गत वर्ष निगमको दुबै वाइडबडी जहाज एकपछि अर्को गरेर लगातार करिब ६ महिनासम्म थन्किएका कारण यात्रु उडान र आम्दानी दुबै घटेको देखिएको छ । निगमका दुई ठूला जहाज यो वर्ष लामो समयसम्म मर्मतका लागि जानुपर्ने सिचके नहुने भएकोले विगतमा गुमेको बजारलाई यो वर्ष बढाउने अवसर हुने दाबी निगमको छ ।

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको यात्रु उडान र आम्दानी दुबै घटेको छ । निगमले गत आर्थिक वर्ष २०८१/ ८२ मा ५ लाख ७५ हजार ५६९ यात्रुलाई सेवा दिँदा १५ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
यस्तो आम्दानी गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम हो । अघिल्लो वर्ष २०८०/८१ मा ६ लाख १४ हजार ७८७ यात्रुलाई सेवा दिएर १५ अर्ब ४३ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको निगमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
वायुसेवा निगमले पछिल्लो एक वर्षमा गरेको यस्तो आम्दानी १५ करोडले रुपैयाँले गुमाएको देखिएको छ । २०८०/८१ म करिब साढे १५ अर्ब आम्दानी गरेको निगमले आम्दानी गत वर्ष बढाउनुपर्ने भए पनि विविध कारण देखाएर उडान कम गर्दा यसको असर आम्दानीमा देखिएको हो ।
निगमले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको यस्तो आम्दानीका लागि असारमा ५० हजार यात्रु उडाउँदा १ अर्ब, जेठमा ४९ हजार यात्रु उडाउदा १ अर्ब १८ करोड, वैशाखमा ५० हजार यात्रु उडाउँदा १ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ ।
यस्तो आम्दानीका लागि निगमले चैतमा ५३ हजार यात्रुलाइ सेवा दिँदा १ अर्ब ५८ करोड, फागनुमा ४४ हजारलाई सेवा दिँदा १ अर्ब ३५ करोड, फागनुमा ४७ हजारलाई उडाउँदा १ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ ।
निगमले माघमा ४५ हजार यात्रु उडाउँदा १ अर्ब १५ करोड, पुसमा ४४ हजारलाई उडाउँदा १ अर्ब ३१ करोड र मंसिरमा ५३ हजार यात्रु उडाउँदा १ अर्ब ७४ करोड रुपैयाँ नै आम्दानी गरेको तथ्यांकले देखाएको छ ।
यस्तो तथ्यांक अनुसार निगमले कात्तिकमा ४८ हजार यात्रु उडाउँदा १ अर्ब ४७ करोड, असोजमा ४६ हजार यात्रुबाट १ अर्ब ४३ करोड, भदौमा २९ हजार यात्रुबाट ६९ करोड र साउनमा ३९ हजार यात्रुबाट ९४ करोड रुपैयाँ आम्दानी गरेको निगमले उपलब्ध गराएको तथ्यांले देखाएको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमले नियमित सिचेकमा गत वर्षमा ठूला दुईवटै जहाज पालैपालो जानु परेको कारण यात्रु उडान र आम्दानी दुबैमा असर गरेको हो ।
गत वर्ष साउन/भदौमा नै निगमको दुईवटै ठूला जहाजको सिचेक एकपछि अर्को परेको थियो । उक्त सिचेकमा दुबै जहाज ८० दिन भन्दा बढी उडानमा आउन नसकेको कारण यात्रु उडान र आम्दानी दुबैमा थोरै मात्र असर गरेको निगमको भनाइ छ ।
निगमले चालु आर्थिक वर्ष २०८२/८३ मा दुईवटै ठूला जहाज वाइडबडीको सिचेक नपर्ने भएकोले यसपाली गत वर्षभन्दा यात्रु क्षमता बढ्ने र आम्दानी बढ्ने दाबी गरेको छ ।
डाँगीले निगमसँग भएका चारवटै जहाज यो वर्ष पूर्ण क्षमतामा सञ्चालन हुने भएकोले यात्रु उडानमा गत वर्षको भन्दा प्रगति देखिने दाबी गरे ।
एकपछि अर्को न्यारोवडी ग्राउन्डेड
पछिल्लो ३ दिनदेखि निगमको न्यारोवडी जहाज एकपछि अर्को गर्दै ग्राउन्डेड भएको छ । एउटा एयरवसको ए३२० जहाज मर्मत गरेर उडान गरेलगतै अर्को जहाज ग्राउन्डेड भएको छ ।
हाल निगमकाअनुसार २ दिन अगाडि बिग्रिएको जहाज हिजो बुधबारबाट सञ्चालनमा आएलगतत्तै अर्को जहाज बुधबार साँझदेखि नै ग्राउन्डेड भएको छ । हाल उक्त जहाजको इलेक्ट्रिकमा समस्या देखिएकोले आवश्यक मर्मत गरेर विहीबारसम्ममा उडाउने तयारी भएको निगमले जानकारी दिएको छ ।








प्रतिक्रिया