निष्क्रिय कर्जा र प्रोभिजन घट्दा लक्ष्मी सन्‌राइजको सबै सूचकमा प्रगति, लाभांश क्षमता १२.३४%

735
Shares

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ४०.९७ प्रतिशतले बढाएको हो । आव २०८०/८१ मा बैंकले २ अर्ब ९२ करोड ४ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढ्न नसके पनि फि तथा कमिसन आम्दानी र अन्य सञ्चालन आम्दानी उल्लेख्य बढेको छ । यस्तै सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन घटेको छ । जसले गर्दा बैंकको नाफा उल्लेख्य बढेको हो ।

खुद ब्याज आम्दानी ७.९८ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६४ लाख पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी ९.९९ प्रतिशतले बढेर २ अर्ब १८ करोड ८७ लाख पुगेको छ । त्यस्तै नेट ट्रेडिङ इन्कम पनि उल्लेख्य बढेर करिब १ अर्ब १२ करोड पुगेको छ ।

यता सम्भावित कर्जा नोक्सानी व्यवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अघिल्लो आवमा ३ अर्ब ५८ करोड ८१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेकोमा गत आवमा १ अर्ब १८ करोड २ लाख रुपैयाँ मात्रै गरेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानी १९.२२ प्रतिशतले बढेर १३ अर्ब ५० करोड ४४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कर्मचारी खर्च केही बढे पनि सञ्चालन नाफा ३८.५५ प्रतिशतले बढेर ६ अर्ब ९ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आवमा बैंकको सञ्चालन नाफा ४ अर्ब ४० करोड २० लाख रुपैयाँ थियो । बैंकले लोन राइटअफ (घाटा बुक) गर्न ४३ करोड ८ लाख गैर सञ्चालन खर्च पनि गरेको छ । जसले सञ्चालन नाफाको तुलनामा खुद नाफा बढ्न सकेन ।

नाफा बढ्दा विगतको बक्यौता ब्याज पनि केही असुली हुँदा बैंकको लाभांश क्षमता पनि बढेको छ । बक्यौता ब्याज उठाएर ७२ करोड नियामकीय जगेडाबाट सञ्चित नाफामा सारेको बैंकले गैर बैंकिङ सम्पत्ति बुक गर्दा ४ करोड रूपैयाँ नियामकीय जगेडामा थपेको छ । गत आर्थिक वर्षमा २ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकले विगतको सञ्चित नाफासहित कुल सञ्चित नाफा ३ अर्ब ५४ लाख रुपैयाँ पुगेको छ । जसबाट बैंकले १२.३४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

२४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ५९ पैसाबाट बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ । त्यस्तै जगेडा कोषमा १८ अर्ब ८ करोड ७१ लाख रुपैयाँ छ । असार मसान्तमा बैंकको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.१२ गुणा छ ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप ३८ अर्बले बढाएर ३ खर्ब ६७ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा साढे २७ अर्बले बढाएर २ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ । कर्जा निक्षेप अनुपात ७७.१५ प्रतिशत मात्रै रहेको बैंकको अधिक तरलताको चापले गर्दा कर्जा विस्तार भएपनि खुद ब्याज आम्दानी बढ्न सकेन ।

गत असारमा बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.१२ प्रतिशत सहित कुल पूँजीकोष अनुपात १२.७३ प्रतिशत छ । निष्कृय कर्जा ४.६३ प्रतिशतबाट ४.२५ प्रतिशतमा घटेको छ । खुद निष्कृय कर्जा १.०५ प्रतिशत छ । आधार दर ६.५० प्रतिशतमा झरेको छ ।