लोकप्रिय बनिरहेका पूकी बाबासँग करोडौंको सम्पत्ति, चढ्न रुचाउँछन् महँगा गाडी

770
Shares

एजेन्सी । भारतमा लोकप्रिय बन्दै गएका अनिरुद्धाचार्य महाराज उर्फ पूकी बाबा हिजोआज विवादमा पर्न थालेका छन् ।

उनले प्रवचनका क्रममा २५ वर्षीया एक महिलामाथि अभद्र टिप्पणी गरेको र लिभइन सम्बन्धमाथि पनि नकारात्मक विचार राखेको भन्दै आलोचना भइरहेको छ ।

त्यसमाथि उनका पिताले आफूमागि गौरी गोपाल आश्रममा दुर्व्यवहार भएको भनी दाबी गरेपछि पूकी बाबामाथिको निगरानी बढेको छ ।

यी विवादका साथै पूकी बाबाको विलासी जीवनशैलीलाई पनि जनताले विचार गर्न थालेका छन् । उनले महँगा गाडी चढ्ने गरेको कुराको चर्चा हुने गरेको छ ।

केही दिनअघि उनी अमेरिका जाँदा टेस्ला मोडल वाई गाडी चढेको भिडियो इन्स्टाग्राममा राखेका थिए । टेस्लाले गत जुलाई १५ मा त्यो गाडी भारतीय बजारमा ल्याएको केही दिनभित्रै पूकी बाबा त्यसमा देखिएका थिए । त्यो गाडी उनी आफैंको हो कि हैन भन्ने स्पष्ट छैन तर भिडियोले धेरैको ध्यान खिचेको छ ।

भारतमा टेस्ला मोडल वाईको सुरुवाती मूल्य भारु ५९ लाख ८९ हजार छ ।

सन् २०२४ मा पूकी बाबालाई सेतो भोल्भो एक्ससी९० कारमा गुडिरहेको देखिएको थियो । उनले बाबाकै भेषमा गाडी चलाइरहेका थिए । भोल्भो एक्ससीको मूल्य भारु १.०३ करोड छ । त्यसमा स्तरोन्नति गरिएका हेडलाइट, रिडिजाइन गरिएको बम्पर, अझै विशाल टचस्क्रीन र अन्य विलासी फिचरहरू छन् ।

पूकी बाबासँग भोल्भो एक्ससी४० कार रहेको बताइन्छ । त्यसको मूल्य भारु ५० लाख पर्छ ।

सन् २०२५ मा अनिरुद्धाचार्य महाराजको कुल सम्पत्ति २५ करोड भारु रहेको अनुमान गरिन्छ । उनले धार्मिक प्रवचन, भागवत कथावाचन, यूट्युबबाट आउने पैसा र ब्रान्डहरूको स्पोन्सरशिप गरेर पैसा कमाउने गरेका छन् ।

सन् १९८९ मा मध्य प्रदेशको जबलपुरमा जन्मेका अनिरुद्ध राम तिवारी नै पूकी बाबा हुन् । उनले मनोविज्ञानमा विद्यावारिधि गरेकी डा आरती तिवारीसँग विवाह गरेका छन् । उनीहरूका दुई छोरा ओम र शिवु तिवारी छन् ।