
काठमाडौं । रोलेक्स संसारको लोकप्रिय घडीमध्ये एक हो । यसको रोचक इतिहासलाई यहाँ पस्किने जमर्को गरिँदैछ ।
रोलेक्सको इतिहास यसका संस्थापक हान्स विल्सडोर्फको दूरदृष्टिसँग जोडिएको छ ।
सन् १८८१ मा जर्मनीमा जन्मिएका हान्स सन् १९०० मा स्विटजरल्यानड गएर घडी कम्पनीमा मजदूरी गर्न थालेका थिए । काम सिकेपछि सन् १९०३ मा लन्डन सरेका हान्सले २४ वर्षको उमेरमा आफ्ना साला आल्फ्रेड डेभिससँग मिलेर विल्सफोर्ड यान्ड डेभिस नामक घडी कम्पनी खोलेका थिए । त्यो घडी गोजीमा बोकेर हिँड्न मिल्ने र चेन भएको टाइमपीस थियो ।
टाइमपीस बेच्दै गर्दा हान्सले नाडीमा लगाउने घडीको सपना देख्न थाले । त्यतिखेर नाडी घडी चलनमा आइसकेको त थियो तर त्यसले सही समय बताउँदैनथियो । हान्सले त्यस्तो नाडी घडी सुन्दर मात्र नभई भरपर्दो पनि हुने पूर्वानुमान गर्न थाले ।
जनतालाई आफ्नो नयाँ घडीको विश्वसनीयताका बारेमा विश्वास दिलाउन उनले स्विट्जरल्यान्डको एक घडी कम्पनीले बनाएको घडीको सटीक चाललाई अनुकरण गरे ।
त्यस नाडी घडीका लागि कस्तो नाम जुराउने भनी उनले विचार गर्न थाले । उनले वर्णमालामा भएका सबै अक्षरलाई विभिन्न तरिकाले संयोजन गरे । त्यसो गर्दा उनलाई १०० वटा जति नाम प्राप्त भयो । तर, ती कुनै पनि नाम उनलाई जँचेन । एकदिन लन्डनको चीपसाइड भन्ने ठाउँमा बग्गीमा जाँदै गर्दा उनलाई रोलेक्स भन्ने नाम फुर्यो । एउटा जिनीले आएर कानमा रोलेक्स भनेको उनले आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।

रोलेक्सले घडीको चालको गुणस्तरमा ध्यान दियो । सही समय बताउने गरी घडीको चाल मिलाउनका लागि रोलेक्सले लगातार प्रयास गरिरह्यो । सन् १९१० मा स्विट्जरल्यान्डमा रहेको आधिकारिक घडी रेटिङ केन्द्रले रोलेक्सलाई सही समय दिने संसारकै पहिलो नाडी घडीका रूपमा पहिचान दिँदै स्विस सर्टिफिकेट अफ क्रोनोमेट्रिक प्रिसिजनको प्रमाणपत्र दियो ।
त्यसको चार वर्षपछि सन् १९१४ मा बेलायतको क्यु अब्जर्भेटरी नामक संस्थाले रोलेक्सलाई ‘क’ दर्जाको नाडी घडी भनी पुरस्कृत ग¥यो । सही समय देखाउने सवालमा समुद्रभित्र पनि चल्ने मरिन क्रोनोमिटरले मात्र त्यस्तो उपाधि पाएको थियो । उक्त पहिचानपछि रोलेक्सको नाडी घडी सटीक समय देखाउने घडीका रूपमा स्थापित भयो ।
त्यसपछि रोलेक्स कम्पनी स्विटजरल्यान्डको जेनेभामा सर्यो । त्यो शहर घडी बनाउनका लागि अन्तर्राष्ट्रिय रूपमै प्रख्यात छ । सन् १९२० मा मोंत्रेस रोलेक्स एस.ए. नामबाट कम्पनी दर्ता भयो ।

सन् १९२६ मा रोलेक्सले पहिलोपटक वाटरप्रूफ र डस्टप्रूफ नाडी घडी बनायो । ओइस्टर नाम दिइएको यो घडीलाई हावा पनि नछिर्ने खोलमा राखिएको थियो र त्यसले घडीको चाललाई अधिकतम सुरक्षा दिन्थ्यो ।
तर, घडीलाई पानीले पनि कुनै असर नगर्ने भनी दाबी गर्नु एउटा कुरा भयो । त्यसलाई संसारसामु प्रमाणित गर्नु चुनौतीपूर्ण थियो । सन् १९२७ मा बेलायतका पौडीखेलाडी मर्सिडिन ग्लाइजले रोलेक्सको ओइस्टर घडी लगाएर (बेलायत र फ्रान्सको बीचमा रहेको जलक्षेत्र) इंग्लिश च्यानल पौडेर पार गरे । १० घन्टाको यो पौडीका दौरान घडी मज्जाले चलिरहेको थियो ।

इंग्लिश च्यानल सफलतापूर्वक पार गरेको घटनालाई रोलेक्सले द डेली मेलको पहिलो पृष्ठमा विज्ञापन बनाएर छपायो । वाटरप्रूफ घडीको सफलताको कथाले टेस्टीमोनी भन्ने अवधारणालाई जन्म दियो । त्यो भनेको कुनै प्रख्यात व्यक्तिले कुनै कम्पनीको ब्रान्ड एम्बेसडर बन्ने काम हो ।
सन् १९३१ मा रोलेक्सले संसारकै पहिलो स्वतः चलिरहने घडीको आविष्कार गर्दै त्यसलाई पेटेन्टमा दर्ता गरायो । त्यसमा पर्पेचुअल भन्ने रोटर राखिएको थियो जसले घडीका डायलहरूलाई चलाइरहन्थ्यो । आजकल पाइने सबै स्वचालित घडीहरूमा यही सिस्टम लागू हुन्छ ।

