जांगेजुर करिडोर: अमेरिका-रुस लगायत शक्तिराष्ट्रहरूको भूराजनीतिक प्रतिस्पर्धाको थलो

819
Shares

काठमाडौं । पूर्वी युरोप र पश्चिम एसियामा फैलिएको ककेसस क्षेत्रमा शक्तिराष्ट्रहरूको भूराजनीतिक प्रतिस्पर्धाको नयाँ परिदृश्य देखिएको छ।

इरान र रुसको प्रभाव कमजोर पार्ने गरी आर्मेनियाको स्युनिक प्रान्तमार्फत अजरबैजानलाई आफ्नो सीमाबाहिरको भूमि (एक्सक्लेभ) नाखचिवान र त्यतैबाट टर्कीलाई जोड्ने जांगेजुर करिडोरमा अमेरिकाले पनि चासो देखाएपछि त्यहाँ शक्तिराष्ट्रको प्रतिस्पर्धा चर्किने लक्षण देखिएको हो ।

करिब ४३ किलोमिटर लामो यस करिडोरमार्फत अजरबैजानले आफ्नो पक्का साझेदार टर्कीसँग सिधै स्थलमार्ग सम्पर्क गर्न पाउनेछ । अहिले अजरबैजान र टर्कीको बीचमा आर्मेनिया रहेको छ ।

रणनीतिक रूपमा उक्त करिडोरले क्षेत्रीय व्यापार र पेट्रोलियम पदार्थको ओसारपसारलाई परिवर्तन गर्ने विश्लेषकहरू बताउँछन् । यसमा विभिन्न मुलुकका स्वार्थहरू जोडिएका छन् । ककेसस क्षेत्रमा टर्की र अजरबैजानले आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन् भने अमेरिकाले रुसी ग्यासमा युरोपको निर्भरता घटाउन खोजिरहेको छ । उता इरान चाहिँ ककेसस क्षेत्रमा आफ्नो प्रभाव कमजोर हुने चिन्ता व्यक्त गरिरहेको छ ।

टर्की, इरान वा रुसको बाटो भएर हुने कारोबारमा निर्भरता घटाउँदै ककेसस क्षेत्रमा आफ्नो भूराजनीतिक प्रभाव बढाउन चाहन्छ

आर्मेनिया, इरान र टर्कीबाट घेरिएको भूपरिवेष्ठित क्षेत्र नाखचिवानसँग मुख्यभूमि अजरबैजानलाई जोड्नका लागि जांगेजुर करिडोर आवश्यक रहेको अजरबैजानको बुझाइ छ । अजरबैजानले त्यस क्षेत्रमा पूर्वाधारमा लगानी गरेर आफ्नो आर्थिक र सुरक्षा प्रभाव कायम राख्न खोजेको छ ।

उता टर्कीले जांगेजुर करिडोरलाई टर्किश भाषा बोलिने मध्य एसिया र क्यास्पियन सागर वरपरका मुलुकहरूलाई प्रत्यक्ष भूमार्गमार्फत जोड्नका लागि जांगेजुर करिडोर महत्त्वपूर्ण रहेको कुरा बुझेको छ । ऊ इरान वा रुसको बाटो भएर हुने कारोबारमा निर्भरता घटाउँदै ककेसस क्षेत्रमा आफ्नो भूराजनीतिक प्रभाव बढाउन चाहन्छ । अजरबैजान र टर्कीले गोयचा–जांगेजुर टर्क रिपब्लिकको कुरा उठाएर टर्किश साम्राज्यको पुनर्जागरणको संकेत दिएका छन् र त्यसले अन्य मुुलुकहरूलाई झस्काएको छ ।

आर्मेनियाले चाहिँ यस करिडोरको कडा विरोध गरिरहेको छ । अजरबैजानले आर्मेनियाको स्युनिक प्रान्त भएर जाने करिडोरमा नियन्त्रण कायम गरेमा आफ्नो सार्वभौमसत्ता जोखिममा पर्ने आर्मेनियाको बुझाइ छ ।

