
काठमाडौं । नेपाल एसविआई बैंकले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.८६ प्रतिशतले घटेको हो । आव २०८०/८१ मा बैंकले १ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको कुल आम्दानीमा समान्य सुधार भएको छ । तर, सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन बढ्दा नाफा केही घटेको हो । खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले घटेर ५ अर्ब २६ करोड २३ लाख पुग्दा पनि खुद फि तथा कमिसन आम्दानी ७.५५ प्रतिशतले बढेर १ अर्ब २१ करोड ६२ लाख पुगेको छ । त्यस्तै नेट ट्रेडिङ आम्दानी १६ करोड २० लाख रुपैयाँबाट बढेर २८ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
यता सम्भावित कर्जा नोक्सानी व्यवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । अघिल्लो आवमा ६४ करोड ८३ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेकोमा गत आवमा बढेर १ अर्ब २ करोड ८६ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानीसँगै सञ्चालन नाफामा केही धक्का लागेको हो । बैंकको खुद सञ्चालन आम्दानी ०.४९ प्रतिशतले घटेर ५ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३.६१ प्रतिशतले घटेर २ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ छ । अघिल्लो आवमा बैंकको सञ्चालन नाफा २ अर्ब ६३ करोड २० लाख रुपैयाँ थियो ।
नाफा घटेपनि विगतको बक्यौता ब्याज पनि केही असुली हुँदा बैंकको लाभांश क्षमता भने बढेको छ । बक्यौता ब्याज उठाएर करिब १३ करोड नियामकीय जगेडाबाट सञ्चित नाफामा सारेको बैंकले गैर बैंकिङ सम्पत्ति बुक गरेको करिब २६ करोड भने नियामकिय जगेडामा थपेको छ । गत आर्थिक वर्षमा ८४ करोड ८० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकले विगतको सञ्चित नाफासहित कुल सञ्चित नाफा १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । जसबाट बैंकले ११.२९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
१० अर्ब ८९ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि १८ रुपैयाँ ३५ पैसाबाट घटेर १६ रुपैयाँ ५४ पैसा छ । त्यस्तै जगेडा कोषमा ८ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ छ । गत असारमा बैंकको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ८९ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.६० गुणा छ ।
गत आर्थिक वर्षमा बैंकले निक्षेप २४ अर्बले बढाएर १ खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा ९ अर्बले बढाएर २ खर्ब ३८ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ । कर्जा निक्षेप अनुपात ७०.७५ प्रतिशत मात्रै रहेको बैंकको अधिक तरलताको चापले गर्दा कर्जा विस्तार भएपनि खुद ब्याज आम्दानी बढ्न सकेन । गत असारमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.७४ प्रतिशत सहित कुल पुँजीकोष अनुपात १३.०३ प्रतिशत छ । निष्क्रिय कर्जा १.९६ प्रतिशतबाट ३.३२ प्रतिशतमा पुगेको छ । आधार दर ६.२९ प्रतिशतमा झरेको छ ।







प्रतिक्रिया