बैंकको घट्दो ब्याजदरको लाभ लघुवित्तमा, कोषको लागत घट्दा अधिकांशको नाफा बढ्यो


काठमाडौं । बैंकहरूको घटेको ब्याजदरको लाभ लघुवित्तको वित्तीय विवरणमा देखिएको छ । गत आर्थिक वर्षमा अधिकांश लघुवित्तको नाफा वृद्धि भएको छ । सञ्चालनमा रहेका ५२ लघुवित्तमध्ये सुपर लघुवित्तलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको छ ।

५१ लघुवित्तको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा ६८.२३ प्रतिशतले वृद्धि भएर ८ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तहरूको नाफा ५ अर्ब ७६ लाख रुपैयाँ थियो।

व्यवसाय खासै नबढे पनि, वाणिज्य बैंकहरूबाट लिने थोक कर्जा सापटीको ब्याजदर घटेसँगै ५१ वटै लघुवित्तको कोषको लागत (कस्ट अफ फण्ड) घटेको छ । लघुवित्तको कोषको लागत घटेपनि ऋणीसँग लिने ब्याजदर भने १५ प्रतिशत यथावत हुँदा, लघुवित्तको खुद ब्याज आम्दानी उल्लेख्य रुपमा बढेको छ ।

यस्तै, राष्ट्र बैंकले कर्जा पुनरसंरचना/पुनरतालिकिकरणको सुविधा दिएको कारण कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । जसले गर्दा लघुवित्तहरूको नाफा उल्लेख्य रुपमा बढेको हो ।

गत आर्थिक वर्षमा लघुवित्तहरूले लगानी गरेको कर्जा ६.९७ प्रतिशतले बढेर ४ खर्ब ७० अर्ब ४० करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तको कर्जा लगानी ४ खर्ब ३९ अर्ब ७६ करोड ३३ लाख रुपैयाँ रहेकोमा, गत आर्थिक वर्षमा बढेको हो । कर्जा करिब ७ प्रतिशतले मात्रै वृद्धि हुँदा पनि खुद ब्याज आम्दानी भने २४.०७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ५१ लघुवित्तहरूको खुद ब्याज आम्दानी ३१ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २५ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

केही लघुवित्त संस्थाहरूको कोषको लागत ४ प्रतिशत बिन्दुसम्म घटेको छ । नेपाल राष्ट्र बैंकले निर्धन उत्थान लघुवित्त र छिमेक लघुवित्तलाई निक्षेप लिन सक्ने सुविधा दिएको छ । अन्य लघुवित्तहरूले भने सदस्यहरूको आवधिक बचत मात्रै लिन पाउँछन् । यस्तो बचतमा दिने ब्याज, कर्जामा लिने अधिकतम ब्याजदरको कम्तिमा ५० प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

गत आर्थिक वर्षसम्म आउँदा कर्जा लगानीमा छिमेक अगाडि रहेको छ भने साना किसान दोस्रो र जीवन विकास लघुवित्त तेस्रो स्थानमा छन् । छिमेकको कर्जा लगानी १२.६१ प्रतिशतले बढेर ३९ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । लघुवित्तले ३९ अर्ब ४३ करोड बचत संकलन र ३ अर्ब सापटी लिएको छ । लघुवित्तको बचत १६.९० प्रतिशतले बढेको छ भने सापटी २९.७१ प्रतिशतले घटेको छ ।

वासलताका आधारमा ठूला ५ लघुवित्तमध्ये डेप्रोक्सको मात्रै सापटी बढेको छ । साना किसान लघुवित्तको कर्जा १०.११ प्रतिशतले घटेर ३४ अर्ब २६ करोड ७२ लाख रुपैयाँमा झरेको छ । जीवन विकास लघुवित्तको कर्जा ५.५६ प्रतिशतले बढेर २७ अर्ब ३१ करोड पुगेको छ । बचत १२ अर्ब ३१ करोड र सापटी १० अर्ब ९४ करोड रहेको छ । बचत १६.८२ प्रतिशतले बढ्दा सापटी ७.८७ प्रतिशतले घटेको हो ।

डेप्रोक्सको कुल कर्जा ९.२९ प्रतिशतले बढेर २५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बचत १४.७५ प्रतिशतले बढेर ११ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सापटी १.८८ प्रतिशतले बढेर ११ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

