मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

21
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरूलाई आह्वान गरेको छ ।

राष्ट्र बैंकले लगानी गर्ने कुल रकममध्ये वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने जानकारी दिएको छ ।

राष्ट्र बैंकले भदौ २६ गतेबाट मुद्दती निक्षेपमा गर्ने यो लगानी ३६६ दिनका लागि हुनेछ । उक्त प्रस्ताव अन्तर्गत, वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूले तोकिएको रकमको लागि प्रतिष्पर्धात्मक प्रस्ताव पेश गर्न सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाहरूका लागि तोकिएका त्यस्ता शर्तहरूमा प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित सूचना तथा यसमा उल्लेख गरिएका सम्पूर्ण शर्तहरू पूरा गर्नुपर्ने उल्लेख छ ।