
काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट उपाध्यक्ष ढकाल बोर्डको सञ्चालकमा नियुक्त भएका हुन् ।
यसअघि उद्योग वाणिज्य महासंघबाट महानिर्देशक गोकर्ण अवस्थी* निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालकमा गएका थिए । उनलाई महासंघले फिर्ता बोलाएपछि उक्त पद खाली थियो ।
नवनियुक्त सञ्चालक ढकाललाई बुधबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
उद्योग व्यवसायमा चार दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहेका ढकाल नेपालको वित्तीय क्षेत्रमा समेत ३ दशकदेखि सक्रिय रहँदै आएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघबाट एसोसिएट उपाध्यक्ष बोर्डमा जाने अभ्यास थियो । महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल एसोसिएट उपाध्यक्ष हुँदा बोर्ड सञ्चालक समिति सदस्यमा प्रतिनिधित्व गरेका थिए । उनी महासंघका वरिष्ठ उपाध्यक्ष बनेपछि पनि आफैं बोर्डको सञ्चालक थिए । त्यसपछि अध्यक्ष बनेपछि उनले सुरूमा अञ्जन श्रेष्ठ र पछि सुरकृष्ण वैद्यलाई सञ्चालकका रूपमा पठाएका थिए । धितोपत्र बोर्ड ऐन संशोधन विधेयक संसदमा दर्ता भएपछि महासंघबाट महानिर्देशक अवस्थीलाई बोर्डको सञ्चालक बनाइएको थियो ।
बोर्डको सञ्चालक समिति सदस्यबाट महासंघले अवस्थीलाई असारको दोस्रो साता फिर्ता बोलाएको थियो । त्यसयता बोर्डमा महासंघको प्रतिनिधित्व थिएन । नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने प्रक्रियाले तीब्रता पाउँदा महासंघले आफ्ना प्रतिनिधि फिर्ता बोलाएको थियो । महासंघका महानिर्देशक तथा पूर्वआर्थिक पत्रकार अवस्थी २०८१ भदौमा नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य बनेका थिए ।
*यसअघि अन्यथा भएकामा सच्याइएको छ ।-सम्पादक








प्रतिक्रिया