उनी राष्ट्रपतिको प्रत्यक्ष सन्देश भारतीय नेतृत्वसम्म पु‍र्याउने प्रमुख माध्यम बन्ने संकेत दिएको छ । यसले भारत र अमेरिकाबीच चलिरहेको व्यापार विवाद, भन्सार शुल्क तथा भारतले रुसबाट गरिरहेको ऊर्जा आयात जस्ता संवेदनशील मुद्दामा अमेरिकाको कठोर सन्देश प्रवाहित गर्ने अवसर दिन्छ ।

गोरले दुईवटा मिशन पूरा गर्ने देखिन्छ । पहिलो, भारतलाई अमेरिकी रणनीतिक लक्ष्यहरूसँग पूर्ण रूपमा मेल खाने बनाउने र दोस्रो, पहिले अमेरिका एजेन्डा अनुसार व्यापार लाभ सुनिश्चित गर्ने । यसले सिधा, व्यावहारिक तर प्रायः विनिमयात्मक कूटनीतिक शैलीलाई अघि बढाउनेछ । भारतलाई अमेरिकाको पक्षमा ल्याउनका लागि गोरले भरपूर कोसिस गर्नेछन् ।

सर्जियो गोरको मनोनयन परम्परागत कूटनीतिक औपचारिकता मात्र नभई राजनीतिक रूपमा वफादार व्यक्तिलाई महत्त्वपूर्ण क्षेत्रको नियन्त्रण सुम्पने योजनाबद्ध कदम हो । उनलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि उनको कार्यकाल शीतयुद्धकालीन सोचमा आधारित, प्रत्यक्ष र व्यावहारिक शैलीले चिनिनेछ ।

अमेरिकाले यसमार्फत आफ्ना स्वार्थलाई प्राथमिकता दिनेछ र भारतलाई अमेरिकी दृष्टिकोणअनुसार ढाल्ने प्रयास गर्नेछ ।

कूटनीतिक निपुणताभन्दा बढी भारतलाई अमेरिकाको नयाँ दक्षिण एसियाली दृष्टिकोणमा पूर्ण रूपमा सहभागी बनाउन सक्ने क्षमताबाट उनको सफलताको मूल्यांकन हुनेछ ।