राष्ट्र बैंकले पोलिसी रेट घटाएपछि भदौका लागि पनि बैंकहरूले घटाए ब्याजदर


काठमाडौं । बैंकहरूले निक्षेपको ब्याजदर झनै घटाएका छन् । वाणिज्य बैंकहरूले भदौका लागि प्रकाशन गरेको नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१८ प्रतिशत बिन्दुले कम भएको हो ।

२० वाणिज्य बैंकहरूमध्ये ८ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । १२ वटाले यथावत राखेका छन् ।

प्रकाशित ब्याजदरअनुसार, साउनका लागि ब्याजदर बढाएको स्ट्यान्डर्ड चार्टर्डले भदौका लागि सबैभन्दा धेरै घटाएको हो ।

छोटो अवधिको मुद्दती निक्षेपमा सबैजसो बैंकहरूको ब्याजदर ५ प्रतिशतभन्दा तल रहेको देखिन्छ । २ वर्षभन्दा बढी अवधिको निक्षेपमा भने बैंकहरूले न्यूनतम ५ देखि अधिकतम ६.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

सबैभन्दा धेरै आधारदर भएको एनआईसी एशिया बैंकले भदौमा ५ वर्ष वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२५ प्रतिशत ब्याजदर दिने भएको हो ।

एनएमबिले ५ वर्ष वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिँदा ग्लोबल आईएमई र माछापुच्छ्रे बैंकले ३ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिने भएका छन् । यस्तै, प्राइमले २ वर्षमाथिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर प्रस्ताव गर्दा हिमालयनले ५ देखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिने भएको हो । यी ५ वटै बैंकले साउनको भन्दा भदौमा मुद्दती निक्षेपको अधिकतम ब्याजदर परिवर्तन गरेका छैनन् ।

एभरेष्टले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले साउनमा ६.२५ प्रतिशत ब्याजदर दिएकोमा भदौका लागि ०.५ प्रतिशत बिन्दुले घटाएर ५ वर्षमाथिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर दिने भएको हो ।

सानिमाले पनि साउनको ६.१८ प्रतिशतबाट ०.४३ प्रतिशत बिन्दुले घटाएर ५.७५ प्रतिशत बनाएको छ । ५ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याज पाइने बैंकले जनाएको छ । नबिलले ५ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याजदर दिँदा राष्ट्रिय वाणिज्य बैंकले २ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याजदर दिने भएको हो ।

सिटिजन्सले पनि २ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याज दिनेछ । ३ वटै बैंकको साउनमा पनि अधिकतम ब्याजदर ५.५ प्रतिशत नै थियो ।

सिद्धार्थ बैंकले भने साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा ५.५७ प्रतिशत रहेको ब्याज भदौमा ०.२५ प्रतिशत बिन्दुले घटाएर २ वर्षभन्दा बढी अवधिका लागि ५.५ प्रतिशत ब्याजदर दिने भएको छ ।

नेपाल बैंकले ५ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.४ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । साउनको भन्दा बैंकले ब्याजदर परिवर्तन गरेको छैन । प्रभुले साउनको भन्दा ब्याजदर परिवर्तन गरेको छैन । साउनमा ४.३५ प्रतिशत प्रकाशित गरेकोमा भदौमा पनि १० वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले ५.३५ प्रतिशत नै ब्याजदर दिने भएको हो ।

नेपाल एसबिआई बैंकले साउनमा ५.३५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भदौमा ०.१ प्रतिशत बिन्दुले घटाएर ५.२५ प्रतिशत बनाएको छ । ३ वर्षभन्दा माथिको निक्षेपमा उक्त ब्याज पाइनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत यथावत छ । २ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याज पाइनेछ । कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटाएर ५.२१ प्रतिशत बनाएको छ । २ वर्षभन्दा माथिको निक्षेपमा उक्त ब्याज पाइनेछ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.२६ प्रतिशतबाट १.१३ प्रतिशत बिन्दुले घटाएर ५.१३ प्रतिशतमा झारेको छ । ५ वर्षभन्दा माथिको निक्षेपमा बैंकमा उक्त ब्याजदर पाइनेछ ।

लक्ष्मी सनराइज बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशतबाट ०.५ प्रतिशत बिन्दुले घटाएर ५ प्रतिशत बनाएको छ । ५ वर्षभन्दा माथिको निक्षेपमा बैंकमा उक्त ब्याज पाइनेछ ।

गत असारमा ल्याएको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरका सबै दर घटाएसँगै बैंकहरूले साउनका लागि ब्याजदर घटाएका थिए । भदौमा पनि थप घट्ने क्रम देखिएको हो । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले बैंकदरलाई ६.५ प्रतिशतबाट ६ मा, नीतिगत दरलाई ५ बाट ४.५ मा र निक्षेप संकलन दरलाई ३ बाट २.७५ प्रतिशतमा झारेको थियो ।

फ्लोर रेटको रुपमा रहेको निक्षेप संकलन दर घटाएसँगै बैंकहरूले बचतको न्यूनतम ब्याजदर पनि साउनबाट नै सोही अनुसार घटाएका छन् । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको राष्ट्र बैंकले त्यसभन्दा तल बचतको ब्याजदर घटाएमा उक्त सुविधा लिन पाउँदैनन् । सोही कारण निक्षेप संकलन दर ३ प्रतिशत हुँदा बचतको न्यूनतम ब्याजदर पनि ३ प्रतिशतभन्दा तल झरेको थियो । तर, केन्द्रीय बैंकले पोलिसी रेट नै घटाएर बैंकहरूलाई ब्याजदर थप घटाउने बाटो दिएको हो ।

बचतको ब्याजदरसँगै बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर पनि घटाएका छन् । २ वाणिज्य बैंकको आधारदर ५ प्रतिशतभन्दा तल झरिसकेको अवस्था छ । अझै थप ब्याजदर घट्दा कर्जा अझ सस्तो हुने देखिन्छ ।