
क्यानडा । नेपाली समुदायको सांस्कृतिक पहिचान र एकतालाई प्रदर्शित गर्ने एक अत्यन्तै महत्वपूर्ण मञ्च मानिने हिमालयन मेला यस वर्ष आफ्नो १७ औं संस्करणसँगै नेपालीज कम्युनिटी सर्भिसेज (एनसीसीएस) को २५ औं स्थापना वर्ष अर्थात् रजत जयन्तीमा भव्य रूपमा आयोजना हुन लागेको छ । टोरोन्टोको नेथन फिलिप स्क्वायरमा आगामी अगस्ट ९, २०२५ मा आयोजना हुने यस मेलाले नेपाली समुदायमा सांस्कृतिक समृद्धि, एकता र सामाजिक सहकार्यको नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
एनसीसीएसका महासचिव सुदर्शन सापकोटाले यसपटकको मेलालाई विगतका वर्षहरूसँग तुलना गर्दा धेरै फरक र विशेष हुने बताए । ‘हाम्रो संस्थाको २५ औं वर्षको रजत जयन्ती मनाउने अवसरमा मेलालाई अझ भव्य र आकर्षक बनाउन हामीले विशेष तयारी गरेका छौं,’ उनले भने । मेलाको औपचारिक उद्घाटन दिउँसो १ बजे हुनेछ र साँझ ९ बजे सम्म कार्यक्रम सञ्चालन हुनेछ । यस वर्ष मेलामा करिब १०,००० देखि १२,००० सम्म दर्शकहरूको उपस्थिति हुने अनुमान गरिएको छ।
मेलामा मुख्य आकर्षणका रूपमा नेपाली लोकसंगीतका चर्चित कलाकार खेम सेन्चुरीलाई निम्त्याइएको छ, जो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ र ‘भ्वाइस अफ किड्स’ सिजन २ का कोच समेत हुन् । उनका प्रस्तुति नेपाली संगीत प्रेमीहरूका लागि साँच्चिकै मनोमुग्धकारी रहने विश्वास गरिएको छ । साथै, नेपालका विभिन्न जातीय समुदायहरूले प्रस्तुत गर्ने सांस्कृतिक नृत्य, परम्परागत बाजागाजा र सामुदायिक परेडले मेलालाई सांस्कृतिक बहुरंगी पर्व बनाउनेछन् ।
मेलामा नेवा, तामाङ, थारु, गुरुङ, मधेसी लगायतका समुदायहरूले आफ्नो विशिष्ट सांस्कृतिक झाँकी प्रस्तुत गर्नेछन् जसले नेपालको सांस्कृतिक विविधता र समृद्ध धरोहरलाई उजागर गर्नेछ । यी झाँकीहरूमा प्रत्येक जातीय समुदायका परम्परागत पहिरन, चालचलन, नृत्य शैली र सांस्कृतिक प्रतीकहरू समावेश हुनेछन्, जसले दर्शकहरूलाई नेपाली संस्कृतिको बहुआयामिक झल्को दिन सक्षम हुनेछन्। यसका साथै, सामुदायिक परेडले नेपाली समुदायका विभिन्न संघसंस्थाहरूलाई एकसाथ जोड्ने पुलको काम गर्नेछ ।
मेलामा सहभागी हुने संघसंस्था तथा समुदायको संख्या दिनहुँ बढिरहेको छ र हालसम्म दर्जनौं नेपाली सांस्कृतिक तथा समुदायिक संस्थाहरूले सहभागिता सुनिश्चित गरिसकेका छन् । आयोजकले थप संस्थाहरूलाई समेत सामेल गर्ने योजना बनाइरहेको छ जसले मेलाको सांस्कृतिक झलकलाई अझ व्यापक बनाउनेछ।
खाना–पिना र व्यवसायिक स्टलहरूको समेत विशेष ब्यवस्था गरिएको छ। मेलामा करिब २० वटा फुड स्टलहरू रहनेछन् जहाँ म:म:, सेलरोटी, आलु आचार लगायत नेपाली पारंपरिक परिकारहरूको साथै बर्गर, फ्राइज, जुस र आइसक्रिमजस्ता लोकप्रिय खानाका विकल्पहरू पनि उपलब्ध हुनेछन्। यसबाहेक कन्सल्टिङ सेवा, इमिग्रेशन, रियल स्टेट, इन्स्योरेन्स, गहना व्यवसाय, हस्तकला र कपडा लगायतका १० भन्दा बढी व्यवसायिक स्टलहरूले मेलामा आफ्नो सेवा–सुविधा प्रदान गर्नेछन्, जसले नेपाली व्यवसायीहरूलाई प्रवर्द्धन गर्ने मौका पनि प्रदान गर्नेछ।
मेलाको सफल सञ्चालनका लागि ५० भन्दा बढी स्वयंसेवकहरू परिचालित हुनेछन्। स्वयंसेवकहरूको लागि विशेष अभिमुखिकरण कार्यक्रम आयोजना गरी उनीहरूलाई जिम्मेवारी अनुसार तयारी गराइएको छ। स्वयंसेवकहरूले कार्यक्रम व्यवस्थापन, दर्शक व्यवस्थापन, सुरक्षा, स्टल समन्वय र सूचना व्यवस्थापनमा सक्रिय भूमिका खेल्नेछन्।
कार्यक्रमलाई भव्य र गरिमामय बनाउन क्यानाडाका प्रधानमन्त्री, प्रान्तीय प्रिमियर, संघीय र प्रान्तीय सांसदहरू, टोरन्टो मेयर र नगरस्तरीय अधिकारीहरूलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ। उनीहरूको उपस्थिति मेलाको सामाजिक र राजनीतिक महत्वलाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
महासचिव सुदर्शन सापकोटाले भने, ‘हिमालयन मेला हाम्रो सांस्कृतिक पहिचानलाई बलियो बनाउने, नेपाली समुदायलाई एकताबद्ध गर्ने र क्यानाडामा हाम्रो पहिचानलाई व्यापक रुपमा चिनाउने एक उत्कृष्ट अवसर हो। हामी सबैलाई आग्रह गर्दछौं कि अगस्ट ९ गते हामी सबै मिलेर यो भव्य पर्वलाई सफल बनाऔं र नेपाली समुदायको गौरवलाई अग्लो बनाउन योगदान दिऔं।’








प्रतिक्रिया