
काठमाडौं । बागेश्वर ग्रुपले बारा जिल्लाको कलैयामा अर्को चिनी उद्योग निर्माण गर्ने भएको छ । सन् २०१६ देखि बागेश्वर सुगर एन्ड केमिकल इन्डष्ट्रिज उद्योगबाट ऊखु प्रशोधन गरी चिनी उत्पादन गर्दै आएको कम्पनीले शिवम् सुगर एन्ड केमिकल इन्डष्ट्रिज उद्योग निर्माण गर्ने भएको हो ।
ग्रुपले करिब एक दशकदेखि निरन्तर चिनी उत्पादन गर्दै आएको छ । चिनी उत्पादनसँगै कम्पनीले डिस्टिलरी युनिट पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै कम्पनीले अर्को उद्योग निर्माण कार्य अगाडि बढाएको छ ।
हाल उद्योगको पहिलो चरणको निर्माण कार्य भइरहेको छ । ग्रुपकाअनुसार उद्योग निर्माणका लागि ३० प्रतिशत इक्वीटीमार्फत् लगानी जुटाएको जनाएको छ । सन् २०२४ मा स्थापना भएको उक्त उद्योगले दैनिक १५ सय टन क्षमतामा ऊखु प्रशोधन गर्ने उल्लेख गरेको छ । ग्रुपले उक्त चिनी उद्योगसँगै डिस्टिलरी युनिट पनि सञ्चालनमा ल्याउने जनाएको छ ।
कम्पनीकाअनुसार चिनी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अर्थात् ऊखु स्थानीय किसानहरुबाट लिने छ । सन् २०२५ को अप्रिलसम्ममा कम्पनीमा शंकरबहादुर बोगटी, गणेशबहादुर बोगटी र क्षितिज भण्डारीको संयुक्त लगानी छन् । तीनै जनाको कम्पनीमा बराबर हिस्सा रहेको छ ।
कम्पनीले उद्योग निर्माणका लागि एक अर्ब रुपैयाँ कर्जा लिने भएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ । सरकारले चालु आर्थिक वर्षमा चिनी आयातमा भन्सार दर घटाएको छ । सरकारले चिनी आयातमा ३० प्रतिशत भन्सार दर लिँदै आएकोमा अहिले घटाएर १५ प्रतिशत कायम गरेको छ । जसले गर्दा कम्पनीको मागमा प्रभाव पर्ने उल्लेख गरेको छ ।
कम्पनीले आगामी मौसमको ऊखु प्रशोधन गर्ने तयारीसहित उद्योग निर्माण गरिरहेको जनाएको छ । कम्पनीअनुसार सन् २०२५ को डिसेम्बरसम्ममा उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको छ ।







प्रतिक्रिया