निर्धन उत्थान लघुवित्तको कुल कर्जा १.७७ प्रतिशतले बढेर २४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । बचत ३.१८ प्रतिशतले बढेर २० अर्ब ८३ करोड पुगेको छ भने सापटी ६५.७५ प्रतिशतले घटेर ९८ करोडमा झरेको छ ।

गत आर्थिक वर्षमा कर्जा लगानीको स्रोतका लागि सदस्यको बचतभन्दा बैंक तथा वित्तीय संस्थाबाट लिने सापटीमा निर्भर लघुवित्तको कोषको लागत तुलनात्मक रूपमा कम छ । लघुवित्तले कर्जामा लिन पाउने अधिकतम ब्याजदर १५ प्रतिशत रहेकोले, त्यसको ५० प्रतिशत हुने ७.५ प्रतिशत बचतमा ब्याजदर दिनुपर्ने हुन्छ ।

सापटीभन्दा बचत बढी भएका संस्थाहरूमा वाणिज्य बैंकको आधारदर ६ प्रतिशत बिन्दु तल झरेको छ । अधिक तरलता भएर ब्याजदर घटेको अवस्थामा, लघुवित्तले थप वार्गेनिङ गर्ने अवसर पाउँदा आधारदरमा नै थोक कर्जा लगानी गर्ने अवस्था बनेको छ । जसले गर्दा कोषको लागत ६ प्रतिशत बिन्दुसम्म घटेको छ । सोही कारण व्यवसाय ७ प्रतिशतभन्दा कमले बढ्दा पनि खुद ब्याज आम्दानी २४ प्रतिशतभन्दा माथि बढेको हो ।

गत आर्थिक वर्षमा छिमेक लघुवित्तको खुद ब्याज आम्दानी ०.८४ प्रतिशतले घटेर २ अर्ब ८१ करोड ९५ लाख रुपैयाँमा झरेको छ । जीवन विकास लघुवित्तको खुद ब्याज आम्दानी ४२.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ । स्वावलम्बन लघुवित्तको खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले बढेर १ अर्ब ८३ करोड ७४ लाख, डेप्रोक्स लघुवित्तको खुद ब्याज आम्दानी २४.४६ प्रतिशतले बढेर १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

साना किसान लघुवित्त र निर्धन उत्थान लघुवित्तको खुद ब्याज आम्दानी घटेको छ । साना किसान लघुवित्तको खुद ब्याज आम्दानी १७.७५ प्रतिशतले घटेर १ अर्ब ७९ करोड ५० लाख रुपैयाँमा झरेको छ । निर्धन उत्थान लघुवित्तको खुद ब्याज आम्दानी ७.९३ प्रतिशतले घटेर १ अर्ब ७६ करोड ६२ लाख रुपैयाँमा झरेको छ ।

राष्ट्र बैंकले दिएको कर्जा पुनरसंरचना/पुनरतालिकिकरणको सुविधाले गर्दा कर्जा नोक्सानी व्यवस्थापनी पनि घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याइएकोमा, गत आर्थिक वर्षमा ९.८५ प्रतिशतले घटेर ३ अर्ब ९५ करोड ६० लाख रुपैयाँमा झरेको छ ।

नाफा बढेसँगै लघुवित्तहरूको लाभांश बाँड्नसक्ने क्षमतामा पनि उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न रोक लगाएको छ । यसरी विगतको सञ्चित नाफा समेत कुल वितरणयोग्य नाफा अर्थात् सञ्चित नाफा ८ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

सुपर लघुवित्त बाहेकका ५१ मध्ये ३ वटा लघुवित्तले गत आर्थिक वर्षमा नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेका छन् । सबैभन्दा धेरै नोक्सानी एनआईसी एशिया लघुवित्तमा छ, जसको घाटा ४४ करोड ८७ लाख रुपैयाँ छ । मातृभूमि लघुवित्तको घाटा ५ करोड ७९ लाख र नेस्डो समृद्धि लघुवित्तको १ करोड २१ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षमा छिमेक लघुवित्तले सबैभन्दा धेरै नाफा कमाएको छ । छिमेकको नाफा २८.४३ प्रतिशतले बढेर १ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ । साना किसान लघुवित्तको नाफा ४.६९ प्रतिशतले घटेर ८७ करोड ८७ लाख रुपैयाँमा झरेको छ । निर्धन उत्थान लघुवित्तको नाफा २१४ प्रतिशतले बढेर ८३ करोड ६१ लाख, जीवन विकास लघुवित्तको नाफा २५२.४७ प्रतिशतले बढेर ७४ करोड ४ लाख र डेप्रोक्स लघुवित्तको नाफा ३३२ प्रतिशतले बढेर ६९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

