३५ दिनका लागि बैंकहरुबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

112
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष लागेपछि पनि लगातर तरलता प्रशोचन गरिरहेको छ । अधिक तरलता र बजारमा कर्जाको माग न्यून हुँदा आर्थिक वर्षको सुरुवातबाट नै केन्द्रीय बैंकले लगातार तरलता प्रशोचन गरिरहेको छ ।

केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन बोलकबोल मार्फत ३५ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो २ आर्थिक वर्षदेखि नै लगातार तरलता प्रशोचन गरिरहेको केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा पनि सुरुबाटै तरलता प्रशोचन गर्न लागेको हो ।

चालु आर्थिक वर्ष सुरु भएपछि ५ पटक निक्षेप संकलन उपकरण बोलकबोल भइसकेको छ ।

जसबाट २ खर्ब २७ अर्ब तरलता प्रशोचन भइसकेको छ । बुधबार पुनः ४० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । उक्त बोलकबोलमार्फत् ३५ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलमार्फत तय हुनेछ । बैंकहरुमा निक्षेपको तुलनामा कर्जा लगानी न्यून हुँदा अधिक तरलताको चाप बढिरहेको छ ।

लगानी गर्न नसकेपछि साढे ६ खर्ब रुपैयाँभन्दा धेरै रकम बैंकहरुले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमा लगानीमार्फत राष्ट्र बैंकमा राखेका छन् । २० साउनको तथ्यांक अनुसार बैंकहरुले लगानी गर्न नसकेर राष्ट्र बैंकमा राखेको रकम ६ खर्ब ६४ अर्ब २० करोड छ । बुधबार थप ४० अर्ब तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले बोलकबोल आह्वान गरेको छ । निक्षेप संकलन उपकरण ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

Skip This