सन् २०२० मा भएको युद्धमा नागोर्नो–काराबाख क्षेत्रको स्वामित्व अजरबैजानलाई सुम्पन बाध्य भएको आर्मेनिया थप भूमि गुम्ला भनी डर मान्छ । सन् २०२१ मा अजरबैजानका राष्ट्रपति इल्हाम आलियेभले बल प्रयोग गरेर भए पनि जांगेजुर करिडोर बनाउने धम्की दिएका थिए ।

त्यसबाहेक यस करिडोरका कारण इरानसँगको सीमामा नियन्त्रण गुम्ने डर पनि आर्मेनियालाई छ । उक्त करिडोर आर्मेनियाको दक्षिणी भागमा इरान सीमा नजिकबाट जाने भएकाले आर्मेनियालाई सीमा नियन्त्रण र कूटनीतिक स्वायत्तता गुम्ने डर छ ।

सन् २०२२ मा अजरबैजानले नागोर्नो काराबाखलाई आर्मेनिया र बाँकी विश्वसँग जोड्ने लाचिन करिडोरमा नाकाबन्दी लगाएर मानवीय संकट निम्त्याएको थियो र त्यसपछि सैन्य कारवाही चलाएर आर्टसाख भनिने स्वघोषित राज्यलाई आत्मसमर्पणका लागि बाध्य बनाएको थियो । जांगेजुर करिडोरमार्फत आर्मेनियामाथि नाकाबन्दीको अर्को अवसर खोलेर झुकाउने रणनीति अजरबैजानले बनाएको आर्मेनियाको बुझाइ देखिन्छ ।

हुन त युरोपेली संघले आर्मेनियालाई २.५ अर्ब डलर बराबरको विकास लगानीमा पहुँच दिएर जांगेजुर करिडोर खोल्नका लागि फकाइरहेको छ । आर्मेनियाले आफ्नो सार्वभौमसत्ताको संरक्षण हुने सुनिश्चितता भएमा करिडोर खोल्नका लागि सम्झौता गर्न पनि सक्छ । अमेरिकीहरूले पनि आर्मेनियालाई यस विषयमा मनाउनका लागि प्रयास गरिरहेका छन् ।

इरानले यस करिडोरलाई आफ्नो भूराजनीतिक अवस्थितिमाथिको ठाडो प्रहारका रूपमा हेरिरहेको छ । त्यो करिडोर बनेमा इरानले आर्मेनिया तथा दक्षिणी ककेसस क्षेत्रसँगको स्थल सम्पर्क गुमाउनेछ । त्यस अवस्थामा इरानी प्रभाव घट्नेछ र पारवहन राजस्व पनि गुम्नेछ ।

रुसले समेत अजरबैजानलाई करिडोर बनाउनका लागि समर्थन गरिरहेको अवस्थामा इरानले टर्की र अजरबैजानमार्फत आफ्नो घेराबन्दी हुन लागेको भनी चिन्ता व्यक्त गरेको छ । त्यसलाई रोक्ने उद्देश्यका साथ इरानले सीमामा आफ्ना सैनिकहरू तैनाथ गरेको छ र करिडोरमार्फत इरानको राष्ट्रिय स्वार्थमा आघात पुग्ने देखिएमा त्यसलाई रोक्नका लागि बलप्रयोग गर्ने संकेत दिएको छ ।

रुसले अजरबैजान र आर्मेनियाबीचको युद्धविराम गराएपछि आधिकारिक रूपमा यस करिडोरको समर्थन गरेको हो ।ऐतिहासिक रूपमा सोभियत संघले जांगेजुर करिडोरलाई महत्त्व दिएको थियो । युद्धविरामको पाठमा रहेको प्रावधानमुताबिक रुसी सुरक्षाकर्मीहरूले सीमाका चेकपोइन्टहरूमा नियन्त्रण कायम गर्न पाउँछन् । त्यसमार्फत रुसले जांगेजुर करिडोरमा हुने गतिविधिलाई नियन्त्रण गर्न सक्छ ।

