
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको निवेदनमाथि रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा सुनुवाइ हुने भएको छ ।
लामिछानेले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर थुनामुक्त गर्न माग गरेका छन् । उक्त निवेदनमाथि सोमबार सुनुवाइ हुने तय भएको हो ।
उनले थुनामुक्त गर्न माग गर्दै साउन १९ गते जिल्ला अदालतमा निवेदन दर्ता गरेका थिए । तर त्यतिबेला सुनुवाइ हुन सकेको थिएन ।
सुप्रिम बचत तथा ऋण सहकारीमा भएको अपचलन सम्बन्धी मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । यसअघि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले २०८१ माघ १३ गते एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते उनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
यसपछि, लामिछानेकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । तर सर्वोच्चले उच्च अदालतको आदेशलाई सही ठहर गर्दै लामिछानेलाई थुनामै राख्ने निर्णय गरेको थियो ।







प्रतिक्रिया