
काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २२.१५ प्रतिशतले बढाएको हो ।
आव २०८०/८१ मा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ नाफा गरेको हिमालयनले नाफा उल्लेख्य रुपमा बढाउन सक्नुको कारण हो, सम्भावित नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था अर्थात् प्रोभिजनिङमा कमी । प्रोभिजन घटे पनि बैंकले राइट अफ (घाटा बुक) गर्दा नाफामा ठूलो वृद्धि भएर विगतको सञ्चित घाटा उल्लेख घटेको देखिएन ।
बैंकले आव २०८१/८२ मा १० अर्ब ४५ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब १५ करोड १४ लाख रुपैयाँ रहेको छ ।
यता १ अर्ब १५ करोड १५ लाख रुपैयाँ नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङ गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड ७७ लाख रहेको बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेको हो ।
बैंकको अघिल्लो आवमा खुद फि तथा कमिसन आम्दानी र नोक्सानी व्यवस्था क्रमशः १ अर्ब ३ करोड ८६ लाख र ५ अर्ब २६ करोड ६० लाख थियो।
करिब ८६ करोड नेट ट्रेडिङ इन्कम र अदर अपरेटिङ इन्कमसहित बैंकले २०८१/८२ मा १० अर्ब ९८ करोड ६३ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ। गत आव यस्तो आम्दानी ७ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ थियो ।
बैंकको खर्चमा कर्मचारी खर्च उल्लेख्य बढेको छ भने करिब ३ अर्ब ३६ करोड ३४ रुपैयाँ गैरसञ्चालन खर्च देखिएको छ । यो खर्च राइट अफ (मिनाहा) गरिएको कर्जा हो । अघिल्लो आवमा यस्तो खर्च १ अर्ब १२ करोड ४३ लाख रुपैयाँमात्र थियो।
नाफा उल्लेख्य बढ्दा हिमालयनको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । २०८१ असार मसान्तसम्म ५ रुपैयाँ ७२ पैसा रहेको ईपीएस २०८२ असारमा ६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
यता बक्यौता ब्याज उठाएर २ अर्ब ३ करोड ९८ लाख रुपैयाँ रकम नियामकीय जगेडाबाट फिर्ता गरेको बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेर १ अर्ब २९ करोड ७९ लाख रुपैयाँ सो कोषमा थप गरेको छ ।
यस्तै डिफर्ड ट्याक्स रिकग्नाइजको ४३ करोड ७८ लाख र एक्चुरियल लसको २४ करोड ५७ लाख रूपैयाँ पनि नियामकीय जगेडामा सारेको छ । यसरी बैंकले गरेको १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ मध्ये ३४ करोड रुपैयाँमात्र लाभांशका रुपमा बाँड्न सक्ने देखिन्छ ।
यद्यपि, अघिल्लो आवसम्म ७ अर्ब ४४ करोड १५ लाख रुपैयाँ सञ्चित घाटा रहेकोले गत आवको वितरणयोग्य नाफाले सञ्चिथ घाटा केही घटेर ७ अर्ब १० करोड १५ लाख रूपैयाँमा झरेको छ ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख हुँदा सञ्चित नोक्सानीका कारण लाभांश क्षमता ऋणात्मक देखिन्छ ।
२०८२ असार मसान्तको तथ्यांकअनुसार हिमालयनको निष्क्रिय कर्जा बढेर ७.२८ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा बैंकको बेसरेट ९.०८ प्रतिशतबाट घटेर ६.६३ प्रतिशत कायम भएको छ भने ब्याजदर स्प्रेड ३.९९ प्रतिशतबाट ३.२९ प्रतिशत कायम भएको छ ।
यसैगरी प्राथमिक पुँजी अनुपात ८.५१ प्रतिशतबाट कम भएर ८.७९ प्रतिशत कामय हुँदा नेटवर्थ प्रतिसेयर १७५ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ३३.९८ गुणा रहेको छ ।
बैंकले ३ खर्ब ८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षको अवधिमा बैंकले निक्षेप १५ अर्बले बढाउँदा कर्जा ७ अर्बले विस्तार गरेको छ ।
सारांश
नाफाः रू १ अर्ब ५१ करोड
प्रतिसेयर आम्दानीः रू ६.९८
निष्क्रिय कर्जाः ७.२८ %
प्राथमिक पुँजी पर्याप्तताः ८.७९ %
निक्षेपः रू ९ खर्ब ९ अर्ब १६ करोड
कर्जाः रू २ खर्ब ३२ अर्ब ८६ करोड
खुद ब्याज आम्दानीः रू १० अर्ब ४५ करोड ६७ लाख
नोक्सानी व्यवस्थाः रू १ अर्ब ५३ करोड ५० लाख
वितरणयोग्य नाफाः रू ३३ करोड ९९ लाख
लाभांश क्षमताः नेगेटिभ








प्रतिक्रिया