त्यही वर्ष पहिलोपटक सगरमाथामाथि विमान उडाइयो । ती विमानका कर्मचारीहरूले रोलेक्स ओइस्टर घडी लगाएका थिए । उनीहरू घडीको सटीकताबाट सन्तुष्ट थिए ।
आफ्नो ब्रान्डलाई थप चम्काउने क्रममा रोलेक्सले त्यतिखेरका सबभन्दा द्रुत गतिका गाडी चालक सर माल्कम क्याम्पबेललाई घडी लगाएर गाडी चलाउन अनुरोध गर्यो । सन् १९३५ को सेप्टेम्बर ४ मा ब्लुबर्ड गाडीमा रोलेक्स घडी लगाएर क्याम्बेलले अमेरिकाको युटाह राज्यको बोनभिल सल्ट फ्ल्याट्समा ४८५ किलोमिटर प्रतिघन्टाको गतिमा गाडी चलाएर कीर्तिमान कायम गरे । सन् १९२४ देखि १९३५ सम्म क्याम्पबेलले नौपटक गतिको कीर्तिमान भंग गरे ।

रोलक्सले ओइस्टर घडीको परीक्षण गर्नका लागि विभिन्न क्षेत्रहरू रोजेको थियो । उसले खेलकुद, उड्डयन, मोटरकार रेसिङ र पर्वतारोहण लगायतका क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई घडी लगाउन लगायो । ती व्यक्तिहरूलाई जीवित प्रयोगशाला भनियो ।
सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारी सगरमाथाको शिखरमा पुग्दा त्यस पर्वतारोहण अभियानमा रोलेक्सले लगानी गरेको थियो । सगरमाथाको शिखरमा पुग्ने उनीहरू नै पहिलो मानव थिए ।
उक्त सफल आरोहणपछि तेन्जिङ र हिलारी दुवैले आआफ्ना परोपकारी संस्थाहरू आरम्भ गरे । हिलारीले शेर्पाहरूको शिक्षा, स्वच्छ जल र स्वास्थ्य सेवा सुनिश्चित गराउने मिशन सहित द हिमालयन ट्रस्ट खोले । त्यस्तै तेन्जिङका सन्ततिले तेन्जिङ नोर्गे शेर्पा फाउन्डेशन खोलेर खुम्बु क्षेत्रका शेर्पाको संस्कृति संरक्षण एवं प्रवर्धनमा काम गरिरहेका छन् ।

तेन्जिङ र हिलारीका कामलाई रोलेक्स कम्पनीको गैरनाफामूकल संस्था रोलेक्स पर्पेचुअल प्लानेट इनिशिएटिभले सहयोग गर्दै आएको छ । सन् २०१९ मा खोलिएको यस संस्थाले पृथ्वीको संरक्षण र संवर्धनमा काम गर्छ ।
सन् १९५३ मै रोलेक्सले सबमरिनर नामक घडी ल्याएको थियो । समुद्रको १०० मिटर गहिराइमा पनि उक्त वाटरप्रूफ घडीले गोताखोरहरूलाई सही समय देखाइदिन्छ ।
रोलेक्सको घडी अहिले त्यसभन्दा पनि निकै तलसम्म पुगेर राम्रोसँग काम गर्न सक्छ । सन् २०१२ मार्च २६ मा पृथ्वीको सबभन्दा गहिरो स्थान मारियाना ट्रेन्चमा प्रख्यात हलिउड निर्देशक जेम्स क्यामरनले गोता लगाए । त्यो ठाउँ १० हजार ९८४ मिटर गहिरो छ । उक्त अभियानका लागि रोलेक्सले क्यामरनलाई विशेष घडी उपलब्ध गराएको थियो ।

आरएलएक्स टाइटेनियम धातु उपयोग भएको यो घडी सबै किसिमका जलक्षेत्रमा राम्ररी चल्छ । गहिरा स्थानमा पनि चल्ने यस्तो घडी रोलेक्सको विशिष्ट पहिचान हो ।
सन् १९५० को दशकमा अन्तर्महादेशीय विमानयात्रा सुरु भएको थियो । त्यसपछि विमान कम्पनीहरूले विभिन्न टाइम जोनमा द्रुत गतिको यात्रा गर्ने विमान चलाउन थालेका थिए । यस्तो अवस्थामा सबै देशको समय एकैपटक जान्नु महत्त्वपूर्ण हुन गयो । यस जेट युगका लागि रोलेक्सले नयाँ घडी बजारमा ल्यायो ।

संसारका विभिन्न देशको यात्रा गरिरहने व्यावसायिकहरूका लागि जीएमटी–मास्टर घडी बनाइएको थियो । त्यो विभिन्न एयरलाइन्सको आधिकारिक घडी बन्न पुग्यो । त्यस घडीमा दिन र रातिको समय बेग्लाबेग्लै देखाउने सुविधा थियो ।
सन् १९५६ मा रोलेक्सले डे–डेट घडी ल्यायो । १८ क्यारेट सुन वा प्लाटिनममा मात्र उपलब्ध यस नाडी घडीमा दिन र वार दुवै हेर्न मिल्छ । त्यस घडीका लागि विशेष ब्रासलेट बनाइएको छ । संसारका प्रभावशाली व्यक्तिहरू यो घडी लगाउन मन पराउँछन् ।
रोलेक्सको सबभन्दा महंगो घडी सन् २०१७ मा बिकेको थियो । हलिउड अभिनेता पल न्युम्यानले लगाएको रोलेक्स डेटोना ६२३९ घडी लगभग साढे २ अर्ब रुपैयाँ (१ करोड ७८ लाख डलर) मा बिक्री भएको थियो ।







प्रतिक्रिया