ऊर्जामन्त्री दीपक खड्काको पाँचतारे होटलले पहिलो वर्षमै गर्‍यो साढे १३ करोडको व्यापार

17.4k
Shares

काठमाडौं । ऊर्जामन्त्रीसमेत रहेका कांग्रेस सांसद दीपक खड्काको लगानीमा निर्माण भएको पाँचतारे स्तरको होटल ‘होलिडे इन रिसोर्ट बूढानीलण्ठ’ले सञ्चालनमा आएको वर्ष दिनमै साढे १३ करोड रुपैयाँको व्यापार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले २०८१ असोज २३ गते बुढानीलकण्ठ–१, मुहानपोखरीमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन गरेका थिए ।

सन् २०२४ को जुलाईबाट व्यवसायिक कारोबार सुरु गरेको होटलले गत आवमा १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो।

कम्पनीले सञ्चालनमा आएको वर्षदिनमै साढे १३ करोड रुपैयाँको व्यापार गरे पनि नाफा भने कमाउन सकेको छैन । कम्पनीको नाफा हाल नेगेटिभ रहेको छ ।

सन् २०१० मा होटल फरेष्ट इनको नाममा स्थापना भएको कम्पनीले होलिडे इन रिसोर्ट बूढानीलण्ठ ब्रान्डमा पाँचतारे होटल सञ्चालन गरेको छ ।

काठमाडौंको बूढानीलण्ठमा रहेको होटल १.२४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । होटलमा १ सय ४ वटा कोठाको सुविधा छ । बीस रोपनी क्षेत्रफलमा ३ अर्ब ५७ करोडको लगानीमा रिसोर्ट निर्माण भएको हो ।

कम्पनीले २ अर्ब १६ करोड २१ लाख रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ११ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

होटलमा विभिन्न प्रकारका सुविधा छ । होटलमा फुड र बेभरेजका साथै स्वीमिङ पुल, कन्फरेन्स हल र ब्याङ्क्वेट, स्पा र अन्य सुविधा छ ।

सन् २०२५ को जुलाईसम्ममा विनिता थापा खड्कासँग ३२ प्रतिशत स्वामित्व रहेको होटल गत आवमा औसत २६ प्रतिशत अकुपेन्सीमा सञ्चालन भएको कम्पनीले जनाएको छ ।

होटलले इन्टरकन्टिनेन्टल होटल ग्रुपसँग सम्झौता गरी सञ्चालनमा ल्याएको हो । अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘होलिडे इन रिसोर्ट’ अमेरिकन बेस्ड होटल चेन हो । होलिडे इन होटल एण्ड रिसोर्ट ब्रान्डले विश्वका एक सयभन्दा बढी देशमा सञ्चालन गरिरहेको छ।