फाइनान्सियल क्लोजरको सम्झौता आज

७० अर्बको बुढीगण्डकीमा एनआईएमबीको नेतृत्वमा १० बैंकले साढे ५२ अर्ब लगानी गर्ने, कसले कति ?

3k
Shares

काठमाडौं । निजी क्षेत्रले बनाउन लागेको सबैभन्दा ठूलो आयोजना बुढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । ३४१ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका हुन् । आयोजनामा ८ वाणिज्य बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड व्यापार कम्पनीले लगानी गर्ने भएका हुन् ।

साहस ऊर्जा मुख्य प्रबर्द्धक रहेको कम्पनीमा केही व्यक्तिगत लगानी समेत रहने साहस ऊर्जाका अध्यक्ष हिम प्रसाद पाठकले बताए ।

नेपालमा निजी क्षेत्रले बनाउन लागेको अहिलेसम्मकै ठूलो परियोजनाको कुल लागत ७० अर्ब रुपैयाँ अनुममान गरिएको छ । ‘कुल लागत ७० अर्ब रूपैयाँ अनुमान गरिएको छ । जसको २५ प्रतिशत स्वःपुँजी र र ७५ प्रतिशत ऋण हुनेछ,’ साहस ऊर्जाको अध्यक्ष हिम पाठकले क्लिकमान्डुसँग भने, ‘कम्पनीमा ५१ प्रतिशत लगानी साहस ऊर्जाको रहनेछ ।’ बाँकी लगानी केही व्यक्तिगत लगानीकर्ताको रहने उनले बताए ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० संस्थाले लगानी गर्ने सहमति भइसकेको र बिहीबार ‘फाइनान्सियल क्लोजर’मा सम्झौता हुँदैछ । परियोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब लगानी गर्नेछ । त्यस्तै नबिल बैंक र लक्ष्मी सनराइज बैंकले ८/८ अर्ब लगानी गर्नेछन् । ग्लोबल आइएमई बैंकले ७ अर्ब, माछापुच्छ्रे बैंक र एचआईडीसीएलले ४/४ अर्ब तथा सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रभु बैंकले ३/३ अर्ब तथा कृषि विकास बैंकले साढे २ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।

सहवित्तीयकरणको सहमति जुटेसँगै बिहिबार लगानी सम्झौता हुँदैछ । यसरी विभिन्न बैंक तथा लगानी कम्पनीले आयोजनामा कुल साढे ५२ अर्ब रूपैयाँ ऋण लगानी गर्नेछन् ।

आयोजनामा प्रति मेगावाट २० करोड ५३ लाख रुपैयाँका दरले ७० अर्ब खर्च हुने प्रक्षेपण गरिएको छ । जसमा ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५० करोड ऋण र १७ अर्ब ५० करोड स्वपुँजी लगानी हुनेछ । आयोजनाको पहुँचमार्ग निर्माण भइसकेको र मुआब्जा वितरण भइरहेकोले सन् २०२६ को सुरुवात अर्थात् २०८२ पुसबाट निर्माण सुरु गर्ने लक्ष्य रहेको साहस ऊर्जाका अध्यक्ष पाठकले बताए । निर्माण सुरु भएको ५ वर्ष अर्थात् २०८७ पुससम्म निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य रहेको उनले बताए ।

हाल साहस ऊर्जाले निजी क्षेत्रको सबैभन्दा ठूलो परियोजना ८६ मेगावाटको सोलु खोला (दुधकोशी) परियोजना निर्माण गरी व्यवसायिक उत्पादन गरिरहेको छ । बुढीगण्डकी परियोजनाको सेयरमा लगानी गर्ने साहस ऊर्जाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने र बाँकी स्रोत कम्पनीले नाफालाई बोनस सेयर मार्फत पुँजीकरण गरी जुटाउले पाठकले बताए ।

अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना गोरखाको धार्चे-१ र ३ तथा चुमनुब्री गाउँपालिका-३ मा निर्माण हुनेछ । आयोजनाको बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रको दक्षिण सुरुवाती भाग चुमनुब्रीमा पर्छ । बाँकी संरचना मनास्लु संरक्षण क्षेत्र बाहिर निर्माण गर्ने कम्पनीले जनाएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाको बिजुली बेच्न नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद/बिक्री सम्झौता (पीपीए) भइसकेको छ । आयोजनाको बिजुली प्रति युनिट मूख्य सुक्खा समयमा १०.५५ रुपैयाँ, सामान्य सुक्खा समयमा ८.४० रुपैयाँ र वर्षाको समयमा ४.८० रुपैयाँका दरले खरिद सम्झौता भएको छ ।

यस आयोजनाका मुख्य भौतिक संरचना भूमिगत हुने भएकाले भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्युन रहेको कम्पनीले जनाएको छ। आयोजनाको डिजाइन डिस्चार्ज १००.२७ घनमिटर प्रति सेकेन्ड छ । बाँधका कारणले करिब २ किलोमिटर लामो जलाशय बन्नेछ । जसमा १७ लाख ६० हजार घनमिटर पानी भण्डारण हुनेछ ।

आयोजनामा साढे ६ किलोमिटर लामो सुरुङ मार्ग बनाउन प्रस्ताव गरिएको छ । आयोजनामा ६०.४३ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहनेछन् । आयोजनाको कुल हेड ३९८ मिटर हुनेछ । दैनिक ५ घण्टाका दरले पिकिङ हुने गरी जलाशय बन्ने कम्पनीले जनाएको छ ।