तर, त्यस क्षेत्रमा टर्की र अमेरिकाको प्रभाव बढिरहेकोमा रुसले चिन्ता व्यक्त गरेको छ । रुसीहरूले आर्मेनिया र अजरबैजान दुवैसँग सुसम्बन्ध कायम राखेका छन् (ती दुवै मुलुक पहिला सोभियत संघअन्तर्गत थिए) । त्यससँगै दक्षिणी ककेससमा बन्ने यस रणनीतिक करिडोरमा प्रभाव कायम गर्ने लोभ रुसीहरूलाई छ ।

त्यहाँ उपस्थिति जनाएर रुसको प्रभाव कम गर्ने मात्र नभई युक्रेनबाहेक अर्को एक रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेर रुसलाई अप्ठ्यारोमा पार्ने अमेरिकाको योजना देखिन्छ

ककेसस क्षेत्रको अर्को मुलुक जर्जियाले पनि यस करिडोरप्रति चिन्ता व्यक्त गरेको छ । यो करिडोर बनेमा आफ्नो पारवहन विन्दु महत्त्व घट्ने जर्जियाको पीर हो । अहिले अजरबैजानको राजधानी बाकुबाट जर्जियाको राजधानी तबिलिसी हुँदै टर्कीको उत्तरपूर्वी भागमा रहेको कार्स क्षेत्रसम्म कारोबार हुने गरेको छ । जांगेजुर बनाएमा वैकल्पिक पूर्व–पश्चिम मार्ग खुल्ने भएकाले जर्जियाको सान्दर्भिकता समाप्त हुन सक्छ ।

अमेरिकी र युरोपेलीहरू चाहिँ जांगेजुर करिडोरमा अमेरिकी सुपरिवेक्षणको योजना बनाइरहेका छन् । उक्त करिडोरलाई अमेरिकीहरूले ट्रम्प ब्रिज नाम दिएका छन् । अमेरिकाको निजी कम्पनीले त्यस करिडोरमा हुने दैनिक कार्यहरूको रेखदेख गर्ने योजना छ । त्यस कम्पनीले उपलब्ध गराएका करिब हजारजना भाडाका सैनिकहरूले करिडोरको सुरक्षा गर्नेछन् । त्यस करिडोरलाई १०० वर्षसम्मका लागि भाडामा लिने योजना पनि रहेको बताइन्छ । त्यहाँ उपस्थिति जनाएर रुसको प्रभाव कम गर्ने मात्र नभई युक्रेनबाहेक अर्को एक रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेर रुसलाई अप्ठ्यारोमा पार्ने अमेरिकाको योजना देखिन्छ ।

पश्चिमा विश्लेषकहरू यस करिडोरमार्फत युरोप र एसियाबीचको पारवहन समय अहिलेको तुलनामा १२ देखि १५ दिनले घट्ने बताउँछन् । त्यस अवस्थामा पेट्रोलियम पदार्थको मूल्य १० देखि १५ प्रतिशतले कम हुनेछ । युक्रेन युद्धपछि रुसमाथि प्रतिबन्ध लगाइएकाले युरोपेली मुलुकहरू वैकल्पिक स्रोतको खोजीमा छन् र यस करिडोरमार्फत उनीहरू क्यास्पियन क्षेत्रमा रहेको ऊर्जा स्रोतमा पहुँच पाउनेछन् । क्यास्पियन सागर क्षेत्रका मुलुकहरू अजरबैजान, कजाकस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानले संसारको कुल ऊर्जा उत्पादनको ३ प्रतिशत योगदान गर्छन् र तिनमा पहुँच पाएमा युरोपेलीहरूलाई राहत हुनेछ ।

