६ वर्षदेखि निर्माणधीन हुलाकी मार्ग अलपत्र: सडकमै धान रोपेर विरोध


विराटनगर । जनप्रतिनिधि र स्थानीयले पटक–पटक आग्रह र आन्दोलन गरे पनि निर्माण सुरू भएको ६ वर्ष बित्दासमेत निर्माण कम्पनीले समयमा सडक बनाएन ।

हिउँदमा धुलो र वर्खामा हिलोको सास्ती खेपिरहेका स्थानीयहरू बिहीवार आक्रोशित मात्र भएनन्, उनीहरू हातमा कुटो, कोदालो र धानको बेर्ना लिएर सडकमा उत्रिए । सडकको खाल्डामा जोत गरी धान रोपेर विरोध जनाए ।

त्यसअघि मोरङ क्षेत्र नं. ५ का संघीय सांसद योगेन्द्र मण्डल, क्षेत्र नं. ६ का सांसद तथा पूर्वमन्त्री अमनलाल मोदी, कटहरी गाउँपालिकाका जनप्रतिनिधिले पटक–पटक सडकमा पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनीलाई छिट्टो सडक निर्माण गर्न दबाव दिएका थिए । स्थानीय प्रशासनलाई वारम्वार ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण पनि गराएका थिए ।

यो वेथा कुनै गल्ली सडकको होइन, राष्ट्रिय गौरवको आयोजना भनिएको विराटनगर–भद्रपुर हुलाकी मार्गअन्तर्गत मोरङको कटहरी खण्डको हो । विराटनगरदेखि कटहरीको नयाँ बजारसम्मको करिब ६ किलोमिटर सडक खण्डमा निर्माण कम्पनीले ६ वर्षअघि सडक खनेर अलपत्र पारेको छ । ठूला–ठूला खाल्डा छन् । वर्खायाममा घुँडासम्म हिलो हुन्छ । हिउँदमा धुलोले हिँड्नै सकिँदैन ।

त्यसैले कटहरीका स्थानीयले सडकमै धान रोपेर विरोध जनाए । कटहरी–३ स्थित कटहरी चोकमा स्थानीयहरू हातमा कुटो, कोदालो र धानको बीउ लिएर सडकमा उत्रिए । उनीहरूले हिलाम्मे सडकका खाल्डा सम्याएर त्यहीँ धान रोपेर सांकेतिक विरोध जनाए । करिब एक घण्टा चलेको यो कार्यक्रम ठेकेदारको चरम हेलचेक्र्याइँ र सरकारी निकायको मौनतामाथि व्यंग्य थियो ।

स्थानीय लक्ष्मीदेवी साहले आक्रोश पोख्दै भनिन्, ‘६ वर्ष भइसक्यो, यो ६ किलोमिटर बाटो बनेको छैन । पानी पर्दा घुँडासम्म हिलो हुन्छ । केटाकेटीलाई विद्यालय पठाउन सकिएको छैन । बिरामी पर्दा एम्बुलेन्स गुड्न नसक्दा सजिलै अस्पताल पुग्न सकिँदैन । सरकार र ठेकेदारलाई देखाउन सडकमै धान रोपेका हौं ।’

यो सडक खण्ड विराटनगर र कटहरीको सीमानामा पर्ने सिंघिया खोलादेखि नयाँ बजारको जुडी खोलासम्मको करिब ६ किलोमिटरको हो । संघीय सरकारले ठेक्का लगाएको यो आयोजनाको सम्झौता २०७६ कार्तिक २४ गते श्रेष्ठ कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँमा गरेको थियो । तीन वर्षभित्र, अर्थात २०७९ कार्तिक २३ गतेसम्म सम्पन्न गर्नुपर्ने काम ६ वर्ष बित्दा पनि एक चौथाइ मात्र भएको छ ।

निर्माण कम्पनीको लापरबाहीका कारण तोकिएको समयमा काम नसकिएपछि म्याद थप गरी २०८२ जेठ मसान्तसम्म पुर्याइएको छ । तर काम एक इञ्च पनि अगाडि बढेको छैन । स्थानीय प्रमोद कामतका अनुसार सडक निर्माणको माग गर्दै पटक–पटक सर्वदलीय बैठक बसे, जिल्ला प्रशासन कार्यालय मोरङमा ठेकेदारका प्रतिनिधिलाई राखेर छलफल गरे पनि सुनुवाइ भएन । ‘हरेक पटक आश्वासन मात्रै पाइन्छ, काम हुँदैन,’ उनले भने, ‘विकासको नाममा यहाँका स्थानीयले ६ वर्षदेखि सास्ती भोग्दै आएका छन् ।’

विराटनगर–भद्रपुर हुलाकी मार्गअन्तर्गतको यो ६ किलोमिटर खण्ड रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर लामो हुलाकी राजमार्ग प्याकेजको हिस्सा हो । यसको कुल लागत ३ अर्ब ६० करोड रुपैयाँ छ । सुवास श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनले आफ्नो जिम्माको काम पूरा गर्न नसकेपछि करिब ६ महिनाअघि कांग्रेस नेता अभिषेक गिरीलाई पेटी ठेक्कामा दिएको भन्दै स्थानीयले राजनीतिक संरक्षणबारे पनि आक्रोश व्यक्त गरेका छन् ।

निर्माण व्यवसायीको नाफाखोर प्रवृत्ति, राजनीतिक संरक्षण र सरकारी निकायको फितलो अनुगमनका कारण कटहरीका नागरिक सडकमा धान रोप्न बाध्य भएका छन् । उनीहरूको यो विरोध केवल एउटा सडकको दुर्दशा मात्र होइन, विकासका नाममा भइरहेको राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग र आम नागरिकले भोगिरहेको अनन्त कष्टको जीवन्त तस्वीर हो ।

हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेलका अनुसार ठेकेदार श्रेष्ठ अहिले पनि सम्पर्कविहीन छन् । ‘यो सडकको निर्माण प्रक्रियाको म्याद सकिएको छ । दोस्रो पटक थप गरिएको म्याद पनि जेठ मसान्तमा सकिएको छ । भौतिक प्रगति ६ वर्षमा २७ प्रतिशत मात्र छ । ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन । यो महिना भित्र सम्पर्कमा नआए विकल्प खोजिने छ,’ पोखरेलले बताए ।