सिटिजन्स बैंकको नाफा घटेपनि बक्यौता ब्याज उठ्दा लाभांश क्षमता बढ्यो

4.3k
Shares

काठमाडौं । व्यवसाय बढेसँगै आम्दानीमा वृद्धि भए पनि सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन बढेसँगै सिटिजन्स बैंकको नाफा घटेको छ । नाफा घटे पनि विगतको बक्यौता ब्याज उठेर नियामकीय जगेडाबाट सञ्चित नाफामा ट्रान्सफर हुँदा बैंकको लाभांश क्षमतामा भने केही सुधार भएको छ ।

गत आर्थिक वर्ष२०८१/८२ मा बैंकले १ अर्ब २९ करोड ३३ लाख रूपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १ अर्ब ३२ करोड ७ लाखको तुलनामा २.०७ प्रतिशतले कम हो ।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ५० लाख पुगेको छ । यस्तै बैंकको खुद फि तथा कमिसन आम्दानी १९.७४ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ७१ लाख पुगेको छ । बैंकको ट्रेडिङ आम्दानी १५ करोड ६१ लाखबाट बढेर ३० करोड २७ लाख पुगेको छ । त्यस्तै अन्य सञ्चालन आम्दानी ५ करोड २१ लाखबाट बढेर १० करोड ९१ लाख पुगेको छ ।

यससँगै बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ५ करोड ६९ लाख बाट १५.१३ प्रतिशतले बढेर ८ अर्ब १२ करोड ४४ लाख रूपैयाँ पुगेको छ । बैंकको आम्दानी उल्लेख्य बढे पनि सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन करिब १ अर्बले बढेर २ अर्ब ६७ करोड ६२ लाख भएको छ । यस्तै सञ्चालन खर्चमा पनि वृद्धि हुँदा सञ्चालन नाफा २ अर्ब ४ करोड ८६ लाखबाट घटेर २ अर्ब १० लाखमा झरेको छ ।

नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ९ रूपैयाँ ३० पैसाबाट घटेर ८ रूपैयाँ ७६ पैसामा झरेको छ । नाफा घटे पनि बैंकको लाभाशं क्षमतामा सुधार देखिन्छ । बैंकले विगतमा उठ्न नसकेको ब्याज उठाएर नियामकीय जगेडाबाट सञ्चित नाफामा ट्रान्सफर भएको छ । २३ करोड ७३ लाख यसरी ट्रान्सफर गरेको छ भने अघिल्लो वर्ष निष्क्रिय कर्जा बुक गरेर ३५ करोड ६० लाख नियामकीय जगेडामा ट्रान्सफर गरेकोमा गत आवमा ११ करोड मात्रै ट्रान्सफर गरेको छ । यसले बैंकको वितरणयोग्य नाफा ५८ करोड ८० लाखबाट बढेर ७६ करोड पुगेको हो ।

१४ अर्ब ७६ करोड ९० लाख चुक्तापुँजी रहेको बैंकको लाभांश क्षमता ४.३२ प्रतिशतबाट बढेर ५.२५ प्रतिशत पुगेको हो । बैंकको सञ्चित नाफा ७७ करोड ५५ लाखबाट उक्त लाभांश दिन सक्छ । यस्तै बैंकको जगेडाकोषमा ७ अर्ब ४० करोड ९५ लाख पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १५५ रूपैयाँ ४२ पैसा पुगेको छ। त्यस्तै मूल्य आम्दानी अनुपात २६.०२ छ ।

बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.२१ प्रतिशतबाट घटेर ८.९४ प्रतिशतमा झरेको छ। कुल पुँजीकोष अनुपात १२.४५ प्रतिशत छ। बैंकको निष्कृय कर्जा अनुपात ४.९४ प्रतिशत र आधार दर ६.२५ प्रतिशत छ ।