गाडीमा कर्जा दिनुअघि ब्रान्डको बिक्रीपछिको सेवा पनि हेर्छौं: सीईओ गुरुङ

189
Shares

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले सवारीसाधनमा कर्जा प्रवाह गर्नुअघि बैंकले त्यसको ब्रान्ड, बजारमा त्यसको स्वीकार्यता र बिक्रीपछिको सेवा जस्ता पक्षलाई मसिनोसँग केलाउने गरेको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंकले लगानी गर्ने रकम सर्वसाधारणको निक्षेप भएकाले त्यसको सुरक्षा सुनिश्चित गर्न यस्तो विश्लेषण अनिवार्य भएको स्पष्ट पारे ।
‘पेट्रोल र डिजेल गाडीको तुलनामा विद्युतीय सवारी (ईभी) को कर्जा माग बढिरहेको छ । हामीले विशेषगरी ईभी गाडीहरू कुन देशबाट आएको हो, आयातकर्ता को हो, बिक्रीपछिको सेवाको योजना के छ, र बजारमा त्यसको स्वीकार्यता कस्तो छ भनेर गहिरो अध्ययन गर्छौं,’ उनले भने, ‘गाडी आयातकर्ता तथा बिक्रेताहरूले बैंकलाई यी पक्षमा आश्वस्त पार्न सके मात्र कर्जा प्रवाह सहज हुन्छ ।’

उनले सजिलो फाइनान्सको अपेक्षा राख्नेले यी प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने बताए । ब्रान्ड भनेको नाम मात्र नभएर ग्राहकको विश्वास र धारणासँग जोडिएको विषय उनको भनाइ छ ।

‘यदि कुनै ब्रान्डलाई बजारले स्वीकार्न गाह्रो मानिरहेको छ भन्ने सङ्केत पाएमा, हामी त्यसमा लगानी गर्न हिचकिचाउँछौँ,’ उनले भने, ‘गाडीको पुनर्विक्री मूल्य, बिक्रीपछिको सेवा र सर्वसाधारणको धारणाले कर्जा निर्णयमा ठूलो प्रभाव पार्छ।’

उनले व्यावसायिक र निजी गाडीको कर्जा विश्लेषणमा केही भिन्नता रहेको पनि औंल्याए। व्यावसायिक गाडीमा ब्रान्ड र त्यसले आम्दानी गर्न सक्ने क्षमतालाई बढी प्राथमिकता दिइन्छ भने निजी गाडीमा व्यक्तिको आम्दानीको स्रोत र कर्जा तिर्न सक्ने क्षमतालाई मुख्य आधार बनाइन्छ।

‘व्यावसायिक गाडीमा हामी ब्रान्डप्रति बढी सचेत हुन्छौँ किनकि त्यसले प्रत्यक्ष आम्दानी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, निजी गाडीमा व्यक्तिको आम्दानी स्रोत बलियो छ भने नयाँ ब्रान्डमा पनि लगानी गर्न सकिन्छ, किनकि त्यहाँ व्यक्तिको तिर्न सक्ने क्षमता मुख्य हुन्छ ।’ उनले गाडी बिक्रेताहरूलाई आफ्नो उत्पादन, सेवा र योजनाबारे पारदर्शी भई वित्तीय संस्थाहरूको विश्वास जित्न आग्रह गरे ।