त्यससँगै जांगेजुर करिडोरको भौगोलिक अवस्थितिले त्यसलाई मिडल करिडोरको अंग बन्ने सुविधा दिन्छ । मिडल करिडोर भन्नाले चीनलाई मध्य एसिया र टर्कीको बाटो भएर युरोपसँग जोड्ने बाटो हो जसलाई प्राचीन रेशममार्ग (सिल्क रोड) पनि भनेर चिनिन्छ । त्यस करिडोरलाई सञ्चालनमा ल्याउँदा वार्षिक रूपमा अहिलेको भन्दा १ करोड टनभन्दा बढीको माल ढुवानी गर्न सकिन्छ ।

यस करिडोरका सम्बन्धमा विकसित हुन सक्ने आगामी परिदृश्यहरूको चर्चा गरौं । यसलाई भूराजनीतिक प्रतिस्पर्धा भन्दा पनि सहकार्यको रूपमा क्षेत्रीय शक्तिहरूले लिन सक्छन् । आर्मेनियाले आफ्नो सार्वभौमसत्ता कायम राख्न पाउने, यस करिडोरलाई अन्य मुलुकहरूसँग मिलेर सञ्चालन गर्ने, यसलाई अन्य व्यापारमार्गहरूसँग जोड्ने र सबै क्षेत्रीय शक्तिहरूले यसमा साझा नियन्त्रण कायम गर्ने हो भने उक्त क्षेत्रमा शान्ति बहाल भएर कारोबार बढ्नेछ ।

तर, आर्मेनियाले कुनै पनि हालतमा यो करिडोर बन्न नदिने भनी अड्डी कसेमा सैन्य तनाव बढ्न सक्ने र सीमा बन्द हुन सक्ने सम्भावना छ । त्यस अवस्थामा विदेशी शक्तिले मध्यस्थता गर्नुपर्ने हुन्छ ।

त्यसबाहेकको परिस्थितिमा अमेरिकाले यस करिडोरको व्यवस्थापनको जिम्मेवारी लिएमा इरान र रुसले त्यसलाई घेराबन्दी रणनीतिका रूपमा लिन सक्छन् । उनीहरूले मिलेर अजरबैजान र टर्कीलाई राजनीतिक दबाब दिने वा उक्त क्षेत्रमा सेना तैनाथ गर्ने सम्भावना पनि हुन्छ । त्यस अवस्थामा करिडोर क्षेत्र तनावग्रस्त हुनेछ ।

जांगेजुर करिडोर बनेमा त्यस क्षेत्रमा अन्य प्रतिस्पर्धी करिडोरहरू पनि बन्न सक्ने विश्लेषकहरू आकलन गर्छन् । इरानको पूर्वी अजरबैजान प्रान्तको बाटो भएर जाने आरास करिडोरका विषयमा अजरबैजान र इरानले कुराकानी गरिरहेका छन् । तर, त्यसलाई अमेरिकीहरूले रोक्ने सम्भावना छ ।

जे होस्, जांगेजुर करिडोरको रणनीतिक महत्त्व उच्च भएकाले भूराजनीतिक जोखिमहरू बढेका छन् ।

अजरबैजान र टर्कीका लागि क्षेत्रीय सम्पर्क र प्रभुत्वका साथै वस्तु ओसारपसारका लागि यस करिडोरले अवसर दिलाउनेछ । इरानका लागि यसले भूराजनीतिक सीमान्तीकरणको जोखिम निम्त्याउनेछ भने आर्मेनियाका लागि यो सार्वभौमसत्तामाथिको प्रहारका रूपमा रहनेछ । रुसका लागि यसले नयाँ मार्गमा पहुँच र प्रभाव विस्तारको अवसर दिन्छ तर पश्चिमा शक्तिको उपस्थितिले सुरक्षा जोखिम निम्त्याउने जोखिम पनि छ ।

अमेरिका र युरोपका लागि युरेसियाली क्षेत्रको नयाँ पारवहन विन्दुका साथै रुस र इरानको प्रभाव कमजोर बनाउने माध्यमका रूपमा यो करिडोरको महत्त्व रहनेछ ।