जीवी राईका जेठान अदालतमा हाजिर


कास्की । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन सहकारी ठगी मुद्दामा आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका छन् ।

न्यायाधीश शंकरकुमार राईको इजलासमा उपस्थित बमजनले आफू ठगीमा संलग्न नभएको बयान दिएका छन् । उनी ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईका जेठान समेत हुन् । बमजनकै पहलमा राई सहकारीमा प्रवेश गरी अध्यक्ष बनेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्रअनुसार बमजनले अध्यक्ष हुँदा १ करोड ५४ लाखभन्दा बढी रकम अपचलन गरेको तथा सहकारीबाट भएको १ अर्ब ५१ करोड रुपियाँको अपचलनमा समेत संलग्न रहेको आरोप छ ।

सहकारी पीडितले भने फरार प्रतिवादी बमजन अदालतमा उपस्थित हुँदा आफूलाई जानकारी नगराइएको भन्दै असन्तुष्टि जनाएका छन् । संघर्ष समितिका संयोजक किरण श्रेष्ठले पीडितको पक्ष राख्न खोज्दा इजलासमै प्रहरीले हस्तक्षेप गरेको दाबी गरेका छन् ।

अदालतमा बमजन पक्षका कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए भने पीडितका तर्फबाट युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए ।