अरिहन्त इम्पोर्ट एन्ड एक्सपोर्टको व्यापार ३८.२३ प्रतिशतले बढ्यो

140
Shares

काठमाडौं । अरिहन्त इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको व्यापार ३८.२३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ३८.२३ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२३ मा ६९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२४ मा बढेर ९५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार सन् २०२४ मा सुधार भएको छ । कम्पनीअनुसार सन् २०२१ देखि २०२४ सम्ममा कम्पनीले ५ प्रतिशत र ७ प्रतिशतसम्म नाफा कमाएको छ ।

सन् २००६ मा स्थापना भएको कम्पनीले सन् २०१९ देखि व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले कोइला, कपर, अल्मोनियम, जिपसम, रेजिन्स आयात गर्दै आएको छ । अरिहन्त ग्रुपद्वारा सञ्चालित कम्पनीले स्यानिटरी वेयर, इलेक्ट्रिकल र भवनको सामग्री आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । विराटनगरका केन्द्रीय कार्यालय रहेको कम्पनीको इटहरी, भैरहवा र वीरगञ्जमा शाखा छन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २३ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५६ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीमा अरीहन्त इन्फ्रास्ट्रक्चर लिमिटेड, अरीहन्त स्टील एन्ड एलोय कास्टिङ प्रालि र अरीहन्त रियल इस्टेट डेभलपर्स जस्ता संस्थागत प्रवर्द्धकहरूले संयुक्त रूपमा ३४.७ प्रतिशत लगानी गरेका छन् । बाँकी लगानी व्यक्तिगत लगानीकर्ताहरूको नाममा छ, जसमा प्रबन्ध निर्देशक गिरीशकुमार लुनियाको नेतृत्व रहेको छ ।