ऋणलाई प्रोभिजन गर्दा ‘बुक लस’ भन्दा ‘क्यास लस’ लाई मान्यता दिन पूर्वका उद्योगीको माग

826
Shares

विराटनगर । राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेल समक्ष विराटनगरमा उद्योगीले निजी क्षेत्रको विद्यमान आवश्यकतालाई सम्बोधन गर्न समुचित नीति एवं व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

उनीहरुले निरन्तर दुई वर्ष घाटामा देखिने उद्योगी व्यवसायीहरुको ऋण र व्याज दरमा सहजता प्रदान गर्न उनीहरुको ऋणलाई प्रोभिजन गर्दा ‘बुक लस’ भन्दा ‘क्यास लस’लाई मान्यता दिनु पर्ने तथा डेब्ट–इक्वीटी अनुपात मिलेका प्रतिष्ठानहरुको ऋणहरुलाई खराब कर्जामा वर्गीकरण नगर्न आग्रह गरेका छन् ।

बिहीबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी नेतृत्वको टोलीले गर्भनर पौडेललाई विराटनगरस्थित राष्ट्र बैंकका प्रादेशिक कार्यालयमा भेट गरी निजी क्षेत्रको हकहित एवं सम्बर्द्धनका लागि हाल राष्ट्र बैंकले व्यवस्थापन गर्नु पर्ने विषयहरु समेटी सुझाव पत्र बुझाएको थियो । टोलीमा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, वाणिज्य उपाध्यक्ष अनिल सारडा सहितउद्योगी व्यवसायीको सहभागीता थियो ।

औद्योगिक र व्यवसायिक प्रतिष्ठानहरुको हकमा उनीहरुको कारोबार तथा प्रवृत्तिका आधारमा ६० प्रतिशतसम्म चालु पुँजीकर्जा सहज रुपमा उपलब्ध गराउनु पर्ने, नेपाली निर्यातकर्ताहरुलाई प्रतिस्पर्धी बनाउन उनीहरुले आर्जन गर्ने विदेशी मुद्राको विनिमय दरमा ३ देखि ५ प्रतिशत थप रकम उपलब्ध गराउनु पर्ने, उद्योग, व्यवसाय क्षेत्रलाई बैंकिङ कारोबार गर्न बाधा नपर्ने गरी बैंकहरुको समेत वार्षिक बिदा अधिकतम १३ दिन कायम गर्नु पर्ने, नेपालको सूचना प्रविधि क्षेत्रको विकासकालागि नेपालीले पनि विश्वव्यापी अनलाइन भुक्तानी प्लेटफर्महरु (पेपल, स्क्रीलआदि) प्रयोग गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने, वित्तीय कारोबार गर्ने सहकारीहरुको अनुगमन, नियमन तथा सुपरीवेक्षण कार्यलाई अझ प्रभावकारी ढंगले अघि बढाउँदै सहकारीको कारोबारलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनु पर्ने गर्भनरलाई उद्योगी व्यवसायीले सुझाव दिएका थिए ।

गर्भनर पौडेलले उद्योगी व्यवसायिका सुझावहरु सकारात्मक र समय सापेक्ष भएको उल्लेख गर्दै त्यसकालागि आफूले गृहकार्य गरी सम्भव भएसम्म सम्बोधन गर्ने आश्वासन उद्योगी व्यवसायिलाई दिएका थिए ।