५१ मध्ये ७ लघुवित्त सञ्चित नोक्सानीमा रहेका कारण लाभांश दिन नसक्ने अवस्थामा छन् । नेपाल ग्रामीण विकास लघुवित्त, एनआईसी एशिया लघुवित्त, वीन नेपाल लघुवित्त, अभियान लघुवित्त, मातृभूमि लघुवित्त, सामुदायिक लघुवित्त र नाडेप लघुवित्तले लाभांश वितरण गर्न सक्दैनन् । बाह्य लेखापरीक्षण र राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्दा थप कर्जा नोक्सानी व्यवस्था गर्न नपरेमा २७ लघुवित्तले दोहोरो अंकमा लाभांश दिनसक्ने क्षमता राख्छन् ।

वितरणयोग्य नाफा सबैभन्दा धेरै २ अर्ब ८ करोड ४८ लाख रुपैयाँ छ । साना किसान लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड, जीवन विकास लघुवित्तको ९५ करोड ८६ लाख र निर्धन उत्थान लघुवित्तको ७९ करोड १६ लाख रुपैयाँ छ ।

छिमेक, जीवन विकास, नेस्डो समृद्धि लघुवित्तको लाभांश क्षमता ५० प्रतिशतभन्दा माथि छ । छिमेकको ६४.८४ प्रतिशत, जीवन विकास लघुवित्तको ६२.४० प्रतिशत र नेस्डो समृद्धि लघुवित्तको ५८.०४ प्रतिशत लाभांश क्षमता छ । युनिक नेपाल लघुवित्तको ४६.०२ प्रतिशत र साना किसान लघुवित्तको ४२.६७ प्रतिशत छ ।

धौलागिरी लघुवित्त सामान्य सञ्चित नाफामा भएपनि लाभांश क्षमता १ प्रतिशतभन्दा कम छ । लक्ष्मी लघुवित्तको लाभांश क्षमता ४.१९ प्रतिशत, विजय लघुवित्तको ५.१२ प्रतिशत छ ।

नाफा बढेसँगै अधिकांश लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी समाज लघुवित्तको ६२ रुपैयाँ १० पैसा छ । जीवन विकास लघुवित्तको ४८ रुपैयाँ २० पैसा, स्वाभिमान लघुवित्तको ४७ रुपैयाँ १५ पैसा, सिभाइस नेपाल लघुवित्तको ४४ रुपैयाँ ९ पैसा छ ।

७ लघुवित्तको निष्क्रिय कर्जा दोहोरो अंकमा पुगेको छ । नेस्डो समृद्धि लघुवित्तको निष्क्रिय कर्जा २१.०६ प्रतिशत, एनआईसी एशिया लघुवित्त १६.९९ प्रतिशत, नाडेप लघुवित्त १४.१४ प्रतिशत, आत्मनिर्भर लघुवित्त १२.८० प्रतिशत, युनिक नेपाल लघुवित्त १२.२१ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्त ११.३२ प्रतिशत र लक्ष्मी लघुवित्त १०.३० प्रतिशत पुगेको छ ।

सर्वोच्च रूपमा सबै लघुवित्तको कोषको लागत घटेको छ । साना विकासन लघुवित्तको कोषको लागत ३.१४ प्रतिशत, आरएसडिसी लघुवित्त ६.१७ प्रतिशत, फस्ट माइक्रोफाइनान्स ६.२२ प्रतिशत, स्वाभिमान लघुवित्त ६.२५ प्रतिशत, मेरो माइक्रोफाइनान्स ६.३६ प्रतिशत, नेरुडे मिर्मिरे ६.३६ प्रतिशत, नेस्डो समृद्धि ९.२१ प्रतिशत, फर्वार्ड ८.५७ प्रतिशत, युनिक नेपाल ८.५२ प्रतिशत, सम्पदा ८.४४ प्रतिशत, निर्धन उत्थान ८.२३ प्रतिशत, छिमेक ८.२१ प्रतिशत र जीवन विकास ८.१८ प्रतिशत रहेको छ ।